काठमाडौं । चौधरी ग्रुपको विदेशी कम्पनी सीजी कर्प ग्लोबलले संयुक्त अरब इमिरेट्स (यूएई) मा खोलेको पाँचतारे होटल ‘ताज जुमिरा लेक टावर्स’ मा नेपाली झण्डा फहराइएको छ।नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैरआवासीय छोराहरूले हाँकिरहेको सीजी कर्प ग्लोबलले यूएईमा नेपालको राष्ट्रिय झन्डा फहराएको हो।
होटल उद्घाटन गर्दा शुरुमा यूएईको झन्डा फहराइयो। भारतीय प्रख्यात ब्रान्ड ताजले आफ्नो देशको गौरवका लागि भारतीय झन्डा फहरायो। त्यसपछि नेपाली झण्डा पनि फहराइएको थियाे । ‘ताज जुमिरा लेक टावर्स’ मा लगानी गरेसँगै सीजी हस्पिटालिटीले मध्यपूर्व, युरोप र अफ्रिकी बजारलाई केन्द्रमा राखेर लगानी अगाडि बढाएको छ।
दुबईको ‘ताज जुमिरा लेक टावर्स’ विश्वको एकमात्र त्यस्तो पाँचतारे होटल हो, जसमा नेपालको राष्ट्रिय झन्डा फहराउँछ। सीजी कर्प ग्लोबलले विज्ञप्तिमा भनेको छ, अब सीजी हस्पिटालिटीले विश्वका जुन कुनै मुलुकमा स्थापना गर्ने होटलमा चन्द्र र सूर्य अंकित झन्डा फहराउनेछ।
सीजी कर्प ग्लोबल निकट भविष्यमै २०० होटल सञ्चालनको लक्ष्य भेटाउने योजना कार्यान्वयनमा प्रतिबद्ध छ ।
दुबईबाहेक कजाकस्तानमा स्थापित वाइवाइको प्लान्टमा पनि नेपालको झन्डा फहराइसकेका छन्।नेपाललाई विश्व बजारमा स्थापित गर्ने हाम्रो प्रयासलाई यसले ठूलो आड भरोसा दिन्छ। कुनै पनि समृद्ध मुलुकको आलिशान होटलमा नेपालको झन्डा फहराएको देख्दा नेपालीको मन गर्वले कसरी फुल्छ, मैले त्यो अनुभूत गरेको छु,’ विनोद चौधरीले भने, ‘विश्वभर खुल्ने हाम्रा होटलमा यस्ता दृश्य अब सधैं देखिने छन्।’
यो होटल शताब्दी पुरानो भारतीय पुरातात्विक महत्व र त्यसको विरासतलाई समकालीन विश्वव्यापी सेवा र सुविधासँग जोड्ने सेतु हो, सीजी कर्प ग्लोबलले भनेको छ, सीजी हस्पिटालिटीले यूएईमा विलासी होटल स्थापना मात्रै गरेको छैन, व्यावसायिक मूल्य र मान्यतालाई पनि उत्तिकै मजबुत खम्बाका रूपमा ठड्याएको छ। यो होटलले यस क्षेत्रको ‘बिजनेस लग्जरी’ लाई नयाँ उचाइमा पुर्याउने छ ।’
काठमाडौंमा मुख्य कार्यालय रहेको ‘सीजी कर्प ग्लोबल’ ले विश्वका २० मुलुकमा आफ्नो व्यावसायिक उपस्थिति जनाइसकेको छ। पुस्तौंदेखिको साखलाई विश्वभर स्थापित गर्न समूहले आक्रामक बजार विस्तार गरिरहेको छ। चौधरी ग्रुपलाई ‘फोर्ब्स’ ले नेपालको एकमात्र अर्ब डलरको कम्पनी भनेर सूचीकृत गरेको छ।
सन् २००१ मा सीजी कर्प ग्लोबलले श्रीलंकाको ताज समुद्र र माल्दिभ्सका अन्य दुई ताज होटलमा लगानी गरेपछि सीजी हस्पिटालिटीको विधिवत यात्रा शुरू गरेको थियो।
पिताको व्यावसायिक विरासतलाई कायम राख्दै छोरा राहुल चौधरीले सन् २००६ देखि सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटीको जिम्मेवारी सम्हाल्दै आएका छन्।
सीजी कर्प ग्लोबलले १३ वर्षको अवधिमा हस्पिटालिटी क्षेत्रको विस्तार ११ मुलुकमा ४३ सय प्रतिशतले बृद्धि गरेको छ। उसले विश्वका ११ मुलुक र ८७ गन्तव्यमा १ सय ३० होटल र रिसोर्ट सञ्चालन गरिरहेको छ। तिनमा ६ हजार ५ सय ७ कोठा छन्। राहुलले यी सबै होटलको व्यवस्थापन हेर्छन्।