
काठमाडौं । नेपालमा बिक्री भएका एलपी ग्यासका सिलिन्डरमध्ये एक चौथाई भन्दा कम सिलिन्डरमात्र चलनचल्तीमा रहेको पाइएको छ । नेपाल आयल निगमले दिएको तथ्याङ्क अनुसार नेपाली बजारमा १ करोड २२ लाख ग्यास सिलिन्डर बिक्री भएकोमा मासिक करिब ३८ लाख सिलिन्डर मात्र बिक्री हुने गरेको छ । यो करिब २३ प्रतिशत मात्र हो ।
नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले निगमले मासिक ४० लाख मेट्रिकटन ग्यास बिक्री हुने गरेको जानकारी दिँदै उक्त परिमाणको ग्यासले २८ लाख ओटा ग्यास सिलिन्डर भरिने बताए । बाँकी करिब ९४ लाख सिलिन्डर प्रयोग नभएको वा न्यून प्रयोग भएको अवस्थामा रहेको भन्दै उनले घरमा थन्किएर रहेका सिलिन्डरलाई बजारमा सर्कुलर हुने वातावरण बन्ने योजनामा निगम लागेको समेत बताए ।
कसरी ल्याउने बजारमा ग्यास ?
नायब कार्यकारी निर्देशक भट्टराईले तत्काल नयाँ सिलिन्डर आउने क्रम रोक्ने तथा पुराना ग्यास सिलिन्डरको बजार मूल्य तोकिदिएर थन्किएर रहेका सिलिन्डरहरुलाई बजारमा सहज रुपमा बिक्री हुने वातावरण बनाउने तयारीमा निगम लागेको बताए ।
सिलिन्डरको मूल्य निर्धारण नहुँदा अभावका बेला ग्यासको अवैध कारोबार गर्नेहरुलाई पक्राउ गरिए पनि कानूनको अभावमा कारबाही गर्न नसकिएको अवस्था सिर्जना भएको समेत उनले बताएका थिए ।
हाल ग्यास उद्योगीहरुले आफ्नो सिलिन्डरको मस्ल्य आफैंले तोक्दै आएका छन् । सामान्यतया २१ सय रुपैंया सिलिन्डरको मूल्य लिएर भरिएको ग्याससहित ३५०० रुपैंयामा सिलिन्डर बिक्री हुँदै आए पनि आधिकारिक मूल्य नहुँदा उपभोक्ता ठगिने क्रम रोकिएको छैन । अझ एउटा उद्योगको सिलिन्डरबाट अर्को उद्योगको सिलिन्डर ग्यास साट्ने क्रममा उपभोक्ताले चर्को मूल्य चुकाउन बाध्य हुँदै आएका छन् ।
नेपाल आयल निगमले नयाँ कार्यकारी निर्देशक नियुक्त भएपछि पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरेको थियो । कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले निगमको सुधारका लागि उलयपुर सिमेन्ट सुधारको मोडल प्रयोग गर्ने बताउँदै निगमको सुधारमा चासो दिने ठूलो समुदाय रहेको भन्दै यसले आफुलाई काम गर्न थप हौसला मिलेको र भार घटेको बताएका थिए ।