
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका लगानीकर्ताले एक महिनाको अवधि मै ८७.५४ प्रतिशत बढी कमाएका छन् । जसले गत वैशाख देखि बिहीबार(आज) सम्म प्रतिकित्ता २६७ रूपैयाँ कमाएर पछिल्लाे समय मालामाल भएका छन् ।
गत वैशाख ४ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०५ रुपैयाँ रहेको थियो । जुन अहिले सम्मकै न्युनतम मूल्य थियो । त्यसपछिको दैनिक कारोबारमा सामान्य उकालो लागेको कम्पनीको सेयर मूल्य पछिल्लो समय निरन्तर जसो पोजेटिभ सर्किट लागेको थियो । गत सोमबार प्रतिकित्ता ४९७ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेर प्रतिकित्ता ५४६ रुपैयाँमा पुगेको थियो । तर बुधबारको कारोबारमा कम्पनीको सेयर मूल्य २६ रुपैयाँले घटेर प्रतिकित्ता ५२० रुपैयाँमा झरेको छ ।
तर बिहीबारको कारोबारमा कम्पनीको सेयर मूल्य वृद्धिले निरन्तरता पाई पोजेटिभ सर्किट लागेर कारोबार बन्द भएको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ रहेको छ । जुन हालसम्मकै अधिकतम मूल्य हो ।
कम्पनीको सेयर मूल्यसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । पछिल्ला दिनमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, बिहीबार कूल १७३ कम्पनीको सेयर कारोबार भएको छ । सो मध्ये शिवमकै सबैभन्दा बढी सेयर कारोबार भएको छ । सो दिन कम्पनीको कूल १३ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ ।
चालु आवको ९ महिनाको वित्तीय विवरणले लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । सो अवधिमा कम्पनीले एक अर्ब ५ करोड रुपैयाँ बढीको नाफा कमाएको छ । साथै, उक्त विवरण अनुसार कम्पनीको वित्तीय अवस्था समग्रमा राम्रो भएकाले सेयरधनीहरु कम्पनीको सेयरमा आकर्षित भएका कम्पनीको सेयर कारोबार र सेयर मूल्य वृद्धिले संकेत गरेको छ ।
समग्रमा बिहीबारको नेप्से परिसूचक २.२९ अंकले घटेर १३१८.७१ अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१७ प्रतिशत घटी हो ।
बिहीबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकममा पनि गिरावट देखिएको छ । सो दिन जम्मा ९४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ३९ करोड रुपैयाँ घटी हो । बुधबार एक अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।