काठमाडौं । नेपालमा रहेका कम्पनीहरुमै सबैभन्दा धेरै शेयरधनी संख्या भएकाे अपर तामाकाेशी हाइड्राेपावर लिमिटेडकाे शेयर नेप्सेमा सूचिकृत भएकाे छ । सूचिकृत भएसँगै ७ लाख भन्दा बढी शेयरधनीमध्ये ३ लाख ३४ हजार शेयरधनीसँग रहेकाे १ कराेड ५८ लाख कित्ता शेयरकाे काराेबार आइतबारदेखि शुरु हुने निश्चित भएकाे छ । कम्पनीको १० करोड ५९ लाख कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको छ ।
कुनै पनि सूचिकृत कम्पनीको सेयर नेप्सेमा सूचिकृत भएको भोलिपल्टदेखि कारोबार शुरु गर्ने व्यवस्था रहेको छ । सोही अनुसार यस कम्पनीको पनि आगामी आइतबार अर्थात पुस २९ गतेदेखि नेप्सेमा सेयर कारोबार हुने छ । अब इच्छुक लगानीकर्ताले उक्त दिनदेखि दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने छन् ।
सर्वसाधारणकाे काराेबार खुलेसँगै कर्मचारी सञ्चयकाेषका सञ्चयकर्ताहरुकाे काराेबार पनि शुरु हुने बाटाे खुलेकाे छ । अपर तामाकाेशीमा १ लाख ७६ हजार कर्मचारीकाे शेयर छ जुन जारी भएङ्काे ३ वर्ष पुरा भइसकेकाे छ । त्यस्तै २ लाख २२ हजार स्थानीयवासीकाे शेयर भने भर्खरै मात्र जारी गरिएकाेले त्याे काराेबार हुन अझै तीन वर्ष कुर्नुपर्नेछ ।