काठमाडौं, १८ माघ । कम्पनी ऐन अनुसार सबै प्रकारका कम्पनीहरुले पुस मसान्त भित्र साधारणसभा गर्नुपर्छ । प्राइभेट लिमिटेडको रुपमा दर्ता भएका र सञ्चालनमा रहेका कम्पनीको साधारणसभा सर्वसाधारणको चासोको विषय बन्दैन ।
पब्लिक लिमिटेड कम्पनी, त्यसमा पनि सर्बसाधारणको समेत सेयर लगानी नेपाल स्टक एक्स्चेन्जमा सूचिकृत कम्पनीको साधारणसभा, कम्पनीले दिने लाभांश, उसका निर्णय सर्वसाधारणको चासोको विषय बनिरहेको हुन्छ ।
समयमा साधारणसभा नगर्ने, नाफा गरेको अवस्थामा पनि लाभांश वितरण एक वर्षपछि गर्ने र साधारण लगानीकर्तालाई निरास बनाउनेमा सरकारी लगानी भएका कम्पनीहरु नै अग्रपंतिमा छन् । सरकारको सेयर लगानी समेत भएको, सर्वसाधारणको पनि सेयर लगानी भएको नेप्सेमा सूचिकृत कुनै पनि कम्पनीले पुस मसान्तसम्ममा साधारणसभा गरेका छैनन् । उनीहरुले कानुनको पहिलो सर्त उल्लङ्गन गर्दै आएका छन् ।

केही शाखामा अझै कोर बैंकिङ सिस्टम नभएको, विकास बैंकको पनि काम गर्दै आएको, नेटवर्क ठूलो भएकोले समयमा लेखापरिक्षण गर्न र साधारणसभा गर्न नसकिएको हो ।
अधिकांश वाणिज्य बैंकले पुस मसान्तमा साधारणसभा गरेका छन् । सरकारी सेयर रहेको कृषि विकास बैंक, नेपाल बैंकले साधारणसभा गरेका छैनन् । यो वर्षमात्र होइन, कुनै पनि वर्ष यी बैंकले पुस मसान्तभित्र साधारणसभा गर्दैनन, गरेको इतिहास छैन । कृषि विकास बैंकका केही शाखामा अझै कोर बैंकिङ सिस्टम नभएको, ग्रामिण क्षेत्रमा समेत शाखा भएको, विकास बैंकको पनि काम गर्दै आएको, नेटवर्क ठूलो भएकोले समयमा लेखापरिक्षण गर्न नसकिएको र साधारणसभा गर्न ढिला हुने गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला बताउँछन् ।
अर्को रोचक पक्ष के छ भने अप्रत्यक्ष रुपमा भारत सरकारको लगानी रहेको नेपाल एसवीआई बैंक पनि साधारणसभा ढिलो गर्ने बैंकमा पर्छ । यस बैंकले चालु आर्थिक वर्षमा साधारणसभा गरेको छैन ।

कम्पनीको शाखा ५८ भएको, भौतिक संरचनामा भएको लगानी र त्यसको अवस्थाबारे पनि अध्ययन गरेर लेखापरिक्षण गरिने भएकोले साधारणसभा गर्न ढिलाई हुने गरेको हो ।
नेप्सेमा सूचिकृत कम्पनीहरु मध्ये सबैभन्दा बढी सेयर पुँजी भएको कम्पनी हो नेपाल टेलिकम । तर यो कम्पनीले कुनै पनि वर्ष पुस मसान्तभित्र साधारण सभा गरेको रेकर्ड छैन । कम्पनीको शाखा ५८ भएको, भौतिक संरचनामा भएको लगानी र त्यसको अवस्थाबारे पनि अध्ययन गरेर लेखापरिक्षण गरिने भएकोले साधारणसभा गर्न ढिलाई हुने गरेको कम्पनीका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले विकासन्युजलाई बताए । ‘कम्पनीमा चैत मसान्तसम्म साधारणसभा गर्ने लक्ष्य राखेका हुन्छौं र त्यसअवधिमा साधारणसभा भएको पनि हुन्छ’ उनले भने ।
सरकारी लगानी भएको राष्ट्रिय विमा कम्पनी, नागरिक लगानी कोष, एनआईडिसी क्यापिटल मार्केट्स, नेपाल नेपाल इन्स्योरेन्स (नेपाल बैंक र राष्ट्रिय विमा संस्थानको लगानी) र साल्ट टे«डिङ कर्पोरेशनले पनि पुस मसान्तमा साधारणसभा गर्दैनन् ।
कम्पनी ऐनले पुस मसान्त भित्रै साधारणसभा गर्नु पर्ने र समय थपेर चैत मसान्तभित्र साधारण सभा गर्न सकिने व्यवस्था गरेको छ । चैत मसान्त भित्र पनि साधारण सभा नगरेमा भने जरिवाना सरकारलाई तिर्नुपर्छ । ‘समयमा साधारणसभा नगर्दा सरकारलाई फाइदा हुन्छ । जरिवाना तिराएर आम्दानी गर्छ । तर साधारण सेयरधनीले केही पनि पाउँदैनन्’ विगत एक दशकदेखि साधारणसभा नगर्ने राष्ट्रिय बीमा कम्पनीको सेयरधनी कन्चन अधिकारीले गुनासो गरे ।

‘हामीले निरन्तर निर्देशन दिईरहेका छौं फेरि पनि सरकार संलग्न रहेका कम्पनीहरुले समयमै साधारणसभा नगर्ने परिपाटी अझै बाँकी नै छ’
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले सरकार संलग्न रहेका कम्पनीहरुले समयमै साधारणसभा नगरेको बताए । ‘हामीले निरन्तर निर्देशन दिईरहेका छौं फेरि पनि सरकार संलग्न रहेका कम्पनीहरुले समयमै साधारणसभा नगर्ने परिपाटी अझै बाँकी नै छ’, बोर्डका प्रवक्ता गिरीले भने ।
सेयर बजारलाई सूचनाको बजारका रुपमा अथ्र्याउँदै गिरीले समयमै साधारण सभा नगर्ने कम्पनीको सेयर मुल्यमा समेत असर गर्ने बताए । ‘यो इनफरमेसनको मार्केट हो, समयमै साधारण सभा त नगर्ने कम्पनीले कसरी मुनाफा देला भन्ने सन्देश जान्छ, जसले सेयरको मुल्यमै पनि असर गर्छ’, गिरीले भने ।

संस्थागत सुशासनको पहिलो आधारका रुपमा लिईएको साधारणसभा समेमा गर्न नसक्ने कम्पनीहरुप्रति लगानी कर्ताको आकर्षण घट्छ ।
संस्थागत सुशासनको पहिलो आधारका रुपमा लिईएको साधारण सभा समेत गर्न नसक्ने कम्पनीहरुप्रति लगानी कर्ताको आकर्षण घट्ने सेयर बजार विश्लेषक रबिन्द्र भट्टराई पनि बताउँछन् । ‘समयमै साधारण सभा गर्ने काम भनेको संस्थागत सुशासनको पहिलो खुड्किलो हो, कम्पनी जति सुशासित हुन्छ, लगानी कर्ताको विश्वास पनि त्यति नै बढ्छ, लगानी कर्ताको विश्वास बढेपछि नै सेयरको मुल्य पनि बढ्ने हो’, भट्टराईले भने ।
कानुनले तोकेको समयमा साधारणसभा गर्ने कम्पनीप्रति सर्वसाधारण लगानीकर्ताको विश्वास बढ्दै जान्छ । जुन कम्पनीको साधारणसभा समयमा हुँदैन, नाफा गरेको छ भने पनि समयमा साधारणसभा लाभांश वितरण गर्दैन, कम्पनीको गतिविधिबारे लगानीकर्तालाई समयमा जानकारी दिदैन, त्यस्ता कम्पनीले विश्वास गुमाउँदै जान्छन् ।