काठमाडौं । आइपीओ भर्न पाँच हजार नभएर तनाबमा हुनुहुन्छ ? अब चिन्ता नगर्नुस, एक हजारमै पनि भर्न पाइन्छ आइपीओ ।
नेपाल धितोपत्र बोर्डले १० कित्ता सेयर भर्न पाइने व्यवस्था गरेको छ । बोर्डले बुधबार परिपत्र जारी गर्दै १० कित्ता सेयर भर्न पाउने व्यवस्था गरेको हो ।
यस अघि बोर्डले सबै आवेदकलाई न्युनतम १० कित्ता सेयर दिनुपर्ने व्यवस्था कार्यान्वयन गरेको थियो । २०७३ सालबाट लागु भएको सो योजनाले सेयर बजारमा साना लगानीकर्ताहरुको समेत पहुँच बढेको भन्दै अब १० कित्ता समेत आवेदन दिने सकिने व्यवस्था अघि सारिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।
बोर्डले अब सार्वजनिक निष्काशन गर्ने सबै कम्पनीको आइपीओमा १० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था लागु गराउन पत्र काटेको हो । हालसम्म न्युनतम ५० कित्ताका लागि मात्रै आवेदन दिन सकिने व्यवस्था थियो ।
सेयर बजारमा साना लगानी कर्ताको सहभागीता बढाउन, बजारलाई समावेशी बनाउन र एक नेपाली एक डिम्याट खाता कार्यान्वयनका लागि १० कित्ता आवेदन दिन सकिने व्यवस्था अघि सारिएको बोर्डले जनाएको छ ।