काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीले सञ्चालनमा आएको करिब साढे २ वर्षको अवधिमा सर्वसाधारणमा साधारण सेयर(आईपीओ) जारी गरेको छ । ‘खुलेर जिऔं’ भन्ने मूल नाराका साथ सञ्चालनमा आएको यस कम्पनी नयाँ जीवन बीमा कम्पनीमध्ये आईपीओ जारी गर्ने पहिलो इन्स्योरेन्स कम्पनी हो ।
२०७४ साल मंसिर १ गतेदेखि कारोबार शुरु गरेको कम्पनीले गत भदौ ४ गतेदेखि ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको छ । इन्स्योरेन्सले सो दिनदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ६३ लाख कित्ता आईपीओ बिक्री गरिरहेको छ ।
३१औं महिनाको दौरानमा दौडिरहेको यस कम्पनीमा व्यक्तिगत र संस्थागत गरी कूल एक सय १३ जना संस्थापकहरु आवद्ध रहेका छन् । जसमध्ये मुख्य संस्थागत संस्थापकमा सिद्धार्थ बैंक र अग्नी ग्रुप रहेका छन् । जसको सेयर स्वामित्व क्रमशः १७.९६ प्रतिशत र ६.८ प्रतिशत रहेको छ ।
कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । त्यस्तै, चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ रहेको छ । ६३ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ नाघ्ने छ ।
कम्पनीले गत साउन १६ गतेमात्र नेपाल धितोपत्र बोर्डबाट सेयर निष्काशन गर्न अनुमति पाएको थियो । कूल ६३ लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ३ लाख १५ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणमा बिक्री गरिरहेको छ ।
यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा भदौ ८ गते र ढिलामा भदौ २२ गतेसम्म हुनेछ ।
उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ ।
सेयर जारी गर्नुको उद्देश्य
कम्पनीले बीमा कम्पनीको सञ्चालनमा सर्वसाधारणहरुलाई संलग्न गराउन सर्वसाधारणमा सेयर जारी गरेको हो । त्यस्तै, संस्थाले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्न सेयर जारी गरेको हो ।
साथै, बीमा कम्पनीले गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पुँजी संकलन गर्न उक्त सेयर निष्काशन गरेको कम्पनीले जनाएको छ ।
जीवन बीमा कम्पनीहरुले आव २०७५/७६ मा कूल बीमा शुल्क वापत करिब ७७ अर्ब रुपैयाँ संकलन गरेका छन् । जसमध्ये रिलायन्स लाइफले संकलन गरेको बीमा शुल्क कुल बीमा शुल्कको करिब ०.९६ प्रतिशत बजार हिस्सा रहेको छ ।
कम्पनीले आर्थिक वर्ष ०७६/७७मा १५ वटा क्षेत्रीय कार्यालय/शाखा/उपशाखा कार्यालय थप गरी जम्मा १०३ वटा र आर्थिक वर्ष २०७९/०८० सम्ममा १३३ वटा संजाल पुर्याउने लक्ष्य लिएको छ ।
त्यस्तै, आर्थिक वर्ष ०७६/७७मा २ अर्ब ५७ करोड रुपैयाँ लगानी पुग्ने अनुमान गरेको कम्पनीले उक्त लगानीलाई वृद्धि गरी आर्थिक वर्ष ०७९/८० मा १० अर्ब १२ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । त्यस्तै, चालु आवमा एक अर्ब १५ करोड रुपैयाँ जीवन बीमा कोष पुग्ने अनुमान गरेको कम्पनीले आव ०७९/८०मा ८ अर्ब १८ करोड रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ ।
लेखा परिक्षण नभएको त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले चालु आवमा ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन आव ०७९/८०मा ३१ करोड ५६ लाख रुपैयाँ पुर्याउने कम्पनीको लक्ष्य रहेको छ ।
आईपीओ पश्चात कम्पनीको योजना के छ ?
कोभिड १९ को महामारीको अवस्था भएकोले बजार विस्तारलाई अगाडि बढाउने तर्फ कम्पनी छैन । हाल रहेका एक सय वटा शाखा/उपशाखाहरुलाई नै मोबिलाइज्ड(परिचालित) गरेर अघि बढ्ने कम्पनीको योजना रहेको छ ।
त्यस्तै, कम्पनी तथा कम्पनीका कर्मचारीहरुको अहिलेको चुनौतिहरुलाई कसरी अघि बढाउने र ग्राहकलाई दिनुपर्ने इन्स्योरेन्स सेवालाई कसरी निरन्तरता दिने भन्नेमा कम्पनी लागिपर्ने कम्पनीका सीईओ प्रविण रमण पराजुलीले बताए ।
‘अहिलेको कम्पनीको फोकस भनेको आधारभूत कुरालाई निरन्तरता दिनु नै हो । यसरी नै कम्पनीलाई बीमा क्षेत्रकै पहिलो स्थानमा कसरी स्थापित गराउने भन्ने तर्फ इन्स्योरेन्स लाग्ने छ’, सीईओ पराजुलीले भने ।
सञ्चालक समिति
कम्पनीको सञ्चालक समितिमा ७ जना सञ्चालक रहनेछन् । जसमध्ये संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्ने ४ जना, सर्वसाधारणको सेयरधनीको तर्फबाट २ जना र स्वतन्त्र सञ्चालकमा एक जना रहने छन् । सबै सञ्चालकहरुको कार्यकाल ४ वर्षको रहेको छ ।
उक्त समितिमा अध्यक्षमा तारचन्द केडिया तथा संचालकमा जगदीश कुमार अग्रवाल, भरत कुमार तोदी, अमित कुमार बेगानी र सुन्दर प्रसाद कडेल रहेका छन् ।
जसमध्ये सञ्चालक तोदीको सबैभन्दा बढी अर्थात ३ लाख हजार कित्ता सेयर स्वामित्व रहेको छ । त्यस्तै, सञ्चालक अग्रवालको एक लाख ५० हजार कित्ता, अध्यक्ष केडिया र संचालक बेगानीको एक/एक लाख कित्ता र संचालक कडेको २५ हजार कित्ता कम्पनीको सेयर स्वामित्व रहेको छ ।
व्यवस्थापन टिममा
कम्पनीको व्यवस्थापन(म्यानेजमेन्ट) टिममा चार जना रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ) मा निराजन कँडेल, प्रमुख मानव संशाधन अधिकृतमा सन्दिप सिंह र प्रमुख संचालन अधिकृतमा ज्ञान बहादुर रायमाझी गरी चार जना रहेका छन् ।
एमबीए गरेका सीईओ पराजुलीसँग मर्चेन्ट बैंकिङ/बैंकिंग/बीमा क्षेत्रमा १८ वर्षको अनुभव रहेको छ । यसअघि उनी नबिल बैंकमा आवद्ध रही नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा सीईओ थिए ।
त्यस्तै, स्नातकोत्तर, व्यवस्थापन (एसिसिएसँग आवद्ध) तहसम्म अध्ययन गरेका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलसँग पनि बैंकिङ्ग क्षेत्रमा राम्रो अनुभव रहेको छ । इन्स्योरेन्समा आउनु भन्दा अघि उनी सिद्धार्थ बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टड बैंकमा कार्यरत थिए ।
प्रमुख मानव संशाधन सन्दिप सिंह यसअघि हिमालयन बैंकमा मानव संशाधन विभाग अधिकृत, वरिष्ठ अधिकृत, सहायक व्यवस्थापक तहमा रही काम गरेका थिए । उनको शैक्षिक योग्यता एमबीए रहेको छ ।
त्यस्तै, स्नातकोत्तर, व्यवस्थापन (एफएलएमआई) गरेका प्रमुख संचालन अधिकृत ज्ञान बहादुर रायमाझीले रिलायन्समा आउनु अघि मेटलाइफमा वरिष्ठ अधिकृत तथा सहायक व्यवस्थापक पदमा रही काम गरेका छन् ।
यस्ता छन् जोखिम
नयाँ जीवन कम्पनीहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट जोखिम हुन सक्ने छ । कम्पनीको पुनर्बीमा विदेशी पुनर्बीमा कम्पनीसँग समेत पुनर्बीमा गर्न सकिन्छ । जसबाट प्राप्त हुने दावी भुक्तानीमा विदेशी विनिमय दर परिवर्तनको जोखिम रहेको देखिन्छ ।
त्यस्तै, बीमा समितिले जारी गर्ने नियम निर्देशनको अप्रत्याशित परिवर्तनबाट सिर्जना हुने सम्भावित जोखिमहरु आउने छन् । साथै, नेपाल सरकार तथा अन्य नियमन निकायहरुको आर्थिक तथा वित्तीय नीति नियममा हुने परिवर्तनले पनि कम्पनीमा सम्भावित जोखिम आउन सक्नेछ ।
त्यसैगरी, प्रविधिको परिवर्तनबाट हुन सक्ने जोखिम, पुँजी बजारमा आउने गिरावटको कारण बीमा कम्पनीको लगानी मूल्यमा ह्रास आउने, कार्यसंचालन तथा कर्जा जोखिमबाट हुन सक्ने हानी नोक्सानी हुने जोखिम रहन्छ ।
साथै, प्राकृतिक प्रकोप तथा कोभिड १९ जस्ता स्वास्थ्य महामारीको कारणबाट व्यवसायमा आउने प्रभाव तथा बीमा दावीमा वृद्धि हुने जोखिम रहेको छ । कम्पनीमा कोभिड १९ का कारण आर्थिक वृद्धिदरमा आएको ह्रासले बीमाको पहुँच वृद्धिदरमा ह्रास आउनसक्ने जोखिम र नविकरण बीमा शुल्क समयमै उठ्न गाह्रो हुनेसक्ने जोखिम रहेको छ ।
जाेखिम कसरी न्यून तथा व्यवस्थापन गर्ने
कम्पनीले नेपाल पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गराएको छ । जसले गर्दा कम्पनीको दायित्व भुक्तानी गने व्यवस्थालाई सुनिश्चित गर्दछ ।
कम्पनीले अप्रत्याशित रुपमा पर्नसक्ने बीमा दावीको जोखिमलाई न्यूनिकरण गर्न महाविपत्ति बीमाको व्यवस्था समेत गरेको छ । जसले सम्भावित क्षतिलाई न्यूनिकरण गरेको छ ।
त्यस्तै, बीमा बजारमा हुने प्रतिस्पर्धाको लागि कम्पनीले आवश्यक जनशक्ति विकास, बजार बिकेन्द्रिकरण तथा सेवा गुणस्तरमा ध्यान पुर्याएको छ ।
त्यसैगरी, कम्पनीको भौतिक सम्पत्तिहरुको विभिन्न कारण तथा प्राकृतिक रुपमा क्षति भएमा जोखिम बहन गर्ने गरी निर्जीवन बीमा कम्पनीबाट बीमा गरिएको छ ।
साथै, कोभिड १९ का कारण उत्पन्न जोखिम कम गर्न कम्पनीले आफ्नो काम संचालनामा प्रविधि प्रयोगलाई उच्च प्राथमिकता दिँदै आएको छ । जसका कारण आजको यस नयाँ संरचनामा समेत कम्पनीले सामाजिक दुरी कायम राखी सुरक्षित ढङ्गले आफ्नो व्यवसाय विस्तार गरिरहेको छ ।