पुँजी बजारको चार वर्षे चक्र: अब सकारात्मक तर्फ मोडिने संकेत

<p>पछिल्लो समय सेयर बजारमा सकारात्मक कुराहरु धेरै आएका छन् । बजारमा म्युचअल फण्ड पनि प्रवेश गरेको देखिएको छ । बैंकमा पैसा फालाफाल भएर क्रस होल्डिङ् गरिरहेका छन् । ठूला ठूला उद्योगपति पनि बजारमा प्रवेश गरेको देखिएको छ । सेयर बजार बढ्नुको मुख्य कारण बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्नु नै हो । पहिला पनि नेप्से [&hellip;]</p>

पछिल्लो समय सेयर बजारमा सकारात्मक कुराहरु धेरै आएका छन् । बजारमा म्युचअल फण्ड पनि प्रवेश गरेको देखिएको छ । बैंकमा पैसा फालाफाल भएर क्रस होल्डिङ् गरिरहेका छन् । ठूला ठूला उद्योगपति पनि बजारमा प्रवेश गरेको देखिएको छ ।

सेयर बजार बढ्नुको मुख्य कारण बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्नु नै हो । पहिला पनि नेप्से परिसूचक १८६० सम्म पुग्दा व्याजदर कम थियो । त्यसपछि व्याजदर बढ्दै १६/१७ प्रतिशतमा पुगेपछि सेयर मार्केट ओरालो लाग्न शुरु गरेको थियो । अहिले पनि बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्दै गएपछि सेयर बजार स्वतः उकालो लागेको हो ।

अर्को, नेप्सेमा सूचीकृत सबै कम्पनीहरुको चौथो त्रैमासिक रिपोर्ट पनि आईसकेको अवस्था छ । बैंकहरुको रिपोर्ट अनुसार उनीहरुले ११ प्रतिशतको हाराहारीमा लाभांश दिन सक्नेछन् । त्यसमा पनि अहिलेको पहिलो त्रैमासबाट पनि थपेर सेयरधनीलाई लाभांश वितरण गर्ने कुराहरु आईरहेका छन् ।

अर्को राम्रो कुरा के छ भने, नेपाल राष्ट्र बैंकले पनि नयाँ नीति बनाएको छ । कुनै पनि कम्पनीले आफ्ना सेयरधनीलाई जति लाभांश वितरण गर्ने हो त्यसको ८० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गर्नुपर्ने व्यवस्था रहेको छ । जस्तै, २० रुपैयाँ लाभांश दिने हो भने १६ रुपैयाँ बोनस र ४ रुपैयाँ नगद लाभांश वितरण गर्नुपर्ने छ । यो पनि लगानीकर्ताहरुको लागि राम्रो पक्ष हो ।

निषेधाज्ञाकाे अवधिमा सेयर बजारमा अर्बाैं बढीकाे सेयर काराेबार भइरहेकाे छ। बुधबार मात्रै सेयर बजारमा २ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । उता नेप्से परिसूचक पनि २१ अंकले बढेर १४६२.०३ अंकमा पुग्यो । बन्दाबन्दीको अवधिमा पनि यो मात्राको सेयर कारोबार हुनु भनेको ठूलो कुरा हो । जुन अधिकांश कारोबार अनलाइनबाटै भएको हो । कोही २/४ जना ब्रोकरकोमा गएर कारोबार गरेका छन् भने एकाध कुरा हो तर अहिले भएको सेयर कारोबार अधिकांश अनलाइनबाटै हो । यसले हाम्रो अनलाइन प्रणालीमा लगानीकर्ताको उल्लेख्य रुपमा संलग्नता रहेको बुझिन्छ ।

यसले के देखिइरहेको छ भने बजार सकारात्मक तर्फ मोडिँदै छ । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण हेर्दा बीमा कम्पनीहरुको नाफा घटेको छैन । बैंकहरुको नाफामा अलिकति गिरावट आएको हो । उनीहरुको पनि व्याज पेन्डिङगमा रहेकोले भित्र्याउन मात्रै बाँकी छ ।

मेरो विचारमा राष्ट्र बैंकले पनि सुधार गरिरहेको छ । मार्जिन ल्याण्डिङ् पनि ६५ बाट ७० प्रतिशत पुर्यायो । त्यस्तै, सेयर मूल्यांकनको लागि पनि १८० दिनको ओसत मूल्य गणना गर्ने व्यवस्थाबाट घटाएर १२० दिन पुर्याएको छ । उता अर्थमन्त्रालयले पनि क्यापिटल गेन ट्याक्स(पुँजीगत लाभकर) अन्तिम हो वा होइन भन्ने लगानीकर्ताको अन्यौलतालाई हटाएर अन्तिम नै हो भनेर स्पष्ट पारिदिएको छ । यो पनि लगानीकर्ताको लागि सकारात्मक कुरा नै हो ।

त्यस्तै, चार वर्षको एउटा चक्र पुरा गर्नुपर्ने पुँजीबजारले, त्यो पनि पुरा भयो । यो सबै कुराले के देखिइरहेको छ भने एउटा समग्र रुपमा पुँजीबजारलाई राम्रो प्याकेज छ । फेरी उता नागरिक लगानी कोषले स्टक डिलर कम्पनी भित्र्याउने कुरा छ । सबै प्रकियाहरु पुरा गरिसक्यो अब आजभोलिमा भित्रिन्छ होला । नागरिक लगानी कोष आएसँगै कर्मचारी सञ्चय कोष पनि आउने चान्स बढी छ ।

कोरोना महामारीको अवस्थामा अन्त लगानी गर्ने ठाउँ नभएकाले पुँजी बजार नै लगानीको उपयुक्त क्षेत्र रहेको छ । अहिले आईपीओले गर्दा लगानीकर्तालाई पनि फाइदा भएको छ । प्रतिकित्ता १०० रुपैयाँको सेयर बढेर ६/७ सय रुपैयाँ पुगेको छ । पछिल्लो समय आईपीओमा लाखौं लगानीकर्ताहरु आकर्षित भएका छन् । यसले उनीहरु सेयर बजार प्रति कत्तिको इच्छुक छन् भन्ने प्रष्टै बुझिन्छ ।

यतिसम्मकी मेरो सेयरको सर्भरले नधान्ने गरी लगानीकर्ताको आकर्षण बढेको देखियो । उक्त सर्भरले नधानेपछि उनीहरु बैंक नै धाएर भएपनि सेयर भर्न बाध्य भए । जसले गर्दा बैंक तथा वित्तीय संस्थामा भीड देखियो । र, नेपाल धितोपत्र बोर्डले यो निषेधाज्ञा भरि आईपीओ निष्काशन गर्न नपाउने भन्ने निर्देशन दियो । यो पनि राम्रो कुरा हो ।

किन राम्रो हो भने सीडीएसलाई दैनिक भएको सेयर कारोबारको लोड धान्न नै गाह्रो भइरहेको छ । आईपीओमा ६ लाख लगानीकर्ताले लगानी गर्छन् यी सबैको डाटा राख्दा निकाल्दा सर्भरको लोडले धान्न सक्दैन । आईपीओले गर्दा अहिले बेचेको सेयरको ईडीआईएस गर्न गाह्रो भइरहेको थियो । यस विषयमा हामीले पनि बोर्डमा कुरा राखेका थियौं । र, यो केही समयको लागि रोकिएको राम्रो हो त्यसपछि स्थिति सामान्य भएपछि त निष्काशन भइहाल्छ । यसले कसैलाई पनि घाटा हुँदैन ।

बजारमा सबै कुरा ठिक छ । अलिकति करेक्सन भईदियो भने सुनमा सुगन्ध छाउने छ । तर त्यो करेक्सन भनेको भारी घट्नु होइन । करेक्सन अलिकति भएर फेरि बजार माथि जान्छ ।

(नेपाल इन्भेष्टर्स फाेरमका अध्यक्ष राैनियारसँग विकासन्युजले गरेकाे कुराकानीमा आधारित)

Share News