काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार कम्पनीको सेयर मुल्य घटेको छ । सोमबार मात्रै मेगा बैंक, हिमालयन बैंक, पूर्णिमा विकास बैंक र माहुली सामुदायिक वित्तीय संस्थाको मूल्य घटेको हो ।
सो मध्ये मेगा बैंकको सेयर सोमबार प्रतिकित्ता १७५ रुपैयाँमा झरेको छ । जसको आइतबार प्रतिकित्ता १८२ रुपैयाँमा कारोबार बन्द भएको थियो । बोनस सेयरपछि नेप्सेले मूल्य समायोजन गरि यस बैंकको सेयर प्रतिकित्ता १८० रुपैयाँ तोकेको छ । बैंकको समायोजन मूल्यभन्दा ७ रुपैयाँ घटेर शुरुको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन बैंकको पनि सोमबार सेयर मूल्य झरेर प्रतिकित्ता ४७७ रुपैयाँमा कारोबार छ । जुन अघिल्लो दिनको तुलनामा ३७ रुपैयाँले घटेको छ । आइतबार यस बैंकको सेयर प्रतिकित्ता ५१४ रुपैयाँमा कारोबार भएर बजार बन्द भएको थियो । सोमबार बैंकको सेयर मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६७४ रुपैयाँ रहेको थियो ।
त्यसैगरी, पूर्णिमा विकास बैंकको पनि सोमबार मूल्य समायोजन भएको छ । ५ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको यस विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १५९ रुपैयाँ तोकिएको छ । सोमबारको बजारमा यस संस्थाको सेयर मूल्य स्थिर रहेको छ । आइतबार प्रतिकित्ता १६७ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।
माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको पनि २० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पश्चात यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १२८३ रुपैयाँ रहेको छ । समायोजन पछि खुलेको पहिलो कारोबार यस संस्थाको सेयर मूल्य घटेको छ ।
आईतबार प्रतिकित्ता १२८३ रुपैयाँ कारोबार बन्द भएको यस लघुवित्तको सेयर मूल्य सोमबार प्रतिकित्ता १२३४ रुपैयाँसम्म झरेको छ ।
साथै, सोमबारबाट यी चारवटै कम्पनीले गत वर्षको नाफाबाट बोनस वितरणका लागि आजबाट बुक क्लोज गरेका छन् । आज सेयर किन्नले गत वर्षको नाफाबाट कम्पनीहरुले दिन लागेको बोनस सेयर पाउने छैनन् ।