काठमाडौं । काठमाडौंलगायत देशैभरका मूख्य व्यापारिक बजार खुलिरहेका छन् । राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा लकडाउन भएको ७२ औँ दिनबाट काठमाडौंका असन, न्युरोड र ठमेल जस्ता व्यवसायिक स्थानका पसलहरु खुल्न लागेका हुन् ।
सरकारले पनि लकडाउनकै समयमा सपिङ हलबाहेकका सबै पसल व्यापारिक केन्द्र लगायत खोल्ने निर्णय गरेको थियो ।
सरकारले गत शुक्रबारदेखि सबै उद्योग, व्यापार र पसल खोल्ने निर्णय गरेको हो । गत बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेसँगै तोकिएको मापदण्ड पुरा गरेर व्यापारीहरुले आफ्नो व्यवसाय सञ्चालन गरेको थिए ।
तर, पसलहरु खुले पनि व्यापार भने नभएको व्यापारीहरु बताउछन् । बिहान आएर पसल खोले पनि खाना खान जाने बेलासम्म पनि बोहोनी नै नभएको व्यापारीहरुको भनाइ छ । सधै भिडभाड हुने व्यापारिक क्षेत्रमा सर्वसाधारणको चहलपहल शून्य जस्तै देखिन्छ ।
सुरुका दिनमा बिहानदेखि मध्यान्ह १२ बजेसम्म पसलहरु चल्ने गरेका थिए । तर सरकारले नै सबै व्यापार सञ्चालन गर्ने निर्णय गरेपछि पुरै समय पसलहरु खुलेका हुन ।
राजधानीको प्रमुख व्यापारिक क्षेत्र ठमेल, न्युरोड, दबारमार्ग, महाबौद्ध , असन, दबारमार्ग लगायतका क्षेत्र हुन । अरुबेला उपत्यका र उपत्यका बाहिरका व्यापारी आएर भरिभराउ हुने ठमेलमा दबारमार्ग, न्युरोड अहिले सुनसान जस्तै छन् । नेपालभर नै सबै किसिमका व्यवसाय खुले पनि व्यापार भने छैन । व्यापार व्यावसयमा मन्दी आएपछि अर्थतन्त्रमा समेत असर परेको छ ।
व्यापारिक केन्द्रका व्यापारीहरु पसल खोल्ने र बन्द गर्ने मात्रै काम भएको बताउछन् । पसल खोले पनि बोहोनी नै नभइ बन्द गर्ने गरेको उनीहरुको भनाइ छ ।
खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष गणेशकुमार न्यौपानेले पसल खोले पनि व्यापार नभएको बताए । बिहान आएर पसल खोले पनि व्यापार नै छैन भन्दै उनले सामान्य समयमा विदेशबाट आउने र विदेश जाने मान्छेहरु सामान किन्न आउने गरेका भएपनि अहिले सार्वजनिक सवारी साधन सञ्चालन नभएकोले व्यापार हुन नसकेको बताए ।
‘मान्छेहरुसगँ पैंसा पनि छैन, सामान आवश्यक परेकाहरु पनि पसलसम्म किन्न आउन सक्ने अवस्था छैन, सार्वाजनिक सवारीसाधनहरु सञ्चालनमा नआउँदासम्म व्यापार खासै हुने देखिएन,’ न्यौपानेले भने ।
भाँडा वर्तनका पसल, फेन्सी पसल, इलेक्ट्रोनिक्स पसल, कपडा पसल तथा खाद्यान्नका मध्ये खाद्यान्न पसलमा ग्राहकहरुको तुलनात्मक रुपमा भिड बढी नै देखिन्छ ।
वर्षदेखि पुख्यौंली भाँडा पसल सञ्चालन गर्दै आएका सरोज ताम्राकारले लकडाउनमा नै पसल खुल्दा पनि व्यापार नभएको बताउँछन् । विगत वर्षहरुमा यही समयामा दैनिक ७०/८० हजारको व्यापार गर्दै आएका उनी अहिले दिनमा १०/१५ सयको व्यापार गरेर घर फर्किन्छन् ।
इलेक्ट्रोनिक्स सामानाका पसलमा फाट्टफुट्ट मात्रै ग्राहकहरु आउने गरेको व्यापारीहरु बताउछन् । विद्युतीय सामानहरु केही मात्रामा बिक्री भएपनि यो धेरै नै कम रहेको व्यवसायी रामहरि कार्कीले बताए ।
देशैभरकार व्यापारीहरु पसल खुलेपनि व्यापार नभएको गुनासो पोखिरहेका छन् । पर्यटकमा निर्भर रहने हस्तकला, चित्रकला, पस्मिना, नेपाली ढाकाटोपी, खुकुरी जस्ता बस्तुहरुको व्यापार पनि शून्य छ । निजी सवारी साधनको ओहोरदोहोर बाक्लिए पनि ग्राहकको पर्खाइमा व्यापारीहरु बसेका छन् ।
न्युरोड, असन क्षेत्रमा मासिक १५ हजारदेखि २० लाखसम्म भाडा तिर्ने व्यवसायी रहेको राष्ट्रिय व्यवसायी महासंघको अनुमान छ । सरकारले लकडाउन जारी राख्दा राख्दै सरकारले कर तिर्न बाध्य बनाएको भन्दै पसल खोलेका थिए । व्यापारीले पसल खोलेको केही दिनपछि सरकारले सपिङ मलबाहेकका सबै पसल खोल्ने निर्णय गरेको थियो ।
सरकार पनि लकडाउनको कारणले आयस्रोतको कमि आएकाले कमाइभन्दा खर्च धेरै भएकाले समस्या आएको बताइरहेको छ । लकडाउनका कारणले करिब ३ महिनादेखि बन्द रहेका व्यापार, व्यवसाय र उद्योगहरु विस्तरै खुल्ने क्रममा छन् ।