काठमाडौं । बिहिबार प्रतिनीधिसभाको बैठकमा सासंदहरुले सेयर बजार सम्बन्धि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरुले सेयर बजारमा कालोबजारी बढेकोदेखि सेयर बजार नै बन्द गर्नु पर्ने आवाज उठाएका छन् ।
बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको बताएका छन् । उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेको र यो उत्पादनमूलक पनि नभएकोले यसलाई बन्द गर्नु पर्ने माग गरेका हुन् ।
‘कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनायो, यसलाई बन्द गरेर मान्छेलाई परिश्रम गर्नेमा जोड दिनुपर्छ, यो उत्पादनमुलक पनि भएन,’ उनले भने ।
प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको सैद्दान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
यस्तै, धितोपत्र सम्बन्धि विधेयकको पहिलो संसोधनको सैद्दान्तिक पक्षको बहसमा भाग लिँदै सांसद गजेन्द्र महतले पनि सेयर बजारमा कालोबजारी बढेको बताए । उनले सेयर बजारमा कालोधन बढ्दै गएकोले पनि पछिल्लो समय घट्दै गएको बताए ।
‘बजारमा कालोबजारीका कारण सेयर बजार बढ्न सकेन, यसमा धेरै चलखेल भएको छ, यो प्रवृतिलाई रोक्नु पर्छ’, उनले भने ।
बुधबार उकालो लागेको बजार बिहीबार काराेबार शुरू भएदेखि निरन्तर घटेको छ । १४२४ अंकदेखि कारोबार शुरु भएको बजार घटेर न्युनतम १३८४ अंक सम्ममा झरेको छ । कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।