सेयर बजार करेक्सनतर्फ, २५ करोडको कारोबारमा सबैभन्दा बढी ग्लोबल आईएमईको

<p>काठमाडौं । सेयर बजार पुनः करेक्सनतर्फ लागेको देखिएको छ । अघिल्लो साता निरन्तर घटेर ११०० अंकमा झरेको नेप्से गत साता लगातार बढेर परिसूचक ११६३ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने नेप्से घटेर बिहीबार ११४० अंकमा आइपुगेको छ । बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि गिरावट देखिएको छ । गत साताको कुनै दिन आधा [&hellip;]</p>

काठमाडौं । सेयर बजार पुनः करेक्सनतर्फ लागेको देखिएको छ । अघिल्लो साता निरन्तर घटेर ११०० अंकमा झरेको नेप्से गत साता लगातार बढेर परिसूचक ११६३ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने नेप्से घटेर बिहीबार ११४० अंकमा आइपुगेको छ ।

बजारमा परिसूचक मात्र नभएर कारोबार रकममा पनि गिरावट देखिएको छ । गत साताको कुनै दिन आधा अर्बको सेयर किनबेच भएको बजारमा बिहीबार जम्मा २५ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कुल १६९ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी ग्लोबल आईएमई बैंकको संस्थापक(प्रमोटर) सेयर बिक्री भएको छ । बैंकको एकैदिन एक करोड ८२ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता १७४ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन दुई समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा ६६ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा ६२ अंकले घटेको छ भने बाँकी समूह सामान्य एकल अंकले ओरालो लागेका छन् । उता उत्पादनमूलक र अन्य समूह क्रमशः १.१६ र २.२२ अंकले बढेर हरिया देखिएका छन् ।

बजारमा सबैभन्दा बढी आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले प्रतिकित्ता ९.९१ प्रतिशत कमाएका छन् । बिहीबार संस्थाको सेयर मूल्य प्रतिकित्ता ५१० रुपैयाँ रहेको छ ।

सबैभन्दा बढी ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.७४ प्रतिशतले घटेको छ ।

Share News