काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट नेपाल र नेपालीलाई बचाउन खानेपानी तथा सरसफाईको क्षेत्रले गर्नुपर्ने कामका सम्बन्धमा स्मार्ट वास सोलुसन्स प्रा.लि.ले सरोकारवालाहरुसंग भिडियो कन्फरेन्स सम्पन्न गरेको छ । भिडियो कन्फरेन्समा सहभागी भएका विज्ञहरुले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सामाजिक दूरी कायम गर्नका साथै हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै यसका लागि पर्याप्त सुरक्षित पानीको उपलब्धता सुनिश्चित हुनुपर्ने कुरामा जोड दिए ।
उक्त भिडियो कन्फरेन्सका सहभागीहरुले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणसंगै नेपालले गर्मी याममा बर्षेनी फैलिने रोगहरुको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा सहभागी पूर्व सचिव ई। सुमन शर्माले भने, ‘विश्वमा महमारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको नियन्त्रण,रोकथाम र उपचार अहिलेको ठूलो चुनौती हो । त्यसका लागि युद्धस्तरमै लाग्नु पर्दछ । तर गर्मी याममा नेपालमा हरेक बर्ष विभिन्न संक्रामक रोगहरु देखिने गरेका छन् । तिनको रोकथाम,नियन्त्रण र उपचारको लागि पनि सरकारले उत्तिकै तयारी गर्न आवश्यक छ ।’
भिडियो कन्फरेन्समा काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले क्वारेन्टाइनमा बस्नेहरुका लागि पर्याप्त गुणस्तरीय पानी उपलब्ध गराउनुपर्र्ने बताए । उनले कोरोना भाइरसबाट बच्न सफा पानी र सावुन वा स्यानेटाइजरले हात धुनुपर्ने सन्देश पुगेको भएपनि सरकारले पानी नै पुर्याउन नसकेको उदाहरण दिदै भने, टोलटोलमा ट्रयाड।की राखिएको छ तर ती रित्ता छन् । सरकारले बनाएका क्वारेन्टाइनमा न पर्याप्त संख्यामा ट्वाइटेल देखिन्छ, न पानीको लागि ट्रयाड।की छन् न त साबुनको नै राम्रो व्यवस्था छ । तिनको अनुगमन गर्नुपर्ने खाँचो छ ।
प्राध्यापक शर्माले भने, ‘अल्कोहल भएको सानिटाइजरले हात धुनुपर्छ भनेपछि धेरै उत्पादकले बजारमा स्यानिटाइजर ल्याए, जसलाई इथाइल र मिथाइल बिचको फरक नै थाहा रहेनछ । कोरोनाको भाइरसलाई ६० देखि ९० प्रतिशत इथाइल अल्कोहल मिसिएको स्यानिटाइजरले निसंक्रमित गर्न सक्छ । त्यसमा आइसोप्रोपाइल मिसाउदा अझ प्रभावकारी हुन्छ । तर बजारमा फरक किसिमका स्यानिटाइजर आए । त्यसमा हामीले निगरानी गर्न सकेनौं ।’
कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई सावुन वा स्यानिटाइजर पानीले हात धोएर निस्क्रिय पार्न सकिने भएकोले यसको नियन्त्रणमा खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत जनशक्तिको पनि महत्वपूर्ण भूमिका देखिएको बताए ।
आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी तथा ढल निकास विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिहरुको महत्वपूर्ण भूमिका रहेको बताए। आम नागरिकलाई स्वच्छ,सुरक्षित र पर्याप्त पानी उपलब्ध गराउन नगर तथा गाँउपालिकाहरुलाई सक्षम बनाउन आवश्यक रहेको पनि उल्लेख गरे । उनले गर्मीको समयमा नेपालमा धेरै संक्रामक रोगहरु फैलिने उल्लेख गर्दै तिनीहरुको रोकथामको पूर्वतयारीमा पनि ध्यान दिन आग्रह गरे ।
भिडियो कन्फरेन्समा स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहले स्वास्थ्य र सरसफाईको लागि स्वच्छ र सुरक्षित पानी आवश्यक भएको बताए। उनले कोरोना संक्रमणबाट बच्न पटकपटक साबुन वा स्यानिटार पानीले हात धुन पनि पर्याप्त सुरक्षित पानी चाहिने बताए । उनले पानी आपूर्तिका लागि धारा काटिएको भए जोड्न पर्ने, विपन्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्ने, स्वास्थ्योपचारबाट निस्कने फोहरमैलाको सुरक्षित तवरले बन्दोबस्त गर्नुपर्ने सुझाव दिदै भने, ‘पर्याप्त सुरक्षित पानीको आपूर्तिको लागि वित्तीय व्यवस्था गर्न अर्थमन्त्रालयसंग समन्वय गर्न र पानी आपूर्तिको व्यवस्था मिलाउन खानेपानी मन्त्रालयले नेतृत्व लिनुपर्दछ ।’
कार्यक्रमका अर्का सहभागी वाटर एडका अनिल थमनले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले आफूहरुले कन्ट्याक्टलेस ह्याण्ड वासिड सेन्टर (स्वचालित हात धुने केन्द्र) सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । उनले ललितपुर महानगरपालिकाबाट यसको शुभारम्भ हुने उल्लेख गर्दै निकट भविष्यमा नै ७५ स्थानमा यसको स्थापना गरी आवश्यकता अनुसार विस्तार गरिने पनि बताए।
कार्यक्रमका अर्का सहभागी पूर्वमन्त्री तथा प्राज्ञ दीपक ज्ञवालीले मानिसको जीवनसंग प्रत्यक्ष जोडिएको पानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाहरुको बीचमा सार्वजनिक बहस गर्ने मञ्चहरुको अभाव खड्किएको बताए । पूर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री ईञ्जिनियर गणेश साहले सञ्चालन गरेको सो कार्यक्रममा खानेपानी तथा सरसफाईको क्षेत्रका प्राध्यापक, अनुसन्धान कर्ता र नीति निर्माता,सञ्चारकर्मी,सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
मोबाइलको सीआरबीटीमा विविधता ल्याउन सुझाव
कोरोना रोग निणन्त्रणमा खानेपानी तथा सरसफाई क्षेत्रको भूमिकाका सम्बन्धमा छलफल गर्न आयोजना गरिएको भिडियो कन्फरेन्समा वाटर एडका अनिल थमनले कोरोना संक्रमण सुरुभए यता नेपाल टेलिकमले आफना ग्राहकको मोबाइलमा बजाउने गरेको सीआबीटी एकैखालको सन्देश निरन्तर आउदा सुन्नेलाई पट्टयार लागेको बताए । उनले भने, ‘जसरी कुनै पनि औषधीको कम वा बढीमात्रा दुवै उचित मान्न सकिदैन, रोगको सन्दर्भमा दिइने सन्देश पनि त्यस्तै हो । यो सन्देश सबैकहा पुगीसक्यो । सन्देश छोटो होस् । विविधता होस् ।’
पूर्वसचिव सुमन शर्माले छोटा सन्देशहरु अनियमित तवरले बज्ने व्यवस्था पनि गर्न सकिने बताए । पूर्व प्राज्ञ दीपक ज्ञवालीले सीआरबीटीबाट जनउपयोगी सन्देशहरु दिने संबन्धित निकायको ध्यानाकृष्ट गराउन आग्रह गरे। कार्यक्रमको सञ्चालन गरेका पूर्वमन्त्री ई.गणेश साहले आफूले यो विषय नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका महाप्रबन्धक कहा पुर्याउने बचन दिए ।