काठमाडौं । यस साताको अन्तिम दिनकाे सेयर बजार हरियाली भएको छ । कारोबार शुरु भएदेखि नै उकालो लागेको परिसूचक अन्तिममा ७.६० अंकले बढेर बजार बन्द भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.६७ प्रतिशतले बढेर ११४८.७८ अंकमा पुगेको छ ।
सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको छ । बिहीबार कुल १५४ कम्पनीको ३२ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा साढे ८ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा कुल २६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
त्यस्तै, बिहीबार सबैभन्दा बढी सेयर कारोबार गर्नेमा नेपाल इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको एकैदिन एक लाख ५ हजार ८९१ कित्ता सेयर ५ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ५०३ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा १३ रुपैयाँले बढेको हो । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४९० रुपैयाँ रहेको थियो ।
बजारमा अधिकांश समूहको सूचक हरिया भएका छन् । निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स, बैंकिङ्, विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक समूह उकालो लागेका छन् । बाँकी होटल, फाइनान्स र अन्य समूह सामान्य अंकले ओरालो लागेका छन् ।