धादिङको धार्के र काभ्रेको पाँचखालमा २ रुपैयाँ केजीमा पाइने तरकारी काठमाडौंमा कति पर्छ ?

<p>काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य अति न्युन भएको छ । लकडाउन अगाडी प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री हुने गोलभेडाँको मूल्य अहिले प्रतिकेजी १५ देखि २० रुपैयाँ रहेको छ । स्थानीय तहमा कृषिजन्य बस्तु उत्पादन गरिरहेका किसानले भने प्रतिकेजी २ देखि ५ रुपैयाँमा पनि तरकारी विक्री गरिरहेका छन् । काठमाडौं उपत्यकामा तरकारीको मूल्य [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय बजारमा तरकारीको मूल्य अति न्युन भएको छ । लकडाउन अगाडी प्रतिकेजी ६० देखि ७० रुपैयाँमा बिक्री हुने गोलभेडाँको मूल्य अहिले प्रतिकेजी १५ देखि २० रुपैयाँ रहेको छ ।

स्थानीय तहमा कृषिजन्य बस्तु उत्पादन गरिरहेका किसानले भने प्रतिकेजी २ देखि ५ रुपैयाँमा पनि तरकारी विक्री गरिरहेका छन् । काठमाडौं उपत्यकामा तरकारीको मूल्य कम भएपनि किसानले बेचेको भन्दा निकै गुणा बढीमा तरकारी विक्री भइरहेको छ ।

धादिङको थाक्रे गाँउपालिकामा केही दिन अगाडी धेरै तरकारी नष्ट गरिएको थियो । तर, अहिले कम मूल्यमा केही तरकारी उपत्यका आउने गरेको उपप्रमुख अम्बिका रुपाखेतीले जानकारी दिइन ।

दैनिक ३ गाडी तरकारी कालिमाटी तरकारी बजार व्यवस्थापन गर्ने आग्रामय संयुक्त कृषि फार्मका संचालक केशव रुपाखेती कोरोना संक्रमणसँगै बजारमा तरकारी खपत नहुँदा कृषकहरु मर्कामा परेको बताउँछन् ।

थाक्रे गाँउपालिका ११ मा करिब ३० रोपनी जग्गामा २ वर्ष यता तरकारी खेती गर्दै आएका रुपाखेतीले सरकारले लकडाउन गर्दा किसानले काउली, बन्दा, काक्रो,भेडेखुर्सानी, करेला जस्ता तरकारी १० रुपैयाँ प्रतिकेजीमा बिक्री गर्नु परेको जानकारी दिए ।

‘कोरोना संक्रमण हुनु अगाडी थाक्रे गाँउपालिकाबाट कम्तीमा १० वटा गाडीमा तरकारी कालिमाटी तरकारी बजार भित्रिने गर्थे तर अहिले त्यो अवस्था रहेन’ उनले भने ।

हाल मुस्किलले २ वटा सानो गाडीमा तरकारी काठमाडौं आउने उनले बताए ।

अगाडी नै उत्पादित कृषिजन्य सामग्री विक्री नभएर आर्थिक भार खेपिरहेका किसानले नगदेवालीको सिजन सकिँदै जाँदा अन्नबाली लगाउने बेला मल नपाउने डरसँगै फौजी किरा देखिएपछि झन समस्यामा रहेका रुपाखेतीले बताए ।

काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाबाट दैनिक सय गाडीभन्दा बढी तरकारी कालिमाटी तरकारी बजार आउने गर्थे भने हाल कोरोनासँगै २ गाडी तरकारी कालिमाटी तरकारी बजार भित्रिने गरे उपप्रमुख लक्ष्मी दनुवारले बताइन् ।

प्रतिक्रेट १५ सय रुपैयाँमा बिक्री हुने टमाटर अहिले २ सय रुपैयाँमा बिक्री गर्न पनि गाह्रो रहेको उनले बताइन ।

‘काउली, करेला, भेडेखुर्सानी लगायतका तकारीहरु प्रतिकेजी १० देखि १५ रुपैयाँ बिक्री भइरहेको छ’ उनले भनिन् ।

तरकारीको मुख्यबजार कालिमाटी भएकोले त्यहाँ ल्याउनको लागि ढुवानी समस्या झेल्नु पर्ने गुनासो किसानहरुले गर्दै आएका छन् । एकातिर तरकारीको खपत कम हुनु र अर्काेतिर अति न्यून मूल्यमा पनि तरकारी बिक्री गर्न नपाउँदा धेरै तरकारी नष्ट भइरहेको अवस्था रहेको उपप्रमुख दनुवारले बताइन् ।

ठूलो मात्रामा तरकारी उत्पादन हुने मकवानपुर जिल्लाको थाहा नगरपालिकामा कोरोनाले कृषकहरु मारमा रहेको त्यहाँका उपप्रमुख खड्गबहादुर गोपाली जानकारी दिए ।

अधिकांश कृषकले तरकारी बाली लगाउँदै आउने सो स्थानमा यस वर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले लकडाउन गर्न परेसँगै उत्पादित तरकारले बजार नपाउँदा कृषक मारमा रहेको नगरपालिकाका उपप्रमुख गोपालीको भनाइ छ ।

‘बजारमा ५० देखि ५५ रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको काउलीको भाउँ किसानकोमा ४÷५ रुपैयाँ छ, बजारमा २० रुपैयाँ प्रतिकेजीको गोलभेडा २÷३ रुपैयाँमा बिक्री भइरहेको छ’ उनले भने ।

हाल किसानको लगानी उठ्ने उठ्ने अवस्था नै नरहेको भन्दै उनले लगानी उठ्नका लागि प्रतिकेजी कम्तिमा पनि ८ रुपैयाँमा बिक्री हुनु पर्ने तर अहिले त्यो अवस्था नरहेको उपप्रमुख गोपालीले बताए ।

केही दिनयता मकवानपुर कै अन्य पालिकाहरुमा तरकारी अति नै कम मूल्यमा फ्याल्नुभन्दा भनेर काउली, बन्दा, मुला प्रतिकेजी ३ देखि ५ रुपैयाँसम्म विक्री गर्दै आएको र कतिपय तरकारी खाल्डो खनेर पुरेको अवस्था रहेको उनले जानकारी दिए । पहिला पहिला थाहा नगरपालिकाबाट दैनिक कम्तीमा २० देखि २५ गाडीसम्म तरकारी उपत्यका भित्रिने गरेको थियो ।

पछिल्लो समय लकडाउनले ग्रामीण भेगका कृषकले उत्पादन गरेको तरकारी बजारमा ल्याउन त समस्या छ नै तर उपत्यका नजिक भित्रका किसान उत्पादनले उचित बजार र मूल्य पाउन सकेको छैन ।

काभ्रे जिल्लाको पनौती नगरपालिकाका स्थानीय किसानले यस बर्ष असिनापानीले ठूलो क्षति वेहोरेका छन् । कोरोनाको महामारीसँगै बजारमा कृषकले उत्पादन गरेका कृषिजन्य सामग्रीको मूल्य अति कमी आएको छ ।

‘अधिकांश कृषिजन्य उत्पादन असिनापानीले खायो भने टनेलामा रहेका तरकारी बाली कृषि सहकारीको माध्यमबाट बजारमा पुराउने कार्य भइरहेको छ । कृषिजन्य उत्पादनको मूल्य पनि घटेका कारण किसानलाई थप समस्या भएको छ, हाल दैनिक यति नै तरकारी बजारमा व्यवस्थापन गर्न सकिएको भन्ने त्यस्तै तथ्यांक छैन,’ पनौती नगरपालिकाकी उपप्रमुख गिता बन्जारा भन्छिन् ।

त्यस्तै, काठमाडौं उपत्यकासँग सिमाना जोडिएको नुवाकोटको ककनी गाउँपालिकामा पछिल्लो समय तरकारी केही मात्रामा उपत्यका भित्रिरहेका उपप्रमुख सिता लामाले बताइन् । केहीदिन अगाडी ककनीमा कोरोना संक्रमण पुष्टी भएपछि भने सिल गरिएको थियो ।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगा चोकगढीमा पनि तरकारीको मूल्य अति नै कम रहेको र प्रायः सबै तरकारी प्रतिकेजी १० देखि २० रुपैयाँसम्म बिक्री भइरहेको उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् ।

स्वास्थ्य अधिकारीहरुले तरकारी तथा फलफूलबाट कोरोना सर्दैन भन्दै आएका छन् । केही दिन अगाडी जनप्रतिनिधिको मातहतमा गण्डकी प्रदेशका केही स्थानीय तहमा उत्पादित तरकारी खाल्डोमा पुरिएको घटनाले एक किसिमको चेतनास्तरलाई औल्याएको छ ।

कालिमाटी तरकारी बजारमा दैनिक ५ सय मेट्रिक टन तरकारी भित्रिने गरेको छ । लकडाउन भएसँगै तरकारी मूल्यमा कमी भएसँगै खपत कम भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताएका छन् ।

‘विशेष गरी चितवन, धादिङ, मकवानपुर, काभ्रेलगायतका जिल्लाबाट दैनिक करिब ५ सय मेट्रिक टन तरकारी भित्रिने गर्छ भने फलफूल तथा प्याज भने व्यापारीको सम्पर्क अनुसार भित्रिरहेको पाइएको छ,’ पौडेलले भने ।

ठूलो संख्यामा रहेका होटलका साथै अतिआवश्यक पसलबाहेक सबै बन्द भएको हुँदा तरकारी खपत भएसँगै मूल्य पनि भटेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए ।

Share News