१२०० मेगावाटको बुढीगण्डकी ! यसरी जुटाइँदैछ २५० अर्ब

<p>काठमाडौं, १५ कात्तिक । १२०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जल विद्युत आयोजना निर्माणका लागि २५० अर्ब रुपैंयाँ आवश्यक पर्छ । यति ठुलो रकम जुटाएर आयोजना सम्पन्न गर्ने कुरा आफैंमा चुनौती पूर्ण छदैँछ साथमा प्राबिधिक जटिलताको पक्ष पनि उत्तिकै महत्वपुर्ण सन्दर्भ हुन आउँछ । तर यति ठुलो जलविद्युत आयोजनाको निर्माणका लागि पैसाको अभाव भने नहुने देखिन्छ [&hellip;]</p>

काठमाडौं, १५ कात्तिक । १२०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जल विद्युत आयोजना निर्माणका लागि २५० अर्ब रुपैंयाँ आवश्यक पर्छ । यति ठुलो रकम जुटाएर आयोजना सम्पन्न गर्ने कुरा आफैंमा चुनौती पूर्ण छदैँछ साथमा प्राबिधिक जटिलताको पक्ष पनि उत्तिकै महत्वपुर्ण सन्दर्भ हुन आउँछ ।

budhi
तर यति ठुलो जलविद्युत आयोजनाको निर्माणका लागि पैसाको अभाव भने नहुने देखिन्छ । बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले तयार पारेको वित्तिय लेखाजोखा अनुसार स्वदेशी लगानीमै यो परियोजना पाँच बर्ष भित्र सम्पन्न गर्न सकिन्छ । त्यस्तै, व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत समितिका सभापति गगन थापाले समेत आयोजनाका लागि आवश्यक लगानी जुटाउने मोडल तयार पारेका छन् । यी दुबै मोडलहरुका अनुसार १२०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण स्वदेशी लगानीमै सम्पन्न गर्न सकिन्छ ।

कसरी जुट्न सक्छ त २५० अर्ब रुपैंयाँ ?
आइतबार व्यवस्थापिका संसदको कृषि तथा जलश्रोत समितिमा आयोजीत छलफलमा आयोजना विकास समितीमा प्रस्तुत गरिएको प्रतिवेदनका अनुसार आयोजनाका लागि आवश्यक पर्ने २५० अर्ब मात्रै होइन थप एक अर्ब समेत जुट्न सक्ने उल्लेख छ । आयोजना विकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटाका अनुसार-
– नेपाल सरकारले बार्षिक बजेटमार्फत बर्षेनी २० अर्ब बिनियोजन गर्दै आठ बर्षभित्र १६० अर्ब जुटाउन सकिन्छ ।
– आयोजना प्रभावित क्षेत्रका जनताको सेयर(मुआब्जा वा नगद लगानी)बाट २० अर्ब जुटाउन सकिन्छ ।
– गोरखा, धादिङ, नुवाकोट, चितवन र नवलपरासीका जनताका लागि सेयर जारी गरेर २० अर्ब जुटाउन सकिन्छ ।
– आयोजनामा काम गर्ने कर्मचारी तथा कामदारलाई सेयर बेचेर थप ५ अर्ब जुटाउन सकिन्छ ।
– गाबिस र जिबिसलाई सेयर बेचेर अर्काे ५ अर्ब जुट्न सक्छ ।
बैंक तथा वित्तिय संस्थाहरुबाट प्रति बर्ष पाँच अर्बका दरले ८ बर्षमा ४० अर्ब लगानी जुटाउन सकिन्छ ।

यसरी आठ बर्षमा २५० अर्ब लगानी जुटाएर नेपालले आफ्नै पैसामा राष्ट्रिय गौरबको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न सक्ने प्रस्तावमा उल्लेख छ । सो प्रस्तावका अनुसार एनआरएनहरुबाट ५ अर्ब, विदेशमा बस्ने नेपाली कामदारले पठाएको रेमिट्यान्सको एक प्रतिशतका दरले प्रतिबर्ष १० अर्ब हुँदै आठ बर्षमा ८० अर्ब तथा अन्य १५ अर्ब ऋण समेत उठाउन सकिने उल्लेख गरिएको छ ।

प्रस्तावित बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको ड्याम ।

उता, काँग्रेस नेता तथा संसदिय समितिका सभापति गगन थापाले इथियोपियाको उदाहरण अघि सार्दै लगानीको समस्या नहुने बताए । नेपाल सरकार, नागरिक लगानी कोष, बैंक तथा वित्तिय संस्था, सर्वसाधारणको आईपिओ लगायका माध्यमद्धारा सजिलै लगानी जुटाउन सकिने थापाको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल सरकारले निर्माण अवधीभरमा कुल ६० अर्ब लगानी गर्न सक्छ । त्यसका लागि पाँच बर्ष निर्माण अवधी तोक्ने हो भने बार्षिक १२ अर्ब बिनियोजन गर्न सकिन्छ । ८ बर्ष निर्माण अवधी रहने हो भने बार्षिक साढे सात अर्ब रुपैंयाँ बिनियोजन गर्न सकिन्छ । त्यस्तै नागरिक लगानी कोषबाट निर्माण अधवीभरमा ७५ अर्ब रुपैयाँको जोहो गर्न सकिन्छ । त्यसका लागि कोषको क्षेत्राधिकार तीन लाखबाट बढाएर चार लाख बनाउने र सो एक लाख रुपैंयाँ बुढीगण्डकी आयोजनामा लगानी गर्ने व्यवस्था गर्न सकिन्छ ।

नेपाल टेलिकमले रिचार्ज स्किम ल्याएर बुढीगण्डकी आयोजनामा ५० अर्ब लगानी गर्न सक्छ । त्यसका लागि बुढीगण्डकी आयोजनाका लागि छुट्टै स्किमसहितको रिचार्ज कार्डको अवधारणा ल्याउन सकिन्छ । त्यसरी ल्याईएको स्किमबाट जम्मा भएको रकम सिधै आयोजनाको कोषमा जम्मा हुने व्यवस्था गर्न सकिन्छ । सांसद थापाले यस्तो योजना इथियोपियाको विकास मोडलबाट ल्याएको बताएका छन् ।

सर्वसाधारणबाट १० अर्बको लगानी जुट्न सक्ने उनको दावी छ भने सस्थागत लगानी कर्ताबाट थप २५ अर्बको लगानी आउन सक्ने आँकलन पनि उनले गरेका छन् । सरकारी स्वामित्वका बिभिन्न संस्थानहरुले १५ अर्ब लगानी गर्न सक्ने क्षमता बोकेकोे गगनको दावी छ । नेपालका बैंक तथा वित्तिय संस्थाहरुले १० अर्ब लगानी गर्न सक्ने र अन्य श्रोतबाट थप ५ अर्बको जोहो गरेर बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी पूँजीमै निर्माण गर्न सकिने तर्क अघि सारेका छन् ।

छलफलमा सहभागी उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले लगानीको अभाव नभएको, स्थानियस्तरमा कुनै समस्या समेत रहेको आयोजनालाई अब कस्ले रोक्छ भन्दै प्रतिप्रश्न गरेका थिए । ‘जनप्रतिनिधी तयार छन, जनता तयार छन, लगानी जुट्न सक्छ भने अब यो आयोजनालाई रोक्छ केले ?’ मन्त्री रायमाझीले प्रतिप्रश्न गरेका थिए । इतिहासमा गोल हान्नेहरुको मात्रै नाम लेखिने तथ्य बुझिसकेकाले अब आफु गोल हान्ने तयारीमा रहेको समेत बताएका थिए ।

छलफलमा उर्जा मन्त्रालयका सचिव राजेन्द्र क्षेत्रीले कम्पनीको अवधारणा जानु पर्ने बताउँदै विकास समितिको बलबुँताले आयोजना बनाउन नसकिने बताएका थिए । नागरिक लगानी कोषका कार्यकारी निर्देशक  रामकृष्ण पोखरेलले कोषसँग लगानी योग्य ६१ अर्ब रुपैंयाँ रहेको बताए । उनले लगानी कर्तालाई मुनाफा सुनिश्चित हुने वातावरण बनाए ठुलो रकम लगानी गर्न तयार रहेको बताएका थिए ।

के हो बुढीगण्डकी जलविद्युत आयोजना ?
१२०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाले धादिङ र गोरखा जिल्लाका भूभाग समेटेको छ । आयोजनाका कारण यी दुई जिल्लाका ८ हजार एक सय १७ परिवार विस्थापित हुन्छन् । तीमध्ये तीन हजार ५ सय ६० परिवार पुर्णरुपमा विस्थापित हुन्छन भने ४ हजार ५ सय ५७ परिवार भने आर्थिक रुपमा प्रभावित हुनेछन् । आयोजनाका कारण कुल ४४ हजार ६ सय ४३ जना प्रभावित हुने देखिन्छ ।
budhi_gandaki

कुल १३ लाख ५ सय २३ रोपनी जमिन डुबानमा पर्नेदेखिन्छ । तीमध्ये ६७ हजार एक सय ७ रोपनी निजी जमिन छ भने बाँकी सरकारी जमिन छ । गोरखा जिल्लाको ३१ ह्जार नौ सय रोपनी जमिन डुबानमा पर्छ भने धादिङमा पर्ने ३५ हजार दुई सय ७ रोपनी जमिन डुबानमा पर्नेछ ।  आयोजनामा मुआब्जा वितरणका लागि मात्रै ५८ अर्ब रुपैंयाँ लाग्ने छ । नदिमा निर्माण गरिने ड्यामको उचाई २६३ मिटर अग्लो हुनेछ भने ५४० मिटर अग्लो जल सहत निर्माण हुनेछ । जल भण्डारण क्षेत्र मात्रै ६४ वर्ग किलोमिटरको हुनेछ ।

Share News