
काठमाडौं । नबिल बैंकको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको ३५औं वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको प्रस्तावित लाभांश पारित गरेको हो ।
उक्त बोनस पछि बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ नाघेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६मा ४ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रतिशेयर आम्दानी ५०.५७ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब १ अर्ब रुपैयाँ पुर्याएको छ ।
बैंकको संचालन मुनाफा ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ६.६१ प्रतिशत र ६.४५ प्रतिशतले वृद्धि भएको छ । बैंकको संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालको सफल नेतृत्वमा अघि बढिरहेको यस बैंकको “नेटवर्थ” २३ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।
कार्यक्रममा अध्यक्ष पौड्यालले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताएका छन् ।