
बेइजिङ । नेपालमा चिनियाँ रेलको चर्चा चल्छ। चीन पनि चाहन्छ- जतिसक्दो छिटो दुई देश रेलमार्गबाट जोडिऊन् । चिनियाँ विदेश मन्त्रालय एसिया मामिला निर्देशक झाङ झिसिन भन्छन्, ‘हामी नेपालको दक्षिण भेगसम्म रेलैजान आतुर छौं ।’
उनले काठमाडौंसम्म रेल पुर्याउन उच्च राजनीतिक तहमा छलफल भएर अध्ययन अघि बढेको जानकारी दिए। ‘हाम्रो र नेपालको चाहना मिलेमा रेलमार्गसँग जोड्न समस्या हुँदैन। दुईपक्षीय सहकार्य भनेको विन–विन नै हो’, उनले भने, ‘हामी लगानीको प्रतिफलभन्दा पनि नेपाली जनताले कति फाइदा पाउँछन् भन्नेमा केन्द्रित छौं।’ नेपालजस्तो भूपरिवेष्टित मुलुकलाई रेलले जोडेमा एउटा लिंक खुला हुने र विकल्प थप बलियो हुने चिनियाँ पक्षको आँकलन छ।
चिनियाँ विदेश मन्त्रालयका अर्का वरिष्ठ अधिकारीले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, म्यानमार, अफगानिस्तान, श्रीलंकालगायत मुलुकलाई एकअर्कामा जोड्न चीन सक्रिय रहेको बताए। ती अधिकारीले भने, ‘सबै मुलुकलाई बेल्ट एन्ड रोड इनिसियटिभ ९बीआरआई० मार्फत रेलले जोड्ने योजना छ।’ यी मुलुकबीच सडक सञ्जाल, रेल र हवाई सञ्जाल जोड्न सके विश्वको नेतृत्व एसियाले गर्ने अवधारणा चीनको छ।
चीनले हिमालपारिका मुलुकलाई रेलमार्गमा जोड्ने योजना तीव्र रूपमा अघि बढाएको छ। रेलमार्गसँग जोडिन चीनले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अन्य मुलुकलाई यसअघि नै आग्रह गरिसकेको छ।
‘नेपाललाई हामीले रेलमार्फत जोड्न चाहन्छौं। नेपाल पक्षबाट हुने काम र सहकार्य अनि आर्थिक व्यवस्थापन अध्ययनको विषय हो,’ अर्का वरिष्ठ चिनियाँ अधिकारीले भने, ‘कुनै बेला हिमालपारि रेल लैजाने विषय सोच्न पनि सकिँदैनथ्यो। अहिले त्यो सम्भव भएको छ। हिमालमा रेल कुदिसकेको छ। चीनले त्यो काम गरेर देखाएको छ।’ चिनियाँ अधिकारीले हिमालपारि रेल हिमालमाथिबाट लैजाने कि मुनिबाट भन्ने अध्ययनको चरणमै रहेको जानकारी दिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।