एक हजारले लिए आरोहण अनुमति, छ करोड १७ लाख राजस्व सङ्कलन

<p>काठमाडाैं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । हालसम्म  १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएकाे पर्यटन विभागले जनाएको छ । विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका लागि ५९ देशका आरोहीले अनुमति लिएका छन् । अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका [&hellip;]</p>

काठमाडाैं । यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन् । हालसम्म  १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएकाे पर्यटन विभागले जनाएको छ । विभिन्न हिमाल तथा हिमश्रृङ्खला आरोहणका लागि ५९ देशका आरोहीले अनुमति लिएका छन् ।

अघिल्लो वर्ष सोही याममा ६३ देशका आरोही हिमाल आरोहणका लागि आएका थिए । गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए  । तुलनात्मकरुपमा यो वर्षको पछिल्लो विवरणअनुसार आरोहीको सङ्ख्या कमी रहे पनि अझै कात्तिक १५ देखि २० सम्म आरोही आउने हुँदा आरोहीको सङ्ख्या बढ्न सक्ने पर्यटन विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि २७ आरोही समूहका २६४ र अमादब्लाम हिमाल आरोहणका लागि २३ समूहका २६१ले आरोहण अनुमति लिएका छन् । आरोहण अनुमति पाएका आरोही धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।

हिमाल आरोहणका लागि हालसम्म उनीहरूबाट करिब छ करोड १७ लाख  राजस्व सङ्कलन भएको विभागले जनाएको छ । सगरमाथा बाहेक अन्य १२ वटा अग्ला हिमालका लागि पनि अनुमति लिनेहरुको संख्या बढिरहेको विभागले जनाएकाे छ ।

हालसम्म नेपालमा सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार अमेरिकी डलर तिरे पुग्ने गरेको छ । नेपाल घुम्न आउने पर्यटकमध्ये सबैभन्दा बढी खर्च गर्नेमा आरोहणमा आउने आरोहीहरू  छन् । जसबापत प्रत्येक वर्ष नेपाल सरकारले झन्डै ४० करोड रुपैयाँ राजस्व प्राप्त गर्दै आएको छ ।

नेपालमा आरोहणका लागि आउने पर्यटकहरू कम्तीमा ४५ दिनदेखि ७५ दिनसम्म बस्छन् । आरोहणमा आउने पर्यटकले नेपाल बसाइको क्रममा ३५ हजार डलरदेखि ६० हजार डलरसम्म खर्च गर्ने गरेका छन् । जसमा आरोहण स्वीकृतिको लागि एक जनाले ११ हजार डलर सरकारलाई बुझाउने गरेका छन् ।

आरोहणमा एजेन्सीहरूले ३५ हजारदेखि ६० हजार डलरसम्म लिएर बुकिङ गराउने गरेका छन् ।  एक जना आरोहणमा जाँदा ७ जनादेखि १५ जनासम्मले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । आरोहणका लागि जाने सहयोगीले दैनिक १ हजारदेखि २५ सय रुपैयाँ पाउने गरेका छन् ।

Share News