काठमाडौं । आइतबारको नेप्से परिसूचक १०.६२ अंकले घटेर १२०४ अंकमा झरेको छ । कारोबार शुरु भएको केही समयदेखि नै ओरालो लागेको बजार करिब २ बजे बढेर १२१३ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा परिसूचक पुनः ओरालो लागेर बजार बन्द हुँदा १२०४ अंकमा अडिएको छ ।
बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट देखिएको छ । बिहीबार अर्बौँ बढीको सेयर किनबेच भएको बजारमा आइतबार जम्मा ४५ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन सोही दिनको तुलनामा ६७ करोड रुपैयाँ घटी हो ।
आइतबार कुल १६८ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो दिन विभिन्न ११ समूह करोबारमा आएका छन् । सोमध्ये ३ समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ५२ अंकले घटेको छ । निर्जीवन बीमा, होटल र उत्पादनमूलक समूह क्रमशः २९, २० र २ अंकले बढेका छन् ।
दोहोरो अंकले घटेको बजारमा पनि सबैभन्दा बढी मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले एकैदिन ९.४३ प्रतिशत कमाएका छन् । उता काबेली विकास बैंकका लगानीकर्ताले ९.४४ प्रतिशत गुमाएका छन् ।