काठमाडौं । मंगलबारको नेप्से परिसूचक सामान्य ४.४२ अंकले बढेको छ । कारोबार खुलेदेखि उतारचढाव देखिएको सो दिनको नेप्से बजार बन्द हुँदा ०.३४ प्रतिशतले बढेर १३१२.१४ अंकमा पुगेको छ ।
सोमबारको तुलनामा परिसूचकमा सुधार आएपनि कारोबार रकममा भने गिरावट देखिएको छ । मंगलबार जम्मा ८१ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४१ करोड रुपैयाँ कम हो । सोमबार एक अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
साताको दुई दिन जस्तै लगातार तेश्रो दिनमा पनि बढी कारोबार गर्नेमा नेपाल बैंक र शिवम् सिमेन्ट नै अघि रहेका छन् । मंगलबार नेपाल बैंकको ८ करोड र शिवम् सिमेन्टको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । कारोबारको तुलनामा उत्कृष्ट भएपनि दुबै कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । सोमबारको तुलनामा मंगलबार नेपाल बैंकको सेयर मूल्य ५ रुपैयाँले घटेर प्रतिकित्ता ३३३ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम्को १० रुपैयाँले घटेर प्रतिकित्ता ५८५ रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार विभिन्न ५ वटा संस्थाका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी मल्टिप्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले बढेको छ । जसको सेयर मूल्य प्रतिकित्ता १९९ रुपैयाँ रहेको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य ९.८८, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८४, रिलायन्स फाइनान्सको ९.७० र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९.१३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी समीट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.०६ प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारमा आएका १२ वटै समूहमध्ये ३ वटा राताम्मे भएका छन् भने बाँकी ९ वटा हरिया देखिएका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूह ६४ अंकले बढेको छ भने उत्पादनमूलक समूह ३३ अंकले ओरालो लागेको छ ।