विं.स २००३ मा स्थापना भएको विश्व निकेतन माध्यामिक विद्यालय सामुदायिक विद्यालयकै उत्कृष्ट विद्यालयमा गनिन्छ । गतसाल यस विद्यालयले कक्षा १२ मा नियमित राम्रो नतिजा ल्याएको थियो ।
२ हजार ५ सय सामुदायिक विद्यालयलाई पछाडि पार्दै प्लस २ तर्फ विश्व निकेतनले उत्कृष्ट सामुदायिक विद्यालयको उपाधि हात पारेको थियो । शिक्षामा ७३ वर्षको लामो इतिहास बोकेको विश्व निकेतन कलेजले साँच्चै नै आफुलाई राम्रोसँग सम्हालेको छ ।
विद्यालयमा सबैभन्दा गज्जबको कुरा के छ भन्दा सो विद्यालयका ८० प्रतिशत कर्मचारीले आफ्नो छोराछोरीलाई विद्यालयमा पढाइरहेका छन् । कर्मचारीले मात्र नभएर विश्व निकेतनका प्रधानाध्यापक स्वयमले आफ्नो छोराछोरीलाई कक्षा १२ सम्म आफ्नै विद्यालयमा पढाएका छन् । स्कुलमा कार्यरत १ सय १५ शिक्षकका सन्तान मध्ये ६० प्रतिशतका सन्तान कलेजमा अध्ययन गर्छन् । आफुले अध्यापन गराउने स्कुलमै सन्तान पढाउदा स्कुलप्रति उत्तरदायित्व र जिम्मेवारी बढ्ने प्रधानध्यापक कडेल बताउँछन् । ‘हामी आफुले आफुलाई विश्वास नगरेसम्म हामीले उपलब्धी हासिल गर्न सक्दैनौं,’ उनले भने ।
कक्षा १ देखि स्नातकसम्मको पढाइ हुने गरेको विश्व निकेतनले सामुदायिक विद्यालयहरूको स्तर खस्कदै गएको भन्ने कुरालाई गलत ठहराएको छ । हरेक वर्ष कक्षा १ देखि १० सम्म भर्ना खुल्दा ७५ प्रतिशत भन्दा बढी विद्यार्थी निजी विद्यालयका आउने गरेका छन् । यस्तै कक्षा ११ देखि १२ मा १ हजार विद्यार्थीको भर्ना खोल्दा ३ हजार भन्दा बढी विद्यार्थी प्रवेश परीक्षामा सामेल हुन्छन् । यहाँ ११–१२ मा विज्ञान, कानून, मानविकीको पढाई हुने गरेको छ ।
कुनैपनि शैक्षिक संस्थाले सफलता हासिल गर्नलाई सर्वप्रथम त काम गर्ने समूहबीच राम्रो सम्बन्ध हुन जरुरी छ । कर्मचारीहरूबीचको सहकार्य राम्रो भएको कारण विश्व निकेतन अहिले यो स्थानमा पुगेको हो । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलसँग विकासन्युजका लागि डोमी शेर्पाले गर्नु भएको विकास बहसः
कस्ता छन् विश्व निकेतनका पूर्वाधार ?
विश्व निकेतनका पूर्वाधार कुनैपनि निजी लगानीमा सञ्चालन भएका विद्यालयको दाँजोमा कमजोर छैन । आईसीटी जडित कक्षाकोठा विश्व निकेतन प्रविधिमैत्री भएको उत्कृष्ट उदाहरण हो । यसको माध्यमबाट विश्वको जुनसुकै ठाउँमा जाँदा पनि विद्यालयमा के भइरहेको छ भन्ने एउटा एप्सको माध्यमबाट देख्न सकिन्छ । यसको कारण विद्यालय प्रशासनको उपस्थिति नहुँदा पनि विद्यालय सहज ढंगले चलिरहेको हुन्छ । यस्तै सुविधासम्पन्न कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, लाइबेरी, अडियोभिजुअल कक्षाकोठाहरू पनि यहाँ रहेका छन् ।
कुन तहमा पढ्न कति खर्च ?
नेपालको संविधान २०७२ ले आधारभूत तहमा पाठ्यपुस्तक सहित अनिवार्य निशुल्क शिक्षा र माध्यामिक तहसम्म जुन निशुल्क शिक्षा दिनुपर्छ भनेर व्यवस्था गरेको छ । त्यही कुरा शिक्षाको ऐन नियामवाली हुँदै सरकारको निर्देशन छ । सरकारले यो वर्ष शिक्षामा कुल बजेटको १०.८ प्रतिशत मात्र बजेट छुट्टाएको छ । यो गत सालको दाँजोमा ०.८ प्रतिशत मात्र बढी हो ।
विद्यालयमा सबैभन्दा गज्जबको कुरा के छ भन्दा सो विद्यालयका ८० प्रतिशत कर्मचारीले आफ्नो छोराछोरीलाई विद्यालयमा पढाइरहेका छन् ।
सरकारले पर्याप्त मात्रामा शिक्षा क्षेत्रमा बजेट नछुटाउनु, शैक्षिक सामाग्रीहरू पर्याप्त मात्रामा नदिनु, शिक्षकको दरबन्दीपनि पर्याप्त नखोल्नु, तर शिक्षा निःशुल्क गर भनेको कारण विद्यालयले विद्यार्थीको अभिभावकको सहमतिमा केही रकम लिइरहेको छ । स्रोत साधन नहुँदा र आर्थिक पाटोको उचित व्यवस्थापन गर्ने राम्रो गरिरहेका धेरै सामुदायिक विद्यालयहरुले अभिभावकहरुकै राजीखुशीमा थोरै मात्रामा आर्थिक सहयोग लिएको छ । सरकारले यदि आफु पनि पर्याप्त लगानी गर्न सक्दैन भने अभिभावकहरुलाई केही मात्रामा रकम लिन दिनुपर्ने व्यवस्था हुनुपर्छ ।
यहाँ कक्षा १, २, ३ अध्ययन गर्नेलाई वर्षभरीमा १२ सय मात्र लाग्छ भने कक्षा ९, १० मा विद्यालयले वर्षभरी २७२५ रुपैयाँ मात्र लिने गरेको छ । विद्यालयले गुणस्तरीय शिक्षा दिनुमा केही कम नगरेको हुँदा यो सानो रकम तिर्न अभिभावक खुशी छन् ।
प्लस २ मा पढ्न यहाँ राम्रो जीपीए ल्याएका विद्यार्थीलाई छात्रवृत्ति दिदै आएको छ । कक्षा ११ मा कानुन र व्यवस्थापन पढ्नको लागि मासिक ९०० रुपैयाँ, शिक्षा र मानविकी पढ्नको लागि मासिक ७०० रुपैयाँ, विज्ञान विषयको लागि महिनाको २ हजार र प्रयोगशाला शुल्कको लागि वर्षभरीमा ४ हजार रुपैयाँ र भर्ना शुल्कको लागि ५ हजार तिर्नुपर्ने हुन्छ । यसमा पनि विद्यार्थीहरुलाई कुनै न कुनै रुपमा छुट दिने गरिएको छ । यसका साथै आर्थिक अवस्था कमको विद्यार्थीलाई विश्व निकेतनले स्थानीय तहबाट सिफारिस ल्याएर निःशुल्क पढाउने व्यवस्था गरेको छ । विद्यालयले विद्यार्थीलाई वर्षभरी संचालन गर्ने ५ वटा परीक्षा, विभिन्न अतिरिक्त कृयाकलाप र साना घाउ चोटपटक लाग्दपनि विद्यालयले त्यसको रकम लिने गरेको छैन ।
यहाँ कक्षा १, २, ३ अध्ययन गर्नेलाई वर्षभरीमा १२ सय मात्र लाग्छ भने कक्षा ९, १० मा विद्यालयले वर्षभरी २७२५ रुपैयाँ मात्र लिने गरेको छ । विद्यालयले गुणस्तरीय शिक्षा दिनुमा केही कम नगरेको हुँदा यो सानो रकम तिर्न अभिभावक खुशी छन् ।
कसरी उत्कृष्ट बन्दै छ विश्व निकेतन ?
अभिभावक, विद्यालय प्रशासन र शिक्षकबीचको सुमधुर सम्बन्ध भएको कारणसामुदायिक विद्यालयमा उत्कृष्टमा परेको छ । विद्यालयले वर्षमा कक्षा १० सम्म ५ वटा परीक्षा संचालन गर्दछ भने प्लस २ तर्फ वर्षहरूमा ६ वटा परीक्षा संचालन गर्दै आएको छ । परीक्षाको नतिजा विद्यालयले प्रत्यक्ष रुपमा अभिभावकसँग छलफल गर्छन् र त्यही अनुसार के गर्न सकिन्छ भन्ने कुरा निर्धारण गर्दै आएको छ । कमजोर विद्यार्थीलाई परामर्श कक्षाहरूरु पनि संचालन हुँदै आएको छ ।
विद्यालयमा सार्वजनिक बिदाहरु पनि सीमित मात्रामा राखिएको छ साथै कक्षामा कुनै पनि शिक्षकको अनुपस्थितीमा कक्षाहरू कुनै पनि अवरोध बिना संचालन हुन्छन् । आईसिटी जडित कक्षाकोठा भएका कारण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू हरबखत आफ्नो कर्तव्यप्रति सचेत रहने गरेका छन् ।