काठमाडौं । अब दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले ग्राहक पहिचान विवरण(केवाइसी) अद्यावधिक (अपडेट) गर्न ब्रोकर कार्यालय धाउनु नपर्ने भएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै नेप्सेले केवाइसी अपडेटको लागि लगानीकर्तालाई नयाँ अनलाईन रजिस्ट्रेसन सुविधा उपलब्ध गराएको छ ।
यससँगै, लगानीकर्ताले अनलाइन कारोबार गर्नका लागि घरबाटै युजरनेम र पासवर्ड लिन पाउने भएका छन् ।
अनलाइन कारोबारलाई थप सहज बनाउन नेप्सेले ब्रोकरहरुको टीएमएस लिंकमा अनलाइन रजिस्ट्रेसनको सुविधा उपलब्ध गराएकाे छ ।
लगानीकर्ता उक्त लिंकमा गई रजिष्टर लेखिएको ठाउँमा क्लिक गरेपछि आफ्ना विवरणहरु भरेर युजनेम र पासवर्ड लिन तथा केवाइसी अद्यावधिक गर्न तथा गराउन सक्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी गराएका छन् ।
यससँगै, लगानीकर्ताले घरमै बसी बसी अनलाइन कारोबारको प्रकृया पुरा गर्न सक्नेछन् । यसअघि अनलाइन कारोबारको लागि तथा केवाइसी अपडेट गर्न ब्रोकर कार्यालय नै धाउनु पर्ने बाध्यता थियो ।
साथै, नेप्सेले ल्याएको यो सुविधाबाट बढीभन्दा बढी प्रयोगकर्ताहरु अनलाइन कारोबारमा सहभागी हुने सक्ने नेप्सेको विश्वास रहेको छ ।
नेप्सेले कोभिड-१९ को महामारीलाई दृष्टिगत गर्दै भौतिक दूरी कायम राखी दोश्रो बजार कारोबार गर्न तथा गराउन तथा नेप्से तथा ब्रोकरले प्रदान गर्दै आएको सेवालाई मानवीय सम्पर्क बिना अथार्त अनलाइनबाटै सञ्चालन गर्ने उद्देश्यले नयाँ व्यवस्थाहरु गर्दै आएको छ ।