पुँजी बजारको ऐतिहासिक क्षण ल्याउने दुई पात्रः डा. रेवत र देवप्रकाश 

<p>काठमाडौं । गत विहीबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भयो । सो दिनको सेयर कारोबार रकम नेपाली पुँजी बजारको इतिहासमै सबैभन्दा धेरै थियो । कारोबार रकम उच्च हुने क्रम रोकिएन । गत आइतबार (हिजो) नेपाली पुँजी बजारमा अर्काे रेकर्ड कायम भयो । सो दिन ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको [&hellip;]</p>

काठमाडौं । गत विहीबार २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको सेयर कारोबार भयो । सो दिनको सेयर कारोबार रकम नेपाली पुँजी बजारको इतिहासमै सबैभन्दा धेरै थियो ।

कारोबार रकम उच्च हुने क्रम रोकिएन । गत आइतबार (हिजो) नेपाली पुँजी बजारमा अर्काे रेकर्ड कायम भयो । सो दिन ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भयो ।

आज (१२ फागुन, २०७६) पनि उच्च रकमको कारोबार हुने संकेत देखिएको छ । यो समाचार तयार गर्दै गर्दा (दिउसो १ बजेर ५ मिनेट जादाँ) सम्म २ अर्ब रुपैयाँभन्दा बढीको सेयर किनबेच भइसकेको छ ।

बजार बढ्नु वा घट्नु बेग्लै कुरा हो । तर, एकैदिन साढे ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार सम्भव हुनु आफैमा प्रसंसनीय कार्य हो । किनभने केही वर्ष अगाडिसम्म दैनिक १ अर्ब रुपैयाँको कारोबार गर्न पनि प्रणाली तयार थिएन । पुँजी बजार प्रणाली सक्षम र सवल भएकै कारण यति धेरै रकम बराबरको सेयर कारोबार सम्भव भएको हो ।

यदि सेयरको अनलाइन कारोबार सुरु भएको थिएन र सीडीएससी आएको थिएन भने साढे ३ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबारको म्यानुअल सेटलमेन्ट गर्न १ महिनाभन्दा बढी समय लाग्थ्यो । तर, हिजोको कारोबार सेटलमेन्ट हिजै सम्भव भयो ।

नेपाली पुँजी बजारमा एकैदिन यति धेरै रकमको कारोबार सेटलमेन्ट सम्भव हुने नीतिगत व्यवस्था गर्ने व्यक्ति धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की हुन् । हडबढे स्वभावका कार्की वोर्ड अध्यक्ष भएको बेलामा नीतिगत अस्थिरताको कारण आलोचित पनि भएका थिए । तर, सेयरको अनलाइन कारोबारको नीतिगत, कानुनी र संरचनागत प्रणाली स्थापना गर्ने डा. कार्की अहिले धन्यवादको पात्र बनेका छन् ।

‘अनलाइन कारोबार प्रणाली आएको थिएन भने एकै दिन साढे ३ अर्ब रुपैयाँको कारोबार सम्भवै थिएन, यो कारोबारको म्यानुअल सेटलमेन्ट गर्न १ महिनाभन्दा बढी समय लाग्थ्यो, बोर्डले अनलाइन कारोबार प्रणाली भित्र्याएकै कारण सम्भव भएको हो,’ एक लगानीकर्ताले भने ।

कार्कीका केही नीतिगत निर्णय र त्यसले पारेका असर बारेमा भने अहिले पनि प्रश्न गर्ने गरिएको छ । तर, सेयरको अनलाइन कारोबार सुरुगर्ने डा. कार्कीको काम प्रशंसनीय छ ।

यस्तै, उच्च रकमको सेयर कारोबार सम्भव गराउने अर्का पात्र देवप्रकाश गुप्ता हुन् । सीडीएससीका तत्कालिन प्रमुख कार्यकारी अधिकृत गुप्ताले बजारको मागभन्दा अघि बढेर सीडीएससी लागू गराए ।

सीडीएससीलाई तत्काल लागू गराउन बोर्डका उच्च अधिकारी पनि तयार थिएनन् ।

‘गुप्ताजी अलि हतार गरिरहनु भएको छ, उहाँ फाष्ट हुनुहुन्छ, बजारको स्पीड र उहाँको स्पीड मिलिरहेको छैन, उहाँमा देखिएको हतारोले शंका गर्ने ठाउँ पनि दिएको छ,’ सीडीएससी लागू गराइहाल्ने गुप्ताको प्रयास र बजारमा देखिएको अन्योलताप्रति इगित गर्दै त्यतिबेला धितोपत्र बोर्डका एक उच्च अधिकारीले भनेका थिए ।

तर, गुप्ता रोकिएनन् । उनले सीडीएससी लागू गराएरै छोडे । डिम्याट नभएको सेयरको सेटलमेन्ट नगर्ने भनेर सार्वजनिक सुचना नै प्रकाशित गरे । सुरुमा लागू गरिएको आश्वा प्रणाली प्रभावकारी नभएपछि गुप्ताले नै ‘मेरो सेयर’ नामक एप बनाए । सोही एपको प्रयोग गरेर अहिले जुनसुकै बेला पनि आईपीओ भर्न पाइन्छ । सेयर कारोबारको सेटलमेन्ट सफ्टवयर प्रणालीले स्वतः गर्छ ।

‘म्यानुअल सेटलमेन्ट गर्दा हामी रातभर बसेर काम गथ्र्याैं, विलहरु जम्मा पार्यो, सबै म्यानुअल्ली हेर्यो, कहिले हिसाव मिल्दैनथ्यो, यताको विल उता पथ्र्याे, उताको विल यता पथ्र्याे, साह्रै समस्या हुन्थ्यो, भनेको समयमा काम पनि सकिदैनथ्यो, गाह्रो थियो,’ अनलाइन सेटलमेन्ट प्रणाली सुरु हुनुअघिको स्मरण गर्दै सीडीएससीका एक कर्मचारीले भने ।

भारतमा कम्प्युटर साइन्स पढेका गुप्ता व्यवस्थापन संकायमा अहिले विद्यावारिधि गर्दैछन् । अध्ययनपछि भारतका विभिन्न वित्तीय संस्थाहरुमा कम्प्युटर सफ्टवयर निर्माण र व्यवस्थापन तहमा काम गरेर नेपाल फर्किएका गुप्तालाई धेरैले हडबढे स्वभावका व्यक्तिका रुपमा पनि चिन्छन् । तर, उनको हडबढे स्वभाव सुधार गर्ने हुटहुटीका कारण जागेको रहेछ भन्ने कुरा अहिले पुँजी बजारले स्वकार गरेको छ ।

पुँजी बजारमा देखिएका सुधारमा धेरै व्यक्तिको अहम् भूमिका छ । तर, नेतृत्व तहमा बसेर छिटै कार्यान्वयनको लागि पहल गर्ने डा. रेवतबहादुर कार्की र देबप्रकाश गुप्तालाई अहिले नेपाली पुँजी बजारले पुनः स्मरण गरेको छ ।

Share News