काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोबाइल एपमा १० लाख जना एन्ड्रोइड मोबाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ । ‘खल्ती’ले यो उचाइ तीन बर्षमै हासिल गरेको हो । प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोबाइल वालेट बनेको छ ।
आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै १ लाख पटक एप्पल डिभाइसहरूमा डाउनलोड भएको छ । वेवपेज khalti.com बाट पनि अनलाइन पेमेन्ट गरिन्छ । मोबाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको संख्या १३ लाख नाघेको छ ।
नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत बर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । खल्तीले डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ । दैनिक जीवनमा मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’को प्रयोग गरिरहेका छन् ।