काठमाडाैं । सरकारले विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटलकाे क्वारेन्टाइन राख्ने तयारी गरेसँगै उनीहरुले शुल्क तिर्नु पर्ने छ । उनीहरुका लागि होटल संघले नेपालले शुल्क तोकेको छ । संघका अनुसार उनीहरुले आफूले चाहेको होटलमा बस्न सक्नेछन् तर तोके अनुसारको शुल्क पे गरेर मात्रै ।
विदेशबाट उद्धार गरिएकाहरुसँगै कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी लगायतलाई पनि राख्न होटल दिन सकिने होटल संघ नेपाल (हान) ले बताएको छ । सरकारले विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि स्वदेश ल्याउने निर्णय गरिसकेको छ ।
अब उनीहरु नेपाल आउन पाउने छन् । उनीहरु नेपाल आएर विभिन्न होटलहरुको क्वारेन्टिनमा बस्नु पर्नेछ । यसरी उद्धार गरेकाहरुलाई केही दिन काठमाडौंको होटलहरुमा क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर मात्र सम्बन्धित स्थानीय तहमा पठाइनेछ ।
होटलमा राख्नुपूर्व स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकिन हुने प्रमाणपत्र चाहिने उसको पहिलो शर्त छ ।
क्वारेन्टाइनमा बसेकाहरुको प्रत्येक दिन स्वास्थ्य जाँच हुनुपर्ने, होटल सञ्चालनका लागि कानुनी अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरका मापदण्डमा कुनै क्षति नहुने ग्यारेन्टी गर्नुपर्ने र कर्मचारी तथा छिमेकमा रहेका स्थानीय समुदायलाई कोरोना संक्रमणबाट बचाउन स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल सञ्चालन हुनुपर्ने होटल संघ नेपालले पर्यटन विभागमा बुझाइएको प्रस्तावमा उल्लेख छ ।
क्वारेन्टिनमा बस्नेहरुका लागि हानले भाडादर पनि तोकेको छ । होटल एशोसिएसन अफ नेपालले ३ वटा पाँच चारतारे, ९ वटा तीनतारे, दुईवटा दुईतार, एउटा एकतारे डिलक्स होटल, ५ वटा एकतारे र २७ वटा पर्यटक स्तरका होटलहरुमा उनीहरुलाई राख्ने बताएको छ ।
दैनिक २ हजारदेखि ११ हजारसम्म शुल्क
हानले न्यूनतम २ हजार रुपैयाँदेखि अधिकतम ११ हजार रुपैयाँसम्ममा कोठा दिन सकिने बताएको छ । एउटा कोठामा दुई जना बसेको अवस्थामा भने ३५ सयदेखि ११ हजारसम्म लाग्नेछ भने एक्लै बस्दा २ हजार रुपैयाँदेखि ८ हजारसम्म तिर्नु पर्ने छ ।
उनीहरुले अब ४ तारे होटलमा प्रतिदिन व्यक्तिगत र दम्पत्तिका लागि क्रमशः ८ हजार र ११ हजार रुपैंया, तीन तारेमा लागि ६ हजार र १० हजार, दुई तारेका लागि ५ हजार र ७ हजार, एकतारेका लागि ४ हजार र ५ हजार तथा पर्यटक मापदण्डका होटलका लागि प्रतिदिन २ हजार र ३५ सय रुपैंया शुल्क तिर्नु पर्नेछ ।
हानका महासचिव साजन शाक्यका अनुसार क्वारेन्टिनमा बस्नेहरुका लगि यो शुल्क अन्य समयको भन्दा सस्तो नै हो । हानले क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने छाक पौष्टिक खाना र आवश्यक पर्ने सबै खाले आधारभूत सेवासुविधाका लागि पर्ने रकम पनि प्रस्ताव गरेको छ ।
होटेल संघ नेपाल (हान)का अनुसार पाँचतारे होटलमा प्रतिव्यक्ति दैनिक लागत न्यूनतम ८ हजारदेखि ११ हजारसम्म लाग्नेछ । यसमा दैनिक ४ छाक खाना, खाजासमेत पर्नेछ । ‘यो मूल्यले पनि हामीलाई नाफा हुँदैन, हामीले व्यापार गर्न खोजेको पनि होइन, उनले भने, ‘सञ्चालन खर्च मात्र उठे मात्र पनि हुने गरी मूल्य तोकिएको हो ।’
होटललाई क्वारेन्टाइनको रुपमा उपयोग गरी सञ्चालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि होटल संघ नेपालका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने हानले उल्लेख गरेको छ । साथै कर्मचारीहरुको उपलब्धता, भौतिक संरचना र उपकरणहरु संचालनलाई ध्यानमा राखेर क्वारेन्टाइनका लागि होटल दिने नदिने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानले लिनसक्ने समेत हानले उल्लेख गरेको छ
१४ दिनमा डेढ लाख तिर्नुपर्ने
विदेशबाट आएकाहरुले कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड छ । उक्त शुल्क अनुसार एउटा व्यक्तिले १४ दिनको क्वारेन्टिन समयावधिमा २८ हजार रुपैंयाँदेखि डेढलाखसम्म तिर्नु पर्नेहुन्छ ।
उनीहरुले प्रतिदिन पाँचतारे होटलमा बस्दा ११ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने १४ दिन बस्दा १ लाख ५४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै चार तारे होटलमा बस्ने दम्पत्तीले १ लाख ४० हजार तिर्नु पर्नेहुन्छ भने एक व्यक्तिले १ लाख १२ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।