काठमाडौं, २४ पुस । यार्सागुम्बा संकलकले १३ दिनमै एक लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्यययनले यस्तो देखाएको हो ।
‘यार्सागुम्बा संकलनको लागि हरेक वर्ष डोल्पामा मात्रै चालीस हजारभन्दा बढी मानिसहरु संकलनका लागि जाने र उनीहरु सरदर तेह्र दिन संकलन क्षेत्रमा बस्ने गरेको देखिएको छ,’ यार्सागुम्बाले नेपाली अर्थतन्त्रमा पारेको प्रभाववारे अध्ययनमा उल्लेख गरिएको छ ।
गत बर्ष मात्रै औपचारिक तवरले नै यार्सागुम्बा संकलन गर्न डोल्पा जिल्लामा ५३ हजार जना प्रवेश गरेका थिए । यस्तै दार्चुलामा यस वर्ष संकलकहरुको संख्या २५ हजारभन्दा बढी रहेको अनुमान छ । आर्थिक वर्ष २०७०÷७१ मा रुकुममा मात्रै २० हजारभन्दा बढी मानिसहरु यार्सागुम्बा संकलन गर्न गएका थिए ।
यसैगरी जुम्ला, मनाङ्ग, दार्चुला, लगायत यार्सागुम्बा पाइने दर्जनौ ठाउँमा हरेक वर्ष हजारौंको संख्यामा मानिसहरु यार्सागुम्बा संकलन गर्न जान्छन् । यसरी यार्सागुम्बाका कारण न्यून आय भएका, पिछडिएका, दलित, जनजाति सहित धेरैलाई आंशिक रोजगारी सृजना भएको देखिएको अध्ययनमा उल्लेख गरिएको छ ।
संकलकहरुका लागि खाद्य तथा अन्य सामाग्री आपूर्ति, होटल व्यवसाय तथा व्यापारको सिलसिलामा पनि उल्लेख्य रोजगारी सृजना भएको अध्ययनमा उल्लेख गरिएको छ । यार्सागुम्बाको आम्दानीले हिमाली क्षेत्रका वासिन्दाका लागि आवश्यक खाद्यान्न सामाग्री खरीद, भौतिक पूर्वाधार निर्माण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको छ ।
हालको प्रति गोटा यार्सागुम्बाको औसत मूल्य ८ सयका हिसाबले पनि प्रति व्यक्ति दैनिक नौ हजार दुई सय आय आर्जन गर्ने देखिएको छ । प्रत्येक संकलकले औसत वार्षिक १ लाख २० हजार रुपैयाँ आय आर्जन गर्ने देखिन्छ भने औसत परिवार संख्या पाँच जनाको हिसाबले पनि यार्सागुम्बा संकलन तथा व्यापारबाट मात्रै प्रतिपरिवार वार्षिक करीब ६ लाख रुपैयाँ आम्दानी गर्ने अध्ययनमा उल्लेख छ । यसरी यार्सागुम्बाले ग्रामीण जीवनस्तर उकास्न सकारात्मक भूमिका खेलेको देखाइएको छ ।
यार्सागुम्बाले गर्दा हिमाली जिल्लाका सदरमुकामहरु र गाँउहरुमा समेत घर घडेरीको मूल्य उल्लेख्य रुपले बढेको छ । यार्सागुम्बाको संकलन गर्न पाटनमा प्रवेश गर्न लाग्ने दस्तुर उठाएर स्थानीय निकायहरुले पनि राम्रो आम्दानी गरेको देखिन्छ र तदनुरुप स्थानीयस्तरमा विकास निर्माणका केही कामहरु पनि भएको छ । मनाङ्गको टंकीमनाङ्ग गाउँमा स्थानीय निकायले यार्सागुम्बा संकलनको लागि पूर्जी दिएवापत उठाइएको ३ करोड रुपैयाँ उपयोग गरी १ सय ६० किलोवाट क्षमताको मनाङ्ग सामुदायिक लघु जलविद्युत आयोजना समेत निर्माण गरिएको छ ।
यार्सागुम्बा संकलनका महिनाहरुमा हिमाली जिल्लाका सदरमुकामहरुमा आर्थिक गतिविधिमा एक्कासी विस्तार आउने गरेको अध्ययनको ठहर छ । यार्सागुम्बाको संकलनका लागि विभिन्न ठाउँबाट आएका हजारौं मानिसहरु हिमालतर्पm यार्सागुम्बा टिप्न जानु अघि सदरमुकाममा बन्दोवस्तीका सामानहरु किन्ने गर्छन् ।
त्यसैगरी काठमाडौंलगायत तिब्बतबाट व्यापारीहरु तथा तिनीहरुका एजेन्टहरु यार्सागुम्बा खरीद गर्न सदरमुकाममा आउने गर्छन् । सदरमुकाममा यार्सागुम्बाको ठूलो परिमाण र मूल्यको कारोवार हुने तथा अन्य आर्थिक गतिविधिमा विस्तारका कारण ठूलो मात्रामा नगद कारोवार हुने गर्दछ । त्यसकारण अन्य महिनाहरुको तुलनामा यार्सागुम्बाको मौसममा सदरमुकाम स्थित बैंकहरुले नेपाल राष्ट्र बैंकबाट बढी परिमाणमा नगद माग गर्ने गरेका राष्ट्र बैंकको भनाइ छ ।
यार्सागुम्बाको संकलनबाट हिमाली तथा उच्च पहाडी भेगका वासिन्दाहरुको आयआर्जन तथा रोजगारीका अवसरहरुमा अभिवृद्धि भएको पाइन्छ । त्यस्तै, पर्यटन, होटल, बैंक तथा वित्तीय संस्थाहरु लगायत आर्थिक क्रियाकलापमा विस्तार भएको पाइन्छ । यद्यपी, यार्सागुम्बाको बढ्दो संकलनसँगै उच्च पहाडी तथा हिमाली भेगमा शिक्षा, स्वास्थ्य तथा शान्ति सुरक्षाको स्थितिमा प्रतिकूल प्रभाव पनि पर्ने गरेको छ । कतिपय विद्यालयका विद्यार्थीहरु र शिक्षकहरु समेत उल्लेख्य संख्यामा यार्सागुम्बाको संकलनमा जाने गर्दा जेठ–असारमा विद्यालय नै बन्द हुने गरेको छ ।
उच्च हिमाली भु–भागमा यार्सागुम्बा खोज्दै गर्दा भिरबाट लड्ने तथा हिउँको दरारहरुमा परेर धेरैले ज्यानै गुमाएका घटनाहरु पनि छन् । कतिपय गाउँलेहरु उच्च हिमाली भेगमा कैंयौ हप्ता यसको खोजी गर्दा रित्तै हात फर्कन परेका पनि छन् भने हिउँले पुरिएको चिसो माटोमा कुहिनाले टेक्दै खोस्रदै यार्सागुम्बा खोज्दा चिसो र लेक लागेर बिरामी पर्ने गरेका छन् । कतिपय यार्सागुम्बा संकलक÷गाउँलेहरु जोर्नी दुख्ने तथा श्वासप्रश्वासको समस्या लिएर फर्कने गरेका छन् भने कतिपयले निकै विरामी परेर एवम् स्वास्थ्य उपचार उपलब्ध नहुँदा ज्यानै समेत गुमाउने गरेका छन् ।