काठमाडौं । बुधबारको सेयर बजारलाई जीवन र निर्जीवन बीमा दुबै समूहले बढाएको छ । दुबै समूहको सूचक एकाएक त्रिपल अंकले बढेपछि नेप्से परिसूचकमा पनि उच्च वृद्धि भएको छ ।
अघिल्लो दिनको तुलनामा बुधबार जीवन बीमा समूहको सूचक सबैभन्दा बढी ४४३ अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको सूचक २४५ अंकले उकालो लागेको छ । कारोबारमा आएका कुल ११ समूहमध्ये फाइनान्स बाहेक बाँकी समूहको सूचक दोहोरो अंकले उकालो लागेको छ ।
कारोबार शुरु भएदेखि उकालो लागेको नेप्से परिसूचक ३०.२६ अंकले बढेर १२१६ अंकमा पुगेको छ । सबै समूहहरु दोहोरो अंकले बढेपछि परिसूचकमा पनि सुधार देखिएको हो । समग्रमा बुधबारको बजार अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले बढेको छ ।