नेपाल नागरिक उडड्यन प्राधिकरणको आधिकारिक ट्रेड युनियनले प्राधिकरण नटुक्राउन माग गरेकाे छ । युनियनले बुधबार पत्रकार सम्मेलन गरेर प्राधिकरण नटुक्राउन माग गरेकाे हाे ।
प्राधिकरण विधेयक मन्त्रिपरिषदमा दर्ता भएसँगै कर्मचारीले प्राधिकरण नटुक्राउन माग गरेका हुन् । भ्रमण वर्षकै मुखमा उनीहरूले आन्दोलनकोसमेत घोषणा गरेका छन् ।
घोषित कार्यक्रममा कालोपट्टी बाँध्नेदेखि नेपालका सम्पूर्ण विमानस्थलको सेवा ठप्प पार्नेसम्म छन् ।
कर्मचारीले विधेयक फिर्ता हुनुपर्न माग गर्दै हस्ताक्षर अभियान, कालोपट्टी बाँध्ने, पेन डाउन गर्ने, आमरण तथा रिले अनसन बस्ने, प्रधान कार्यालयमा तालाबन्दी, वाषिर्कोत्सव कार्यक्रम बहिष्कार गर्ने तथा सम्पूर्ण विमानस्थलको सेवा ठप्प पर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका छन् ।
प्राधिकरण नटुक्राएसम्म यरोपेली यूनियनले नेपाललाई कालोसूचीमा राखेको विषयलाई कर्मचारीले ‘यूरोपको नेपाली विमास्थल कब्जा गर्ने प्रपञ्च’ का रुपमा व्याख्या गरेका छन् ।
‘सरकारले प्राधिकरण विभाजन गरी नेपालको हवाई उद्योग यूरोपेली यूनियनलाई सुम्पेर स्वदेशी पूँजी विदेशीकरण गरी नागरिक उड्डयन क्षेत्रलाई धराशायी बनाउन लागेको छ,’ आधिकारिक ट्रेड यूनियनद्वारा सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।