
३४ खर्ब रूपैयाँ निक्षेप २७ वटा वाणिज्य बैंकमा छ । १९ अर्ब रूपैयाँकाे सेयर एउटा मात्र कम्पनी सीडीएससीमा छ । १८ लाख ३७ हजार २९३ सेयर लगानीकर्ताकाे सम्पत्ति एउटा संस्थाकाे ढुकुटीमा छ । यस्ताे संस्थाका प्रमुख कार्यकारी अधिकृत पद एक वर्षसम्म खाली रह्याे । याे संस्थाकाे मातृ संस्था नेपाल स्टक एक्सचेञ्च सर्वाधिक विवादित कम्पनीमा परिणत भएकाे छ । नेपाल स्टक एक्सचेञ्चकाे सञ्चालन प्रणााली र यसका सञ्चालक व्यवस्थापककाे क्षमता र इमान्दारितामा गम्भिर प्रश्नहरू उठिरहेका छन् ।
११ महिनाकाे रिक्ततापछि सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडकाे प्रमुख कार्यकारी अधिकृत पदमा बैंकर पूर्णप्रसाद आचार्यलाई नियुक्ती दिइएकाे छ । नेप्सेकाे जस्तै सीडीएसकाे हालत खराब छ । वेवसाइट समेत नियमित खुल्दैन । खुलेकाे बेला सही डाटा देखिदैन । राताे हुनु पर्ने डाटा हरियाे र हरियाे हुनु पर्ने डाटा राताे देखिन्छ । अपरेटिङ सिस्टम टू मच स्लाे छ । लगानीकर्ताले कम्पनी पिच्छे सेयर काराेबार गर्दा घन्टाैं लगाएर तीन पुस्ते विवरण बुझाउनुपर्छ । एउटा फूटवललाई २२ जना खेलाडी भकुण्ड्याए झै बजारका संरचनाहरूले लगानीकर्तालाई भकुण्ड्याउने काम गरिरहेका हुन्छन् । यस परिवेशमा बजार व्यस्थापन र सुधारका काम कसरी हुन्छ ? सीडीएस एण्ड क्लियरिङ्गकाे प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यसँग विकासन्युजका लागि मञ्जरी पाैडेलले गरेकाे कुराकानी ।
खुला प्रतिस्पर्धाबाट सीडीएससीकाे प्रमुख कार्यकारी अधिकृत हुनुभयाे, बिजनेस प्लान के छ ?
सीडीएससीलाई थप अपडेट गर्दै थप विश्वनीय तथा भरपर्दो बनाउनु पर्नेछ । सेटलमेन्ट टाइमलाई घटाएर टीप्लसटूमा झार्ने, जुन हाल टी प्लस थ्रीमा भइरहेको छ । लगानीकर्तालाई बढी भन्दा बढी सेवा सुविधा दिने । यसका पोलिसीहरु के के छन् त्यसलाई रिभाइज गरेर समय सापेक्ष बनाउने । सरकारी ऋणपत्रलाई डिम्याट गराएर दोश्रो बजारमा कारोबार गराउने । केवाईसीलाई सेन्ट्रलाइज्ड गर्ने ।
एकदमै भरपर्दो, छिटो छरितो सेवा प्रदान गर्ने । टेक्नोलोजी बेस अर्गनाईजेसन भएकोले यसको डाटाको सुरक्षाको लागि प्रयाप्त ढंगले सिष्टम अपडेट गर्ने । सर्भिस बेस अर्गनाईजेसन भएको कारणले राम्रो सेवा सुविधा दिएर लगानीकर्तालाई आश्वस्त पार्ने ठाउँ हो यो । यस विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)सँग सहकार्य गरेर अघि बढ्ने मेराे लक्ष्य रहेको छ ।
सीडीएससीले धेरै सेटलमेन्ट र क्लियरिङ्को काम गर्ने भएकोले मानवीय उपस्थिति नहुने गरी अनलाइनबाटै पेमेन्ट हुने व्यवस्था गर्नुपर्ने छ । अहिले कमिसनहरु कटाउन मान्छे स्वयम् बैंक उपस्थिति हुनु पर्छ त्यसलाई बैंकसँग अटोमेसन गरेर त्यो काम गर्ने मेरो प्लान रहेको छ ।
चुनौति के के छन् ?
सेकेन्डरी मार्केट एकदमै काठमाडौं बेसड रहेको छ । समग्रमा भन्नु पर्दा सेयर बजार नै काठमाडौंमा बढी कन्सन्ट्रेट छ । गाउँ तथा पहाड क्षेत्रमा अर्थात सम्पूर्ण मान्छेको एक्सेसमा छैन । त्यसैले डीपी मेम्बर, ब्रोकर, बैंक जस्ता योसँग रिलेटेड संस्थाहरुसँग मिलेर यस सम्बन्धि साक्षरता कार्यक्रम गर्नुपर्ने देखिन्छ । जसबाट डिम्याट एकाउन्ट खोलाई कारोबारमा आवद्ध गराउने र बजारको आउटलुक बढाउनेमा चुनौति देखिएको छ । भ्यालि बाहिरका मान्छेलाई नसमेटिएको भएर यसलाई यो दायरा भित्र ल्याउन अलिकति चुनौति छ । साथै, टेक्नोलोजीमा इन्भेष्टमेन्ट गरेर यसलाई समय सापेक्ष अपग्रेड गर्नुपर्ने छ । हाल सिष्टममा बेला बेलामा आउने समस्यालाई न्यूनिकरण गर्ने ।
सीडीएससीको सिष्टम टेक्नोलोजी रिक्स छ, सर्भिस राम्रो छैन भने जस्ता गुनासाहरु लगानीकर्ताबाट सुनिन्छन् । यसलाई कसरी न्यूनिकरण गर्नुहुन्छ ?
यो यस्तो रहेछ । सिष्टमलाई रेगुलर अपडेट गर्नु निरन्तर चल्ने प्रोसेस नै हो । यहाँ सिष्टमलाई भरपर्दो बनाउनका लागि डे टु डे कामहरु भइरहेका रहेछन् ।
हालै पनि उक्त सिष्टममा समस्या आएको रहेछ । कहिले काहिँ धेरै कम्पनीको आईपीओ आएर एकैपटक धेरै मानिसको एक्सेस हुन खोज्यो भने कोहि बेला त्यस्तो समस्या आउने रहेछ । यसमा मात्रै होइन बैंकिङ्ग क्षेत्रमा पनि त्यस्तै छ । धेरैले एकैपटक लग इन गरे भने त्यस्तै समस्या आउँछ ।
यो ठाउँ अलि सेन्सेटिभ भएकाले सानो तिनो समस्या आउँदा बढी हाइलाइट गर्ने गरिन्छ । सञ्चार माध्यमले पनि सानो कुरालाई ठूलो बनाईदिने भएकाले मान्छेको मनोबल गिर्ने र त्यसप्रति विश्वसीयता गुम्दै जाने गरेको छ । त्यसैले पोजेटिभ कुरालाई डेलिभरी गरिदिने हो भने उनीहरुमा विश्वास बढ्दै जाने छ ।
साथै, कुनै पनि टेक्नोलोजीको एउटा लिमिटेसन हुन्छ नै । तथापि यसको क्यापासिटी बढाउने, डाटाको ब्याकअप भरपर्दो गरेर अलि सुरक्षित राख्ने । यहाँ त जनताको १६/१७ खर्ब पुँजी भएकोले म लगायत सीडीएससी टीम सबै यस विषयमा अत्यन्त सचेत छौं । यसलाई सुरक्षित राख्नु पर्छ, विश्वसनीय बनाउनु पर्छ, भरपर्दो बनाउनु पर्छ भन्नेमा हाम्रो टीमको प्रयत्न हुन्छ । हामी सँधै लागि पर्ने छौं ।
डाटा सेक्युरिटी कसरी भइरहेको छ ?
डाटा सेक्युरिटीमा दुई तीन स्टेपको ब्याकअप रहेको छ । एउटा डाटा रिकभरी सेन्टर (डीआरसी) रहेको छ जुन सिंहदरबार भित्र छ । त्यहि भित्र पनि मेकानिजममा ब्याकअप गर्ने पनि रहेको छ, आन्तरिक रुपमा पनि । डीआरसीमा पनि हुन्छ । त्यसबाट पनि बेला बेलामा टेष्ट गरेर रिट्राइभ गरिरहेको छ ।
त्यसैले डाटामा पनि बाहिर जसरी बुझिएको छ त्यस्तो अनसेक्योर चाहिँ छैन । तीन स्टेपको ब्याकअप रहेकोले प्रयाप्त सावधानी अपनाएको छ । यसलाई अझै विश्वसनीय बनाउन उपत्यका बाहिर पनि एउटा डीआरसी लैजानु पर्छ भन्ने कुरा राखेको छु । दुर्भाग्यवश कुनै नेचुरल डिजास्टर आयो, यहाँको सिष्टम ड्यामेज भयो भने बाहिरको सिष्टमले रिट्राइभ गरेर रन गराउन सकिन्छ । त्यसैले यो राख्न जरुरी देखिएको छ । त्यस्तै, यसका नीति नियमहरु समय सापेक्ष परिवर्तन गर्दै जानुपर्छ ।
नेपालमा रहेका कतिपय सिष्टमको ब्याकप देश बाहिर रहेको छ भन्ने सुनिन्छ । सीडीएससीको पनि यस्तै हो ?
होइन, सीडीएससीको डाटा ब्याकअप नेपालमै सिंहदरबार भित्र रहेको छ । म बैंकिङ्ग क्षेत्रबाट आएको मान्छे इन्टरनल सिष्टम के कस्तो छ भनेर बुझ्दा नेपाल भित्रनै रहेछ । त्यसैले, सम्पूर्ण डाटाको सुरक्षा देशभित्रै राखिएको भएर एकदमै विश्वसनीय रहेको छ । बाहिर छ भन्ने भ्रम मात्रै रहेछ ।
यदि कथम्कदाचित् डाटा लिक भईहाल्यो भने यसको जिम्मा कसले लिन्छ ?
यहाँ सिष्टम कस्तो छ भने तीन वटा विभाग छन् । नेटवर्किङ्को हेर्ने बेग्लै डिपार्टमेन्ट हुन्छ । ओभरल अर्गनाइजेशनको जिम्मेवारी हुन्छ । त्यसैले डाटा लिक त हुनै सक्दैन । विभिन्न २/३ वटा लियरमा यसको जिम्मेवारी तोकिएको हुन्छ । यहाँका कर्मचारी विभिन्न सेक्सनको प्रमुख छन् । हार्डवेयरको पार्ट हेर्ने बेग्लै छ, सफ्टवेयरको पार्ट हेर्ने बेग्लै छ, नेटवर्किङ्को हेर्ने बेग्लै छ । अनि फेरि यसको डाटा नेप्सेमा पनि हुन्छ ।
यसरी प्रविधिमा सम्पूर्ण रुपमा अविश्वास गर्ने हो भने देशले टेक्नोलोजीमा फड्को नै मार्दैन । जस्तै उदाहरणको लागि, केही बैंकको सफ्टवेयर इन्टरनेशनल हुन् बाहिरबाट किनिएको छ । लोकल सफ्टवेयर होइन । अब त्यो सफ्टवेयर पो बाहिरबाट किनेको हुन्छ, सबै डाटा त यहि भित्र सेक्योर हुन्छ नि । त्यसैले जहाँ पनि त्यही हो । टेक्नोलोजीलाई विश्वास गर्दै जानु पर्यो । पछि लिक भयो, गैह्रजिम्मेवार काम भयो भने त त्यो मान्छे कार्वाहीको दायरामा आउछ । त्यसैले सुरक्षा मजबुत छ । मैले देखेको बुझेको अनुसार यसमा कुनै शंका गर्नुपर्ने ठाउँ छैन ।
सानो सानो कुरामा समस्या देखिएकोले पनि लगानीकर्तामा शंका लागेको हो कि ?
यो यस्तो पनि रहेछ । नेटको समस्या पनि छ नेपालमा । दूर्तगतिको नेट छैन । सबैले एकैपटक लगइन गरिदिए भने त्यो घुमिरहने हुन्छ । बैंकमा पनि त्यस्तै हुन्छ । कुनै बैंकमा दिउँसो १ बजेसम्म कोर बैंकिङ्ग खुलेन भनेर पेमेन्टको काम रोकिइरहेको हुन्छ । त्यसलाई त्यति ठूलो इस्यु बनाएको हुँदैन ।
तर मार्केट सेन्सेटिभ भएकोले पनि होला सानो इस्युलाई पनि ठूलो बनाउने गरिएको । तर त्यस्तो छैन, एकदमै विश्वसनीय ढंगले अघि बढिरहेको छ । सँधै यस्तो हुने भन्ने हुँदैन, समय अनुसारको समस्यालाई सुधार गर्दै जानु पर्छ । अहिले जे छ, पर्याप्त छ । सुधार गर्नु पर्दैन भनेर दावी गर्नुभन्दा पनि यो समय सापेक्ष बनाउने इन्टरनेशनल स्ट्याण्डर्डको बनाउने भन्ने विषयमा हाम्रो टीमको सँधै प्रयत्न रहन्छ ।
यहाँ बैंकिङ् क्षेत्रकाे मान्छे । यहाँलाई त यो क्षेत्र नयाँ नै भयो । कसरी काम गर्नुहुन्छ ?
म कृषि विकास बैंकमा पूर्व डेपुटी सीईओको रुपमा कार्यरत रही त्यसबाट अवकाश प्राप्त गरेको व्यक्ति हुँ । बैंकको फङ्सन र यसको फङ्सनमा अलिकति फरक त छ । त्यहि भित्र नै काम गरिराखेको मान्छे र हामीलाई अलिकति फरक लाग्नु स्वभाविक नै हो ।
तर, नयाँ पनि त्यसरी भन्न मिल्दैन । यो पनि वित्तीय क्षेत्र नै हो । वित्तीय क्षेत्र नै भएकाले कामको प्रकृतिमा अलिकति थोरै चेञ्ज होला । बैंकको पनि सफ्टवेयर, सिस्टम तथा अनलाइनबाट पैसाको कारोबार हुन्थ्यो भने यहाँ डाटाहरु सेयर डिबेन्चरहरुको कारोबार हुने हो ।
यसलाई स्पेसलिष्ट भन्न भएन । कुन सेन्समा भएन भने त्यहि भित्रकै कर्मचारी थिएँ भने यहाँ ल्याकिङ्ग छ, यहाँ समस्या छ भनेर धेरै कुरा भन्ने थिएँ । त्यसको लागि मलाई हिजोको मितिसम्म एक्सेस थिएन । अब भयो । मार्केटको आवश्यकता पनि बुझ्नु पर्यो । मेरो लागि नयाँ सेक्टर होइन । त्यसलाई क्यारी गरेर बुझेर जानुपर्छ भन्ने हो ।
सीडीएससीले सामान्य_ सूचना तथा जानकारी पनि दिँदैन । डाटा झिक्दा तथा राख्दा जानकारी पाउनुपर्ने त्यो पनि पाईदैन भन्ने लगानीकर्ताबाट बारम्बार गुनासो आइरहन्छन् । अब यहाँको कार्यकाल शुरु भएदेखि लगानीकर्ताले यस्तो गुनासो गर्न नपाउने वातारण सिर्जना होला त ? त्यहि प्लेटफर्ममा यो कारणले डाटा झिकिएको छ भनेर इन्फर्म गराउन सकिएला ?
होला । तपाईंले भन्नुभयो । मलाई यस बारेमा त्यति जानकारी थिएन । यस विषयमा हेरौला, केही व्यवस्था गरौंला ।
तर त्यो कस्तो हुँदो रहेछ भने जुन संस्थामा पनि रिपोर्टिङ् गर्ने निश्चित ढाँचा हुन्छ । सीडीएससी तथा नेप्सेलाई सेबोनले रेगुलेट गर्छ । उसले नियमन गर्ने हो । उसको रिक्वायरमेन्ट अनुसार डाटाको फरम्याट दिए अनुसार सफ्टवेयर डेभलप गरेको हुन्छ । त्यो अनुसार गरिन्छ । त्यसैले खोजेको कुरा नपाउने भन्ने नहुनु पर्ने जस्तो लाग्छ मलाई । तैपनि यो विषयमा त्यस्तो कहीँ ग्याप रहेछ भने मैले बुझेर त्यस्ता कमी कमजोरी रहेछन् भने करेक्सन गर्ने तिर जानुपर्ने हुन्छ ।
कहिले काहीँ नामसारीको कुरा आउँछ, एप्लिकेशनहरु आउँछ । त्यसलाई सिष्टमबाटै सबै गरेर दिने गरिएको रहेछ । कहिले काहिँ कसैको केसमा डाटा इन्ट्री गरे पनि नदेखाउने समस्या भएको पनि हुन सक्छ । एकाध यस्तो सानो सानो समस्या आउँला तर त्यस्तो गम्भीर खालका समस्या त्यहाँ छैन नै भन्ने मेरो बुझाई छ । सम्भवतः तपाईले भने जस्तो अब लगानीकर्ताले यस्तो गुनासो गर्ने ठाउँ नरहला ।
यहाँको कार्यकालमा अरु थप के के गर्ने योजना रहेका छन् ?
मेरो कार्यकालमा सेयर बजारको उत्थानको निमित्त, यसलाई विश्वसनीय बनाउनको निमित्त, लगानीकर्ताको सहभागीको गराउन निमित्त एकदमै कन्ट्रिब्युसन इमान्दारिता पूर्वक रहने छ भन्ने मेरो प्रतिवद्धता हो ।
थप केवाईसीलाई पनि सेन्ट्रलाइज्ड गर्ने भन्ने मेरो बिजनेस प्लान अनुसार काम पनि शुरु भइसकेको छ । अर्को, ई-भोटिङ्गको पनि कम्पनी रजिष्टर कार्यालयबाट स्वीकृति लिनु पर्ने छ । उसले पनि आफ्नो कम्पनी ऐन तथा विनियमावलीमा संशोधन गरेर मिलाउनु पर्ने भएकोले उसँग पत्राचार भइसकेको छ । त्यसैले, ई-भोटिङको पनि काम गर्छौं नै ।