काठमाडौं । बजारमा नेप्से परिसूचक ६.६७ अंकले उकालो लागेर ११७७.४६ अंकमा पुगेको छ । सामान्य अंकले बढेको सोमबारको बजारमा कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ ।
सो दिन १४८ कम्पनीको ३० करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन ८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३०८ रुपैयाँ रहेको छ ।
त्यस्तै, एनसीसी बैंक, नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको एक करोड बराबरको सेयर किनबेच भएको छ ।
बजारमा सबैभन्दा बढी जीवन बीमा समूहकोे सूचक ९२ अंकले उकालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ८२, होटल १७ र माइक्रोफाइनान्स ११ अंकले बढेका छन् भने बाँकी समूह सामान्य एकल अंकले बढेका छन् । उत्पादनमूलक र अन्य समूह क्रमशः १२ र ०.०४ अंकले घटेका छन् ।