
कोरोनाको कहरसँगै सबै देशको सेयर बजार ओरालो लाग्यो। कोरोना संक्रमणबाट बच्न र नियन्त्रण गर्न लकडाउन नै एक मात्र र अन्तिम बिकल्प भए पछि संसारले नचाहेर पनि लकडाउनमा जानू पर्यो। वस्तु ओसार पसार र मानिसको आवागमन ठप्प भए पछि सेयर बजार पनि बन्द हुने नै भयो ।
नेपालमा चैत १० गतेबाट बन्द भएको सेयर बजार क्रमश थपिदै बैशाख २५ गते सम्म पुगिसकेको छ । ४५ दिन लगातार सेयर बजार बन्द हुँदै गर्दा लगानिकर्तामा छटपटि बढदै गईरहेको छ । लकडाउनमा गएका कतिपय देशका सेयर बजार खुल्दै गएका छन् । नेपालको बन्द सेयर बजार प्रति अन्तराष्ट्रिय चासो पनि बढन थाले पछि लगानिकर्ता, ब्रोकर, नेप्से र नियामक निकाय पनि सक्रिय हुन थालेका छन् र सबै जसो सेयर बजार खोल्नु पर्छ भनी लबिंगमा लागेको पाईन्छ ।
लगानीकर्ताको मानसिकता:
सेयर बजारमा करिब करिब १८ लाख भन्दा बढि शेयरधनीको लगानी छ । संख्याको हिसाबले ९० प्रतिशत भन्दा बढि साना लगानिकर्ताहरु छन् । सानो सानो पुँजी सेयरमा लगानि गरि नाफा कमाउने र खाचो परेको बेला बेचेर काम चलाउने प्रकृतिका लगानिकर्ता बढि छन् । पटक पटकको लकडाउन थपिए संगै तीनमा छटपटाहट बढदै गएको छ। उद्याेग व्यवसाय सबै बन्द छ, अधिकान्स व्यवसायीको केही न केही शेयरमा लगानी छ । नगद प्रवाह नभएको अवस्थामा सोहि शेयर बिक्रि गरि काम चलाउन खोज्नेको पनि हात बाधिएको छ । त्यसैले सबैको ध्यान शेयर बजार तिर छ ।
अहिले सेयर बजार खोल्ने र नखोल्ने बिचको बहस व्यापक हुँदै गएको छ। शेयर बजारका पंडितहरु,ब्रोकरहरु, ठुला लगानिकर्ताहरु कसै गरि पनि बजार खोल्नु पर्छ भन्ने लबिङंमा छन्। फागुनमा ईण्डेक्स १६३२ हुदा सेयर बेचेर बसेकाहरु घटेको बजारमा किन्ने दाउमा छन् । कोरोनाको त्रासमा बजार लकडाउन अघि १२५१ पुगेको र खुलेपछि पुन: घटने अनुमान गरेकाहरु जसरि नि बजार खोलाउन मरिहत्ते गरिरहेका छन् । ठुला लगानिकर्ता जो उद्याेगी व्यवसायी पनि छन् ती चाहिँ बजार खुलेपछि शेयर बाक्रि गरि आफ्नो खर्च धान्न र व्यवसायको चालू पुँजी जोहो गर्ने शुरमा छन् । खरिद बिक्रि दुबैमा कमिशन कमाउने ब्रोकरहरुको आम्दानी शून्य भएकोले उनीहरुलाई निन्द्रा लाग्न छोडेको छ। उनीहरु पनि कसैगरि बजार खोल्ने लबिङमा लाग्नु स्वभाविकै हो । ठुला लगानिकर्ता, सेयर पंडित, ब्रोकर तथा अन्तराष्ट्रिय दबावको अगाडि नेप्से र नियामक निकाय सरकारको स्पष्ट निर्देशन नआएको कारण असहाय देखिन्छन्।तर पनि फेस सेभिङको लागि बजार खोल्नेहरुको कित्तामा उभिएका छन् ।
तर अर्को तिर रहेका लाखौ साना लगानीकर्ता जो जहिले पनि बढ्दो बजारमा लोभमा परेर उच्च दरमा किन्ने गरेका छन ती सबै एकदम त्रासमा छन् । देशको समग्र अर्थ ब्यवस्था ध्वस्त भएको बेला बजार खुलेमा बढने सम्भावना प्रति बिस्वस्त नभएका ती साना लगानीकर्ता कहि बजार क्र्यास भएर आफ्नो पुँजी नै डुब्ने त हैन भनी भयभित छन् । तेसैले केही ठोस संकेत नआई लकडाउन भरि बजार खुल्नु हुँदैन भन्ने मनासिकतामा छन् ।
बजार खोल्नु पर्छ पछाडिको तर्कहरु:
ठुला लगानिकर्ता, ब्रोकर, नेप्से, नियामक निकाय समेत बैशाख २५ पछि लकडाउन होस् या नहोस् जुन अवस्थामा भए पनि निम्न कारणले सेयर बजार खोल्नु पर्छ भनिरहेका छन् ।
एक, बजार खुलेपछि संक्रमण अवस्थामा पनि लगानी गर्ने उपयुक्त स्थान सेयर बजार नै भएकोले लगानीकर्ता उच्च मनोबलका साथ खरिद बिक्रिमा लाग्ने छन् ।
दाेश्राे, विश्व परिवेशमा लकडाउन पछि खुलेका अधिकांश देशका सेयर बजार बढेको छ, नेपालको बजार नि बढ्ने छ।
तेश्राे, नेपालको सेयर कारोबारको ८० प्रतिशत भन्दा बढि हिस्सा बैंक, विकास बैंक, लघुवित्त कम्पनी, बीमा कम्पनीहरुको रहेको छ। यी सबै नाफामा रहने भएकोले बजार घटने संभावना रहेकाे छैन ।
चाैथाे, कोरोनाको प्रारम्भसँगै फागुनको मध्य तिर रहेको सेयर ईण्डेक्स १६३२ र कारोबार रकम ४ अर्ब ८४ करोड थियो ।कोरोना असर बढ्दै जाँदा घटेर १२५१ र रकम १९ करोड ४६ लाख भैसकेकोले कोरोना करेक्सन पहिले नै भैसक्यो । अब पुन: घट्ने संभावना नरहेको उनीहरूकाे बुझाइ छ ।
पाँचाैं, लकडाउन अवधिमा कर्जा प्रवाह नभई बैंकहरुमा तरलता बढने र र बढेको फण्ड सजिलो, छिटो र सुरक्षित तरिकाले कर्जा प्रवाह गर्ने क्षेत्र सेयर नै भएकोले थप कर्जा प्रवाह हुने छ ।
छैटाैं, बिगतको ईतिहास हेर्दा पनि बियरिस ट्रेण्ड पछि बुलिस ट्रेण्ड आउने भएकोले अब बजार बढने सम्भावना रहेको छ ।
साताैं, अर्थतन्त्र सोचनीय अवस्थामा भएकोले सेयर बजारप्रति सरकारको पनि सकारात्मक प्रयास रहने र संस्थागत लगानीकर्ता नि प्रवेश गरि बजारलाई तल आउन नदिने रहेकाे छ ।
बजार खोल्न हुन्न पछाडिका तर्कहरु:
कोरोना समस्याको प्रभावकारी र ठोस व्यवस्थापन नगरि बजार खोल्दा क्रयास हुने सम्भावना र यसबाट लाखौं सोझा साझा लगानिकर्ताको लगानी डुब्ने डरलाई नि बिचार पुर्याउनु जरुरी छ।
एक, भारत लगायत विकसित देशको सेयर बजार पुर्णत स्वचालित भई सकेकोले घर घरबाट कारोबार गर्न सक्ने भएकोले लकडाउनमा पनि कारोबार संचालन गरे। हामी कहाँ सेयर अर्डर र ईडिआईएसबाट सेयर ट्रान्सफर बाहेक सबै म्यानुअल तरिकाले सम्बन्धित कार्यालयमा गएर गर्नु पर्ने भएकोले लकडाउन हुन्जेल कारोबार गर्न गराउन सम्भव नै छैन ।
दाेश्राे, अमेरिका भारत लगायत धेरै देशले करोनाको कारण ध्वस्त अर्थ ब्यवस्थालाई पुनरोत्थान गर्न राज्यको ढुकुटीबाट अर्बौ खर्बौ स्टिमुलस(नगद) लगानी गर्ने घोषणा गरे । लकडाउन पछि बजार खोल्दा ईण्डेक्स बढेको देखियो । भारतीय रिजर्भ बैंकले ५० हजार करोड, अमेरिकाले १ खर्ब डलर, मलेशियाले ४.६ अर्ब डलर, टर्किले १५.४ अर्ब डलर, ईटलीले २७.३ अर्ब डलर जस्तै प्राय:धेरै देशले उद्याेग व्यवसाय र बेरोजगारलाई राहत दिने भए । हामी कहाँ लकडाउन भएको ४० दिन भईसक्दा पनि सरकार र केन्द्रिय बैंक उद्याेग व्यवसाय र पीडित बर्गलाई बचाउन राहतको ठोस कार्यक्रम र थप लगानीको घोषणा गर्न सकेका छैनन् । अनि के आशामा बजार खुले पछि बढने हो, क्रयास नै हुने धेरै सम्भावना रहेको छ।
चाैथाे, सेयर कारोबार पोर्टफोलियोको ८० प्रतिशत बैंक, विकास बैंक, फाईनान्स कम्पनी, लघुवित्त, र बीमा कम्पनीको छ । अहिलेसम्म हेर्दा सुरक्षित देखिन्छन् । सबैको अनुमान बजार खुल्दा यी कम्पनीको सेयर मूल्य घट्दैन । ११ चैतबाट लकडाउन भएकोले पहिलेको मुनाफा र प्रोभिजनमा चलखेल गरि तेश्रो क्वाटरको बैलेन्सिट राम्रो आउला । तर ऋणको ब्याज दर कटौती, शून्य सावा ब्याज असुली, अन्य जिरो आम्दानी र लकडाउन पछिको चेन असरले २०७७ आसारमा प्रोभिजनमा चलखेल गरिएन भने सबैको वित्तीय अवस्था नाजुक हुने निश्चित छ । त्यसैले, २०७६ चैतको बासलात हेरि सेयर खरिद गर्ने सबै फस्ने पक्का छ । अनि खुलेको बजारमा टाठा बाठा बिक्री गरि निस्कने र फस्ने चाहिँ उही सोझो साना लगानिकर्ता नै हुने छन् ।
बजार खुलाउने र टिकाउने उपायहरु:
सेयर बजारमा माग र आपूर्तिले कारोबारको मात्रा र ईण्डेक्सलाई निर्धारण गर्ने हो । माग राम्रो हुनलाई कम्पनीकाे परफरमेन्स, ईमेज र प्रतिफल राम्रो हुनु जरुरी छ । पुँजीबजार प्रति नियामक र सरकारको सकारात्मक सोच र सोही अनुसार नीति र कार्यक्रम आउनु पर्छ। अनि समग्रमा देशको अर्थतन्त्रको भविष्य राम्रो देखिनु पर्छ। विकसित मुलुक जस्तो सेयर बजार हामी कहाँ अझै परिपक्व हुन सकेको छैन । नियामक निकाय र मन्त्रीहरुले न सोचेर जे पनि बोलिदिने, कम्पनीहरुको भित्री सूचनाको गलत तरिकाले प्रयोग हुने, सेयर खेलाडीहरु नै सञ्चार माध्यममा बनावटी समाचार निकाल्न लगाई सेयर कारोबारलाई प्रभावित गर्ने कार्य हामी कहाँ सामान्य कुरा भैसकेको छ । त्यसैले यी सबै कुराहरुलाई बिचार गरि लकडाउन खुले पछि मात्र निम्नानुसार वातावरण नि बनाउँदै जाने र सुरुमा सिमित कारोबार गर्दै लगानिकर्ताको मनोबल बढाउँदै कारोबार वृद्धि तर्फ लाग्नुमा नै सबैको हित छ।
एक, केन्द्रीय तथ्यांक बिभागले हालै मात्र ८ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष कोरोनाको कारण २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । भन्नुको अर्थ कृषि बाहेक सबै क्षेत्र गम्भिर संकटमा पर्ने देखिन्छ। कोरोना प्रभावित देशले अर्थतन्त्र उकास्न जीडीपीको १४ प्रतिशतसम्मको स्टिमुलस लगानी गरेका छन् । नेपालले पनि कुल जीडीपी ३२ खर्ब ९ अर्ब रूपैयाँको ३ प्रतिशत बराबर १ खर्बको राहत प्याकेज बैंक, उद्याेग व्यवसाय, बेरोजगार ब्यक्ति, कृषक र श्रमिकको लागि घोषणा गर्नु पर्छ। यसले लकडाउन पछि खुल्ने सेयर बजारलाई उकास्न मदत गर्छ ।
दाेश्राे, सेयर कारोबार पुर्णत स्वचालित गर्ने भनेको पनि लामो समय भैसक्यो । अब निश्चित समय तोकेर बैंक, ब्रोकर, लगानीकर्ता, डीपी, सिडिएससि र क्लियरिङ बैंक खातासंगको ईन्टिग्रेशन छिटो गर्ने र आईपीएस भुक्तानीको सिमा बढाउन प्रयास गर्नु पर्ने छ ।
तेश्राे, सबै लगानीकर्ताको मेरो सेयरमा खाता खोल्न लगाउने र खाता हुनेको १०० रूपैयाँ लिएर गरिने नविकरण यो पटकलाई स्वतःगर्ने वा आसार भित्र शुल्क लिने गरि गर्न सकिन्छ ।
चाैथाे, सेयर कारोबार बढाउन बैंक कर्जाको ठूलो भूमिका हुन्छ । ६५ प्रतिशतसम्म कर्जा र २० प्रतिशत घटदासम्म मार्जिन कल नगर्ने व्यवस्था रहेको छ । सेयर कर्जाको जोखिममा बैंकलाई पनि सुरक्षित राख्ने गरि हालको सेयर मूल्यको रकममा सावा ब्याज गरि ८० प्रतिशत भित्र हुने गरि नविकरणको सुबिधा दिनु पर्नेछ । थप सेयर कर्जा दिन नेपाल राष्ट्र बैंकले सरल प्रक्रियाको निर्देशन जारि गर्नु पर्ने छ ।
पाँचाै, विकसित देशमा नगद लाभांशले सेयर मूल्य बढ्छ भने हामी कहाँ बोनस सेयरले बजार बढाउँछ । कोरोनाको असरबाट बैंकिङ क्षेत्रको वित्तीय सन्तुलन कायम राख्न तथा तरलताको कमी हुन नदिन भारतको केन्द्रीय बैंकले नगद लाभांशमा रोक लगाई सक्यो । नेपाल राष्ट्र बैंकले बैकिङ क्षेत्रमा, बीमा समितिले बीमा कम्पनीमा र सरकारले दुरसञ्चार, नागरिक लगानि कोष लगायतमा नगद लाभांश वितरणमा रोक लगाउनु पर्छ । बोनस सेयरको आशामा बजार घटन पाउँदैन ।
छैटाैं, लकडाउन पछि सेयर बजार पूर्ण रुपमा खोल्दा कोरोनाको भयावह असरको कारण अझै क्रयास हुने ठूलो सम्भावना छ । संकटको अवस्थामा नियन्त्रित कारोबार गर्नु उत्तम हुन्छ । अत: पहिलो हप्ता १ घण्टा कारोबार समय र एक व्यक्तिले प्रतिकम्पनी ५०० कित्ता खरिद बिक्रि गर्ने, दोश्रो हप्ता २ घण्टा १००० कित्ता, तेश्रो हप्ता ३ घण्टा ३००० कित्ता र चौथो हप्ता देखि पूर्णकालिन खोल्दा असर कम हुँदै जान्छ र संभावित क्रयासलाई रोक्न नि सकिन्छ । १० प्रतिशतको सर्किट ब्रेकरलाई केहि समय ५ प्रतिशतमा राखि अनुगमन र नियन्त्रण गर्न सकिने छ ।
साताैं, सेयर बजारमा लगानीकर्ताको मनोबल उठाउन र बजारलाई गिर्नबाट जोगाउन संस्थागत लगानिकर्ता, डिलर, मार्केट मेकर, म्यचुअल फण्ड, बीमा कम्पनी, सञ्चयकोष लगायतलाई लगानी गर्न प्रोत्साहन गर्ने तथा सरकार र राष्ट्र बैंकले नीति नियम बनाउँदा सेयर बजारलाई सपोर्ट हुने गरि बनाउने र सकारात्मक रुपमा सार्बजनिक धारणाहरु राख्नु पर्ने देखिन्छ ।
आठाैं, सरकारको राजस्वको श्रोत कम हुँदै गएको छ । पुँजीगत लाभ कर घटाउन न सकिए पनि व्यक्तिगत लगानीकर्ताको अग्रिम काटिएको करलाई अन्तिम मानिने ग्यारेन्टी गर्दा पनि लगानीकर्ताको मनोबल बढ्ने देखिन्छ ।
यसरी समग्रमा भन्नु पर्दा देशको ढुकुटीबाट उद्याेग व्यवसाय, बैंक र अन्य क्षेत्रलाई ठोस राहतको घोषणा गरि शुरुको केही दिन नेप्सेमा नियन्त्रित कारोबार गरि क्रमश: बढाउँदै लग्दा क्रयास हुनबाट जोगाउँछ र लगानीकर्ताको मनोबल पनि बढि सबैको हित हुने देखिन्छ ।