काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको विभिन्न तहका पाठ्यक्रममा धितोपत्र बजार सम्बन्धी विषय वस्तु समावेश गराउन आग्रह गरेको छ । बोर्डले आ.व.२०७५/७६ को धितोपत्र तथा वस्तु विनियम बजार सम्बन्धी नीति तथा कार्यक्रम (बुँदा नं ६८) अनुसार विभिन्न विश्वविद्यालय तथा उच्च माध्यमिक विद्यालयका सम्बन्धित विषयको पाठ्यक्रममा उक्त विषयवस्तुहरु राख्न माग गरेको हो ।
बोर्डले धितोपत्र सम्बन्धी विषय वस्तु समावेश गर्ने/गराउने पहल तथा कार्यका लागि आवश्यक समन्वय तथा सहकार्यका लागि पाठयक्रम विकास केन्द्र, त्रिभुवन विश्व विद्यालयअन्तर्गत रहेका मानविकी तथा समाज शास्त्र संकाय, व्यवस्थापन संकाय, कानून संकायका डीनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथै अनामनगरको लोक सेवा आयोगलाई अनुरोध गरेको छ ।
उक्त नियम लागू गर्दा माध्यमिक विद्यालय र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर स्तरका पाठ्यक्रमहरु समसामयिक तथा व्यवहार उपयोगी हुने छ । साथै, यसबाट लगानीकर्ताको हित संरक्षण तथा सशक्तिकरणमा सहयोग पुग्ने छ । त्यस्तै, सीमित स्रोत साधनबाट समेत बचत गरी उत्पादनशील क्षेत्रमा लगानी परिचालन हुने वातावरण तयार हुने बोर्डले जनाएको छ । जसले गर्दा देशको अर्थतन्त्रको विकास, विस्तार तथा वृद्धि हुनुका साथै वित्तीय साक्षरताको स्तर अभिवृद्धि भई धितोपत्र बजारको दिगो विकासमा सहयोग पुग्ने बोर्डको विश्वास छ ।
हालैका दिनहरुमा देशका ७७ जिल्ला र करिब ७०० स्थानीय निकाय अन्तर्गतका क्षेत्रहरुमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगिसकेको छ । धितोपत्रको दोस्रो बजार सेवामा नयाँ स्वचालित कारोबार प्रणाली संचालनमा आएपछि पूँजीबजार मार्फत विशेषतः वित्त शास्त्र तथा अर्थशास्त्रको समेत सैद्धान्तिक ज्ञानको व्यवहारिक उपयोग हुने देखिन्छ ।
बजारको विकास तथा विस्तारमा जोड दिँदै उक्त व्यवस्था लागू भएपछि नेपाल विकसितका साथै तथा देशको सुदृढ अर्थतन्त्र हुने छ ।
यस चालु आर्थिक वर्षदेखि पाक्षिक लगानीकर्ता प्रशिक्षण तथा रेडियो कार्यक्रमको संचालन शुरुवात गर्नुका साथै बोर्डबाट यससँग सम्बन्धित सामाग्री प्रकाशन तथा वितरणलाई निरन्तरता दिइएको छ । यस सन्दर्भमा बोर्डले धितोपत्र बजार सम्बन्धी अध्ययन अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि धितोपत्र बजार प्रशिक्षण प्रतिष्ठानको स्थापना गर्ने लक्ष्य समेत राखेको छ ।