काठमाडौं । कर्मचारी सञ्चय कोषको केन्द्रिय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा ८ जना घातक रोगका सञ्चयकर्ताहरुलाई करिव रु. ४० लाख बराबरको घातक रोगको औषधोपचार खर्च प्रदान गरिएको छ ।
यसरी बीमा दावी रकम प्राप्त गर्ने सञ्चय कर्ताहरुमा शिवजी गुरुङ्ग, शान्ता थापा देउला, राधा देबी भट्टराई, नरेन्द्र कुमार श्रेष्ठ, शान्त बहादुर देउला, सावित्रि आचार्य, शान्त बहादुर भुजेल र लेखनाथ खतिवडा रहेका छन् ।
कार्यक्रममा वक्ताको रुपमा विरामी सञ्चयकर्ताको तर्फबाट शिवजी गुरुङ्गले सञ्चय कोष र बीमा कम्पनी बीच भएको यस प्रकारको बीमाले आम सञ्चयकर्ताहरुलाई निकै नै राहत मिलेको अनुभव सुनाए ।
उक्त कार्यक्रममा राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले केही प्राविधिक तथा प्रशासनिक कठिनाईका बावजुत कम्पनीले बीमा दावी भूक्तानी प्रकृयालाई यहांसम्म ल्याईपुर्याईएको तथा आगामी दिनहरुमा अझ सशक्त ढङ्गबाट दावी प्रकृया अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरे । कार्यक्रम कम्पनीका मुख्य ब्यवस्थापकसुवास कोईरालाले सञ्चालन गरेका थिए ।
राष्ट्रिय बीमा कम्पनी लि. र कर्मचारी सञ्चय कोष बीच सञ्चयकर्ताहरुको रु. १ लाख बराबरको औषधोपचार तथा रु. १० लाख बराबरको घातक रोगको उपचारको लागि बीमा गर्ने सम्वन्धमा २०७५ साल कार्तिक २८ गते सम्पन्न भएको समझदारीको आधारमा मिति २०७५ मंसिर १ गते देखि लागू हुने गरि बीमालेख जारी गरेको छ ।
हालसम्म ८५३ जना सञ्चयकर्ता विरामी हरुका लागि रु. तीन करोड ८८ लाख बराबरको बीमा दावी भूक्तानी समेत गरिसकिएको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले जनाएको छ ।