
काठमाडौं । २३ जेठ २०५१ मा सञ्चालनमा आएको नेपाल बंगलादेश (एनबी) बैंक बंगलादेशको आइएफआइसी बैंकको संयुक्त लागनीमा स्थापना भएको हो । बैंकले ०६८/६९ सालमा नेपाल श्रीलंका मर्चेन्ट बैंकलाई मर्ज गरेको थियो ।
बैंकमा हाल आइएफआइसी बैंकको ४१ प्रतिशत सेयर हिस्सा छ । बंगलादेशकै अर्को ‘बैंक एशिया’को १५ प्रतिशत सेयर र अन्य संस्थापकबाट सेयर किनेर आइएफआइसीले आफ्नो स्वामित्व १० प्रतिशतबाट बढाएर ४१ पुर्याएको हो । कुनै समय खराब कर्जाको अनुपात ४० प्रतिशतसम्म पुगेको एनबी बैंकलाई राष्ट्र बैंकले व्यवस्थापन सम्हालेर सुधारेको हो ।
यो सुधारको क्रममा नै आइएफआइसीले आफ्नो स्वामित्व वृद्धि गरेको हो ।बैंकमा व्यक्तिगत लगानीकर्ताहरुमा एनबी समूहको करीब ११ प्रतिशत लगानी हिस्सा छ । बैंकमा अध्यक्षमा आइएफआइसीबाट जलाल अहमदले प्रतिनिधित्व गरिरहेका छन् भने ज्ञानेन्द्र ढुंगाना प्रमुख कार्यकारी अधिकृत छन् ।

बैंकको उपत्यका भित्र २१ र उपत्यका बाहिर ७४ शाखा, ७ वटा एक्सटेन्सन काउन्टर, ६६ भन्दा बढी एटिएम बुथबाट बैंकिङ सेवा दिइरहेको छ । बैंकले गृहणी बचत खाता, सरल बचत खाता, गौरव बचत खाता जस्ता उच्च व्याजदरका खाता सञ्चालन गरिरहेको छ । बैंकले स्वास्थ्य बीमासमेत समेटिने रजत बचत खाता पनि सञ्चालन गरिरहेको छ ।
विगत ५ वर्षमा बैंकले बार्षिक औसत १ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । २ वर्षयता भने नाफा दर केही सुस्तिएको छ । यद्यपि नाफा अर्ब माथि छ ।
गत आवको नाफापछि १२ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकको ५ वर्षमा बार्षिक औषत १९.६६ प्रतिशत लाभांश दिएको छ । बैंकले चालु आवको पहिलो तीन महिनामा १४ करोड ८६ लाख रुपैयाँ बाड्न सक्ने उल्लेख गरेको छ ।

एनबीले ७ पुसमा २५औं बार्षिक साधारणसभा मनाइरहेको छ । बैंकले ५ प्रतिशत बोनस र ७ प्रतिशत नगद लाभांश प्रस्ताव सभामा लैजादैछ । लाभांश वितरणको लागि मंसिर २६ मै बुक क्लोज भएको थियो । गत वर्षको लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४९ करोड रुपैयाा पुग्नेछ ।
बैंकको ५ वर्षमा औसत प्रतिसेयर आम्दानी औसत २८.८१ हुँदा बजार मूल्य ४ सय ८४ कायम भएको छ । हाल भने बैंकको सेयर ३ सय मुनि कारोबार भइरहेको छ ।

पहिलो तीन महिना
बैंकले आव २०७६/७७ को पहिलो तीन महिनामा नाफा भने ३३.३२ प्रतिशतले वृद्धि गरेर ४० करोड २५ लाख रुपैयाँ पु¥याएको छ । समग्र बैंकहरुको औसत नाफाभन्दा बैंकको नाफा तल छ ।
खुद व्याज आम्दानी, फि र कमिशन शुल्कबाट भएको आम्दानी, अन्य आम्दानीमा वृद्धि भएकोले नाफा वृद्धिमा सहयोग पुगेको हो । बैंकले यी शीर्षकबाट २५ करोड रुपैयाँभन्दा बढी कमाएको छ । बैदेशिक मुद्राको विनियम र अन्य सञ्चालन आम्दानीबाट थप ४ करोड ५० लाखभन्दा बढी आर्जन गरेको छ । । समग्र बैंकहरुको औसत खुद व्याज आम्दानीभन्दा बैंकको यस्तो आम्दानी निकै तल छ ।
बैंकको पुँजी कोष पर्याप्तता अनुपात १३.४४ प्रतिशत छ । आगामी दिनमा बासेल थ्री अन्तरगत क्यापिटल कन्जरभेसन बफरमा केही वृद्धि र काउन्टर साइक्लिकल बफर लागू गराउन लागेको छ । यसो भएमा बैंकहरुले कुशनको रुपमा थप १.५० प्रतिशत रकम राख्नु पर्ने हुन्छ ।
बैंकको हालको पुँजी कोष पर्याप्तता अनुपातले कोष थप बढाउनुपर्ने अवस्था देखिएको छ ।
बैंकको निक्षेप र प्राथमिक पुँजीको आधारमा जारी भएको कर्जाको अनुपात ७५.७३ प्रतिशत छ । बैंकसँग लगानीको लागि स्पेस रहेको देखिन्छ । बैंकको सञ्चिति तथा जगेडा कोषमा ४ अर्ब ७० करोड रुपैयाँ रकम छ । बैंक पुँजी कोष लागत सामान्य घटेर ७.२९ भएको छ । बैंकलाई पुँजी महंगो परिरहेको छ । १ अर्ब ९० करोड व्याज आम्दानी गरेको बैंकको व्याज खर्च १ अर्ब १५ करोड छ ।
बैंकमा अहिले खराब कर्जा १.९७ प्रतिशत छ । अघिल्लो आवमा भन्दा खराब कर्जा दर केही बढेको भने छ । बैंकले खराब कर्जाको आधारमा सो कर्जाको १ सय २४ प्रतिशत रकम राखेको छ । बैकले प्रावधानमा ८ करोड रुपैयाँ राखेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १९.९१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०.२५ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ५८ रुपैयाँ छ ।
रेटिङ संस्थाको विश्लेषण
बैंकले केही अघि मात्रै २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो । हाल नेप्सेमा यसको सूचीकरण भइसकेको छ । इक्रा नेपालले करीब ८ महिनाअघि बैंकको ऋण पत्रको रेटिङ गरेको छ । बैंकको विश्लेषणको क्रममा इक्राले केही सकारात्मक र नकारात्मक पक्षहरु उल्लेख गरेको छ ।
–३ वर्षयता वृद्धिदर १८ प्रतिशत (समग्र क्षेत्रको २४ प्रतिशत)
–खुद्रा र साना तथा मझौला व्यवसायमा समानदरमा लगानी (कुल कर्जा लगानीको ३७ प्रतिशत)
–कर्जाका ३६ प्रतिशतको बार्षिक वृद्धि
–लामो अवधिदेखि सञ्चालनमा रहेपनि अन्यको तुलनामा सम्पत्ति आधारमा सानो
–कर्जा र निक्षेपको आधारमापनि सानो खेलाडी
–भाका नाघेको कर्जा ११ प्रतिशतको दरमा रहेको प्रक्षेपण
–खराब कर्जामा सुधार, अझै पनि १ प्रतिशत माथि
–कम लागतको निक्षेपमा कटौतीले पुँजी लागत महंगो पर्दै
–खुद व्याज आम्दानीमा सुधार, ३.३३ बाट वृद्धिभएर ४.३१
प्राविधिक विश्लेषण
बैंकको सेयर एक वर्षयताकै न्युन विन्दु (१ सय ७८ ) नजिक आइपुगेको छ । हाल मूल्य १ सय ८७ रुपैयाँ छ । बैंकको मूल्य अधिक बिक्रीको क्षेत्रमा रहेको १४ दिने आरएसआईले देखाउँछ । यो स्केलको २५.९२ मा आएको छ ।
आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । कम बोनस सेयर प्रस्ताव भएको र यो प्राप्त गर्ने अवधि समेत सकिएकोले बिक्री चाप बढेको देखिन्छ ।
सिम्पल मुभिङ एभरेज रेखाले केही समयदेखि नै मूल्य वियरिश प्रवृत्तिमा रहेको संकेत गरिरहेको छ । ७ दिने रेखालाई २१ दिने रेखाले काटेर माथि लागेको छ ।
पीभट विश्लेषणले भने अब बजार बढ्ने क्रममा रहे एक महिनामा १ सय ८१ मा पहिलो टेवा र घट्ने क्रममा रहे १ सय ९९ मा पहिलो प्रतिरोध पाउने देखाउँछ ।
विगत सात दिनको कारोबारमा शुरुको दिन २ सय मूल्यभन्दा तल ओर्लिएको बैंकको सेयर मूल्य यो अवधिमा एक दिन मात्र बढ्यो । गत विहीवार मूल्य बढेको भएपनि यो साता कारोबार खुलेको पहिलो दिन मूल्य बढ्न सकेन । अन्तिम दिन ह्यामर डोजी आकृति बनेको छ । यसले मूल्य घट्न रोकिने संकेत गरिरहेको छ । यो संकेत दरिलो भने होइन ।
तर, बजार मूल्य निकै तल (साथै, एक वर्षकै न्युन मूल्य नजिक) आएकोले मूल्य घट्न रोकिने सम्भावना उच्च छ । आगामी दिनको कारोबार हेरेर नै निर्णय लिनु सही हुनेछ ।