काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले शेयरधनीलाई १७.३२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले आर्थिक बर्ष २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट कर सहितको रु ४७ करोड ६३ लाख नगद लाभांश वितरण गर्ने भएको हो ।
पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतपश्चात आगामी बाह्रौ वार्षिक साधारण सभाले पारित गरे पछि उक्त लाभांश वितरण हुनेछ । बैंकले अघिल्लो वर्षसम्मको सञ्चित मुनाफाबाट १४.२० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
न्यू विजनेशएजद्वारा आयोजित सन् २०१९ को बेष्ट म्यानेज डेभलपमेन्ट बैंकको एवार्डबाट पुरस्कृत भएको यस विकास बैंकको कुल चुक्ता पूँजी रु २ अर्व ७५ करोड रहेको छ ।
यस बैंकलाई मेगा बैंक नेपाल लिमिटेडले प्राप्तिगर्ने सम्वन्धी सम्झौतापत्रमा गत असोज महिनामा हस्ताक्षर गरी सकेको छ । मेगा बैंक नेपालले यस बैंकलाई प्राप्ती गरे पश्चात बन्ने एकिकृत बैंक अझ सबल, सक्षम र विशाल हुने विश्वास लिइएकोछ ।