
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसीएन)ले सार्वधिक बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमा लेखमा प्रतिहजार वार्षिक न्युनतम ६६ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर घाेषणा गरेको हाे। जुन नेपालको जीवन बीमा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा उच्च दर हो ।
कम्पनीले ३ र ५ वर्ष अवधिको जीवन आस्था योजनामा क्रमशः प्रतिहजार ८० र ८५ रुपैयाँ बाेनस सुनिश्चित भएकाे जनाएकाे छ । कम्पनीले आव २०७४/७५ का लागि नयाँ बोनस दर कायम गरेको हो । कम्पनीले ५ देखि १९ वर्षसम्मको सावधिक जीवन बीमालेखमा प्रतिहजार ६६ रुपैयाँ, २० देखि २४ वर्षसम्म ७०, २५ वा सोभन्दा माथि प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ ।
त्यस्तै, १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार ६६, २० वर्षेमा ६७ रुपैयाँ र २५ वर्षेमा ६८ रुपैयाँ बोनस दर तोकेको छ । साथै, १०, १५ र २० वर्षे जीवन तरङ्ग बीमालेख रहेको छ । जसमा क्रमशः प्रतिहजार ६६, ६८ र ७७ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो बोनसदर बीमा व्यवसायको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मको लागि कायम हुने छ ।
यसअघि नेपाल लाईफ इन्स्योरेन्स प्रतिहजार अधिकतम् ८२ रुपैयाँसम्म बोनसदर सहित पहिलाे स्थानमा थियाे ।
के हो बोनस दर?
कुनै पनि बीमा कम्पनीले आफ्नो नाफाबाट बीमितलाई दिइने प्रतिफललाई बीमा बोनस दर भनिन्छ । जुन बीमितले नभई कम्पनी आफैले घोषणा गर्छ । बीमा समितिको नीति अनुसार कुनै पनि कम्पनीले आम्दानी गरेको कूल नाफाको ९० प्रतिशत रकम बीमितलाई र बाँकी रहेको १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्ने व्यवस्था रहेको छ ।
यसको मतलब जुन कम्पनीको नाफा जति बढी छ उसले त्यति नै बढी बोनसदर निर्धारण गर्छ । यो बोनसदर प्राय वार्षिक रुपमा परिवर्तन भइरहेको हुन्छ । यदि वर्षेनी परिवर्तन भएन भने अर्को वर्षको बोनसदर पनि त्यही अघिल्लो वर्षकै बोनसदर कायम हुने व्यवस्था रहेको छ ।
किन आवश्यक छ त बोनसदर ?
यदि कुनै पनि व्यक्तिले आफ्नो वा जो कोहीको जीवन बीमा गर्न चाहेको छ वा गरिरहेको छ भने उसले उक्त कम्पनीको बोनसदर के-कस्तो छ सम्पूर्ण बुझ्न आवश्यक देखिन्छ । किनभने जुन कम्पनीको बोनसदर उच्च हुन्छ, उक्त कम्पनीबाट जीवित लाभ, कर्जा लगायत मृत्यु दावी भुक्तानी लिँदा राम्रो प्रतिफल पाइन्छ ।
बीमा शुल्क २६ प्रतिशतले वृद्धि
कम्पनीले चालु आवको चैत मसान्तसम्म खुद बीमा शुल्क आर्जनमा २६.४१ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष (आव)को चैत मसान्तमा ६ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा आठ अर्ब ७९ करोड रुपैयाँ कमाएको हो ।
इन्स्योरेन्सले २०७५ चैतमा १० करोड ७१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । उक्त नाफा गत पुस मसान्तको तुलनामा साढे तीन करोड रुपैयाँले बढी हो । याे नाफा बीमाङ्कीय मुल्याङ्कन अघिकाे हाे ।
कम्पनीले लगानी, कर्जा तथा अन्यबाट दुई अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत चैत मसान्तको तुलनामा ५२ करोड ६२ लाख रुपैयाँ बढी हो । त्यस्तै, कम्पनीले बीमा लेखको धितोमा कर्जाबाट ६० करोड ९९ लाख र अन्य प्रत्यक्ष आय ११ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ५८ करोड, जीवन बीमा कोषमा ५१ अर्ब ४८ करोड र महाविपत्ति जगेडामा १४ करोड ३९ लाख रुपैयाँ संचित रहेको छ ।
हालसम्म ८ अर्ब ८३ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले बीमा लेखको संख्या ७१ करोड कायम गरेको छ । हालसम्म कम्पनीले ११ हजार ४१७ दाबी भुक्तानी मार्फत कूल २ अर्ब २४ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । त्यस्तै, ४० हजार दाबी बापत ३ करोड ६६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ ।
इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७.१७, प्रतिसेयर नेटवेर्थ १४७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य ३७६७.२३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात २३७ रहेको छ ।