
काठमाडौं । के तपाईंहरुले अझै शिवम् सिमेन्टस् लिमिटेडको १५.७९ प्रतिशत नगद लाभांश पाउनु भएको छैन ? छैन भने छिट्टै आफ्नो बैंक खाता र डिम्याट खाताको विवरणहरु मिलाई हाल्नुस् ।
कम्पनीका अनुसार अधिकांश सेयरधनीहरुको बैंक खाता विवरण र डिम्याट खाता विवरणहरु नमिलेको हुँदा पठाएको लाभांश फिर्ता भइरहेको छ । त्यसैले खातामा भएको नाम तथा बैंक खाता नम्बर लगायतका सम्पूर्ण विवरणमा एकरुपता ल्याउन कम्पनीले सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।
साथै, कम्पनीले हालसम्म नगद लाभांश नपाएका सेयरधनीहरुले आफ्नो डिम्याट खाता रहेको संस्थामा सम्र्पक गरी डिम्याट खातामा बैंक खाता अद्यावधिक(अपडेट) गराउन आग्रह गरेको हो ।
शिवम्ले गत वैशाख १३ गतेदेखि नै कर सहित १५.७९ प्रतिशतका दरले लाभांश वितरण अर्थात खातामा पठाउन शुरु गरेको थियो । खाता अपडेट गरेका सेयरधनीहरुले भने हालसम्म सो मात्राको लाभांश पाइसकेका छन् ।
कम्पनीको वैशाख ९ गते सम्पन्न भएको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्षको २०७४/७५ को नाफाबाट सो मात्राको लाभांश पारित गरेको थियो ।