
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यही पुस १७ गतेदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली शुरु गर्ने भएको छ ।
गत मंसिर २३ गतेदेखि पूर्ण अनलाइन कारोबार सञ्चालनमा ल्याएको नेप्सेले लगानीकर्तालाई थप सुविधासहित उक्त प्रणाली संचालनमा ल्याउन लागेको हो ।
साे प्रणालीलाई प्रयोग गरी कारोबार गर्न ईच्छुक लगानीकर्ताहरुले विभिन्न कुराहरुमा ध्यान दिनुपर्ने नेप्सेले जनाएको छ ।
यस्ता छन् लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरूः
लगानीकर्ताले आफ्नो ब्रोकर कहाँ खोलेको कारोबार खाता(केवाईसी)लाई अद्यावधिक गर्नु पर्नेछ । साथै, हितग्राही खाता सम्बन्धी विवरण पनि अद्यावधिक गर्नुपर्ने छ ।
एक हितग्राही खातासँग एउटा मात्रै कारोबार खाता आवद्ध गर्नु पर्नेछ । नेप्सेले तोकेको राफासाफ बैंकमा कारोबारका लागि अलग्गै खाता खोली ब्रोकरसँग रकमान्तर गर्नु पर्नेछ । यस्तो बैंकबाट ई बैंकिङ सुविधा अनिवार्य रुपमा लिनुपर्ने नेप्सेले जनाएको छ ।
त्यस्तै, नेप्सेका अनुसार ब्रोकरलाई अनिवार्य रुपमा आफुले चलाइरहेको इमेल ठेगाना उपलब्ध गराउनु पर्नेछ ।
लगानीकर्ताहरुले ब्रोकर कार्यालयमा गई अनिवार्य रुपमा तोकिएको कारोबार सदस्य ग्राहक सम्झौता गर्नु पर्नेछ । साथै, आवश्यकता अनुसार रकम जम्मा गरी ब्रोकरबाट कारोबार सीमा लिनुपर्ने नेप्सेले बताएको छ ।
कारोबारबाट बाँकी रकम बैंकिङ प्रणाली मार्फत फिर्ता लिन ब्रोकरलाई अनुरोध पठाउने, यस्तो अनुरोध पठाएको २४ घण्टाभित्रै रकम प्राप्त भएको सुनिश्चित गर्नु पर्नेछ।
त्यस्तै, हितग्राही खातामा रहेको फ्री ब्यालेन्स मात्र बिक्री गर्न सकिने, धितो राखेको वा रोक्का रहेको धितोपत्र बिक्री नगर्ने र बिक्री कारोबार भएको भोलिपल्टसम्म बिक्री बमोजिमको इडीआईएस ब्रोकरलाई दिने नेप्सेले जनाएको छ ।