काठमाडौं । बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघ फुटेको छ । निर्जीवन बीमा कम्पनीहरु एकातिर संगठित भएका छन् भने जीवन बीमा कम्पनीहरु अर्कोतिर संगठित हुन छलफलमा जुटेका छन् ।
बिहीबार सम्पन्न संघको विशेष साधारणसभाले दीप प्रकाश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निर्जीवन बीमा कम्पनीका सीईओहरु मात्र चुनिएका छन् ।
संघको उपाध्यक्षमा नुरप्रताप प्रधान चयन भएका छन् । उनी लुम्बिनी जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन् । सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्री संघको महासचिवमा चुनिएका छन् ।

कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत हुन् ।
संघको कार्यसमिति सदस्यमा एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लव पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत कमल गौतम, प्रभु इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत संचित बर्जाचार्य, अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी कुमार बहादुर खत्री र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुवोधलाल श्रेष्ठ चयन भएकाे काेषाध्यक्ष यूगेश भक्त बादे श्रेष्ठले बताए ।
हाल ४० वटा बीमा कम्पनी रहेकोमा निर्जीवन बीमा कम्पनी २० वटा छन् । जीवन बीमा कम्पनी १९ वटा र एउटी पुर्नबीमा कम्पनी छ ।
निर्जीवन बीमा कम्पनीको सीईओहरुले एकातिर संगठित भएपछि जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरु पनि नयाँ संगठन गर्ने तयारीमा छ । ‘२/३ चरणमा छलफल भएको छ । अब छिट्टै नयाँ संस्था दर्ता हुन्छ’ एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने ।
बीमक संघले जीवन बीमा कम्पनीहरुलाई स्थान नदिएको आरोप पहिले देखि नै थियो । पहिला १७ वटा निर्जीवन बीमा कम्पनी र ९ वटा जीवन बीमा कम्पनी हुँदा जहिले पनि जीवन बीमा कम्पनीको प्रतिनिधिले निर्वाचन हार्दै आएका थिए । पछिल्लो समय भने जीवन बीमा कम्पनीको संख्या १९ वटा भएको छ ।
बीमक संघलाई नेपाल बैंकर्स संघ जस्तै प्रभावकारी संस्था बनाउनु पर्ने माग बीमा क्षेत्रमा भए पनि बीमकहरू छिन्नभिन्न भएका छन् । कम्पनीका सीईओहरू दुई संस्थामा विभाजित भएको छन् भने बीमा कम्पनीको प्रर्वद्धकहरुको अलग्गै संस्था सक्रिय छ ।