काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य ०.१५ अंकले घटेको छ । उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक १.०१ प्रतिशतले घटेर ११३९.५७ अंकमा अडिएको छ ।
बजारमा परिसूचक घटेपनि सेन्सेटिभ इन्डेक्स भने ०.११ अंकले बढेर २४२.६१ अंकमा पुगेको छ । सो दिन १६४ कम्पनीको २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सो मध्ये नेपाल इन्स्योरेन्स कम्पनी र सोल्टी होटलको २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सामुदायिक लघुवित्त वित्तीय संस्था, अपर तामाकोशी र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड बढीको सेयर कारोबार भएको छ ।
सामान्य अंकले घटेको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी अर्थात ८.६४ प्रतिशत गुमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा १९ रुपैयाँले घटेर प्रतिकित्ता २०१ रुपैयाँमा कारोबार भएको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.८१ प्रतिशतले बढेको छ । त्यस्तै, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.०३ प्रतिशत कमाएका छन् ।
सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूहको सूचक ४३.५७ अंकले घटेको छ । त्यस्तै, बाँकी चार समूह सामान्य अंकले उकालो लागेका छन् भने अन्य ४ समूहको सूचक राताम्मे देखिएको छ ।