काठमाडौं, २४ पुस । सरकारले माघ २ गतेबाट राष्ट्रिय पुननिर्माण अभियान थाल्ने भएको छ । १८ औं भूकम्प सुरक्षा दिवसका अवसर पारेर सरकारले राष्ट्रिय पुननिर्माण अभियानको सुभारम्भ गर्न लागेको हो । ऐतिहासिक महत्वको रानीपोखरी र बुङमतिबाट राष्ट्रिय पुननिर्माण अभियानको थालनी हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजेर ५६ मिनेटमा रानीपोखरी पुननिर्माणको उद्घाटन गरेर राष्ट्रिय पुननिर्माण अभियान घोषणा गर्नेछिन । गत बैशाख १२ गते ११ बजेर ५६ मिनेटमै महाभूकम्प आएको थियो ।
त्यस्तै अपरान्ह ४ बजे प्रधानमन्त्री केपी ओलीले ललितपुरको अर्काे ऐतिहासिक स्थल बुङमतिको पुननिर्माण गुरु योजनाको सुभारम्भ गर्नेछन् । सोही अवसरमा कार्यबिनायक नगरपालिका र बुङमति पुननिर्माण समितिका बिचमा हस्ताक्षर समेत गराईनेछ ।सरकारले माघ २ गतेदेखि भूकम्पपछिको पुननिर्माण तथा नवनिर्माणको कामलाई राष्ट्रव्यापी बनाउनेछ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेश प्रसाद सिंहका अनुसार पुननिर्माणका लागि ५० हजार दक्ष निर्माणकर्मीहरुको आवश्यकता पर्छ । हालसम्म बिभागले १२ हजार ५ सय दक्ष निर्माणकर्मीहरुलाई तालिम प्रदान गरिसकेको छ ।
हाल बिभिन्न १६ वटा संघ संस्थाहरुले दक्ष निर्माण कर्मी उत्पादनको तालिम प्रदान गरिरहेका छन् । विभागले एउटा भवन निर्माणमा न्युनतम दुई जना दक्ष निर्माणकर्मी आवश्यक पर्ने गरि कार्ययोजना तयार पारेको छ । सेभ द चिल्ड्रेनले ६ हजार, एनआरएनले एक हजार घर निर्माण गरिदिने भन्दै विभागसँग सम्झौता गरिसकेका छन् । त्यस्तै अन्य पाँच वटा संघ संस्थाले पनि थप तीन हजार घर बनाईदिने भन्दै विभागसँग सम्झौता गरिसकेका छन् ।
विभागले बैशाख १२ गतेको भूकम्प पश्चात मुलुकका २१७ वटै नगरपालिकाहरुमा भूकम्प प्रतिरोधी भवन कार्यान्वयन गराउने प्रस्ताव अघि सारेको छ ।
