विरगञ्ज /नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको उन्नाइसौं बार्षिक साधारण सभा शनिवार विरगञ्जमा सम्पन्न भएको छ । साधारणसभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २३ रुपैयाँ ५० पैसा (कर सहित) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ हुनेछ । उक्त पुँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रकम हो ।
उक्त साधारण सभामा स्वागत मन्तव्य एवं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीको अध्यक्ष गोविन्द लाल संघईले समिक्षा बर्षमा कम्पनीले कुल बीमा शुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको जानकारी दिए । हाल १८ वटा जीवन बीमा कम्पनीबीच बजारमा प्रतिस्पर्धा चलिरहेको छ ।
सभाबाट आ.व.२०७४÷०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ ।
हाल यस कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,२२,००० भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेकोछ ।