काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था र माउन्टेन हाइड्रो नेपालले साधारण सेयर(आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । बोर्डले यी दुई संस्थालाई कुल २० करोड ८५ लाख ७४ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको हो ।
सो मध्ये स्पर्स लघुवित्तले २ करोड ६९ लाख ६३ हजार र माउन्टेन हाइड्रोले १८ हजार १६ लाख ११ हजार रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएका हुन् ।
बोर्डको अनुमति पाएसँगै अब स्पर्स लघुवित्तले अंकित मूल्य १०० रुपैयाँको दरले २ लाख ६९ हजार ६३० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्ने छ । लघुवित्तले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न अनुमति पाएको हो । संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्ने भएको छ ।
त्यस्तै, माउन्टेन हाइड्रोले सर्वसाधारण र स्थानिय बासिन्दालाई गरी कुल १८ हजार १६ लाख ११ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले १८ लाख १६ हजार ११० कित्ता सेयर निष्काशन गर्ने छ ।
जसमध्ये हाइड्रोले पहिलो चरणमा बिक्री नभएको ५ लाख ६६ हजार ११० कित्ता सेयर आयोजना प्रभावित पाँचथर जिल्लाका स्थानिय वासिन्दालाई र बाँकी १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न बोर्डको अनुमति पाएकाे हाे । हाइड्रोको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।