काठमाडौं । धितोपत्र बोर्डले चालु आर्थिक वर्षको आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डका नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
बोर्डले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नोपाल स्टक एक्सचेञ्ज (नेप्से) को विद्युतीय कारोवार प्रणालीमा धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासँग आवद्ध गरी पूर्ण स्वचालित कारोवार प्रणालीको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइने भनिएको छ ।
यस्तै धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टी प्लस टु मा हुने तथा हाल नेप्सेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) लाई प्रभावकारी बनाउने भनिएको छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजारको चरणबद्ध विकासका लागि बोर्डको चार वर्षीय रणनीतिक योजना (आव २०७७/७८–२०८०/८१) तयार गरी लागू गर्ने भएको छ ।
वस्तु विनिमय बजार सम्बन्धमा ऐन तथा नियमावलीको व्यवस्था बमोजिम वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमतिपत्र प्रदान गर्ने व्यवस्था मिलाइने अध्यक्ष ढुंगानाले जानकारी दिए । बोर्डमा प्राप्त हुने कन्ट्रयाक्ट स्पेसिफिकेसनको अध्ययन गरी कारोबारका लागि दर्ता गर्ने व्यवस्था गरिने भएको छ । धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन प्रोत्साहन तथा सहजीकरण गर्ने बोर्डको कार्यक्रम छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँगको सहकार्यमा सूचीकृत कम्पनी तथा धितोपत्र व्यवसायीहरुले बोर्ड तथा नेप्सेमा पेश गर्नुपर्ने विवरणहरुको ढाँचा विकास गरी लागू गरिने अध्यक्ष ढुंगानाले जानकारी दिए । नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याई संरचनात्मक सुधार गरी धितोपत्रको दोस्रो बजार कारोवार प्रणालीलाई सुदृढ गर्ने र केन्द्रीय निक्षेप सेवा कम्पनीको स्वामित्व संरचनामा सुधार ल्याउन आवश्यक सहजीकरण गरी धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाइने बोर्डको भनाइ छ ।
सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण हुने व्यवस्था मिलाई सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार कारोवारलाई सक्रिय बनाइने भएको छ । धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश गराई कारोवारको आकार बढाउन तथा दोस्रो बजार मूल्यमा स्थिरता ल्याउन धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमति दिइने बोर्डको कार्यक्रम छ ।