
काठमाडौं । कोरोना त्रासका कारण सेयर बजारमा उच्च गिरावट आएको छ । कारोबार खुलेको पहिलो एक घण्टामा नै ४ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लगाउनु परेको थियो ।
२० मिनेट कारोबार बन्द गरी खुलेको बजारमा १० मिनेटमा नै ५ प्रतिशतको गिरावट आएपछि १२ः३० मा दोस्रो पटकका लागि सर्किट ब्रेक भएको छ ।
लगातार चार दिन बन्द पछि मंगलबार खुलेको बजारमा पहिलो एक घण्टामा नै नेप्से परिसूचक ५७.३६ अंकले गिरावट आएको छ । १२ः ३० हुँदा नेप्से ७२ अंकले घटेको छ । सबै समूहका परिसूचकमा गिरावट आएको छ ।
सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ६१० अंकले घटेको छ । त्यस्तै, निर्जीवन बीमा समूहको परिसूचक ३१२ अंकले घटेको छ । मूल्य घटे पनि मध्यान्न १२ः३० बजे अघि नै ९१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कोरोना भाइस संक्रमणले महामारीको रुप लिएपछि विश्व बजारमा सेयर बजारमा उच्च गिरावट देखिएको छ । नेपालमा संक्रमणले ठूलो रुप लिएको त छैन, तर लगानीकर्तामा निकै त्रास देखिएको छ ।