काठमाडाैं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार नेप्से परिसूचकले नयाँ इतिहास कायम गरेको छ । साताको चार दिन बजार उच्च अङ्कले बढ्यो भने एक दिन सामान्य गिरावट भयो । सातामा नेप्से परिसूचक १९७.६० अङ्कले बढ्यो ।सोमबार नेप्से १.९६ ले घट्यो । नेप्से झिनो अङ्कले घटे पनि कारोवार रकम भने तीन अर्ब माथि रह्यो । सो दिन कूल १७९ कम्पनीका कूल ८३ लाख ४८ हजार २३४ कित्ता शेयर रु तीन अर्ब ४१ करोड पाँच लाख १६ हजार २७८ बराबरको कारोवार भए ।
सोमबार केही गतिरोध आएको बजारमा मङ्गलबार भने भारी सुधार देखियो । उक्त दिन नेप्से ४३.०२ ले बढ्यो । नेप्सेको उच्च अङ्कको वृद्धिसँगै कारोवार रकममा समेत वृद्धि भयो । कूल १८० कम्पनीका ७० लाख ५९ हजार ७१२ कित्ता शेयर रु दुई अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर खरिदक्रिी भए ।
धितोपत्र बजारमा नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम बुधबार पनि जारी रह्यो । सो दिन नेप्से परिसूचक ५०.९३ अङ्क बढ्यो । बुधबार कूल १८० कम्पनीका ९९ लाख छ हजार ९८९ किता शेयर रु चार अर्ब १५ करोड ४८ लाख ८३ हजारमा कारोबार भए ।
साताको अन्तिम दिन नेप्से ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुग्यो । बिहीबार कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भए । रासस