काठमाडौं । पुँजी बजारमा दुई लघुवित्तले झण्डै ९ करोड ३० लाख रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सबैको लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्थाले गरी कूल ९ लाख ३० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
सोमध्ये सबैको लघुवित्तले सबैभन्दा बढी आईपीओ जारी गर्ने भएको छ । संस्थाले ५ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । लघुवित्तले अंकित मूल्य १०० रुपैयाँ दरको ५ लाख ३० हजार कित्ता बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मार्फत जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति मागेको हो ।
त्यस्तै, आँधीखोला लघुवित्तले ४ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलबाटै ४ लाख कित्ता सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।
पाइपलाइनमा रहेका यी दुबै संस्थाले बोर्डको अनुमति पाएपछि मात्र सो मात्राको साधारण सेयर बजारमा बिक्रीमा आउनेछन् ।