नेपालमा भर्च्युअल साधारणसभा शुरू, जुम चलाउन सिक्दै हजुरबा पुस्ता

<p>काठमाडौं । शनिबार १० बजेर २१ मिनेट गएको थियो । उद्योगपति पद्मा ज्योतिले आफ्नो डिभाइमा बोले–‘मेरोमा साउण्ड आएको छैन ।’ सगरमाथा इन्स्योरेन्सको नामबाट आवाज आयो–‘साधारणसभा शुरु भएको छैन ।’ केही बेरपछि सगरमाथा इन्स्योरेन्सको व्यकराउण्डका विश्वनाथ अधिकारीले भने–‘हामीले बोलेको सबै रेकर्ड हुनुपर्छ है ।’ उनले प्राविधिकलाई भनेका रहेछन् । उनले नमस्कार भन्दै सगरमाथा इन्स्योरेन्सको २३औं वार्षिक [&hellip;]</p>

काठमाडौं । शनिबार १० बजेर २१ मिनेट गएको थियो । उद्योगपति पद्मा ज्योतिले आफ्नो डिभाइमा बोले–‘मेरोमा साउण्ड आएको छैन ।’

सगरमाथा इन्स्योरेन्सको नामबाट आवाज आयो–‘साधारणसभा शुरु भएको छैन ।’

केही बेरपछि सगरमाथा इन्स्योरेन्सको व्यकराउण्डका विश्वनाथ अधिकारीले भने–‘हामीले बोलेको सबै रेकर्ड हुनुपर्छ है ।’ उनले प्राविधिकलाई भनेका रहेछन् ।
उनले नमस्कार भन्दै सगरमाथा इन्स्योरेन्सको २३औं वार्षिक साधारणसभा जुमबाट शुरु गरे । अध्यक्ष, सञ्चालक, अथितिसहितलाई यथास्थानमा आसन ग्रहण गर्न आग्रह गर्दै साधारणसभाको बैधाननिकताबारे प्रष्ट पारे ।

कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धर बैठकमा मास्क र पञ्जा लगाएर उपस्थित थिए । बोल्नुअघि उनले मास्क खोले र साधारणसभामा सञ्चालन समितिको तर्फबाट वार्षिक प्रतिवेदन बाचन गरे । मन्तव्य राख्दै गर्दा उनले पढेको सबै विवरणहरु स्क्रीनमा देखाएको थियो ।

उनले गत आर्थिक वर्ष २०७६/७७ मा सगरमाथा इन्स्योरेन्सले ११९ करोड बीमा शुल्क उठेको बताए । तर स्क्रीनमा २१९ करोड बीमा शुल्क आर्जन गरेको देखिएको थियो । अध्यक्ष मानन्धरले पछि सच्याएर पढे ।

कम्पनीको वार्षिक साधारणसभाको व्यानर सञ्चालक समितिको बैठक कक्षमा राखिएको थियो । बैठक कक्षमा अध्यक्ष मानन्धर, सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतसहित ७ जनाकाे मात्र उपस्थिति थियो । सञ्चालक लोकमान्य गोल्छा, निर्मला मानन्धर, बैकल्पिक सञ्चालक पद्म ज्योति घरमै बसेर जुममार्फत सहभागि भएका थिए ।

कार्यकक्षमा ठूलो स्क्रीनको टिभी । कार्यकक्षको भिडियो खिच्न स्ट्याडबेस अटोमेटिक क्यामरा । जुम एकाउन्ट होष्ट आफ्नै कार्यकक्षमा । साधारणसभा सञ्चालन गर्ने कम्पनी सचिव अर्को कक्षमा ।

जुमको स्क्रीनमा ५० जनाभन्दा बढी सहभागि थिए । फेसबुक लाइभ हेर्ने सेयरधनी २०० भन्दा बढी देखिन्थे । कम्पनी सचिवले साधारणसभामा ६२ प्रतिशत लगानीकर्ता उपस्थिति भएको जानकारी गराए ।

यसरी भर्च्युअली साधारणसभा गर्ने सगरमाथा पहिलो कम्पनी भएको प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले विकासन्युजलाई बताए ।

पाका लगानीकर्ता अमृतनाथ रेग्मीले ८० वर्षको उमेरमा पहिलो पटक भर्च्युअली साधारणसभामा सहभागी हुने मौका पाएको बताए । साधारणसभामा भाग लिने धेरै लगानीकर्ताले नयाँ अनुभव गरे ।

कम्पनीको वित्तीय सूचकहरु राम्रो देखियो । सञ्चालककाे भत्तामा ६ लाख ७२ हजार रूपैयाँ र प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदमा रहेका पदाधिकारीको तलव सुविधा ३ कराेड २९ हजार रुपैयाँ खर्च भएको जानकारी अध्यक्ष मानन्धरले दिए । तर सेयरधनीलाई लाभांश थिएन ।

सेयरधनी अमृत नाथ रेग्मीले कम्पनीको कार्यप्रगति राम्रो भएको तर रिर्पोटिङ राम्रो नभएको बताए । उनले कम्पनी नाफामा हुँदा हुँदै पनि सेयरधनीलाई लाभांश नदिएको गुनासो गरे ।  लगानीकर्ता गुणराज भट्टले गत वर्ष १०० प्रतिशत बाेनस दिने कम्पनीले यस पटक सेयरधनीकाे हात रित्ताे बनाउदा नराम्राे सन्देश गएकाे बताए ।

परम्परागत साधारणसभामा जस्तै, भर्च्युअल साधारणसभामा पनि भिआईपी सेयरधनीको रुपमा चिनिएका नियमित र पुराना अनुहारहरु नै थिए । उनीहरूकाे भनाइ पनि परम्परागत नै थियाे । त्यस मध्येका एक लगानीकर्ता डमरु बल्लभ घिमिरे साधारणसभा स्थगित नगरेको र परम्परागत शैलीमा साधारणसभा नगरेकोमा आक्रोस व्यक्त गरे । उनले सेयरधनी साधारणसभामा उपस्थिति हुन नसक्ने अवस्थामा सञ्चालक समितिले बन्द कोठामा साधारणसभा गरेको भन्दै विराेध जनाए । उनले सबै लगानीकर्ताकाे प्रतिनिधि मै हुँ भन्ने शैलीमा अाफ्ना विचार राखेका थिए ।

कोडिभ–१९ को महामारी, सरकारले जारी गरेको निषेधाज्ञाको कारणले साधारणसभा भर्च्यूअल गर्नु परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी कुँवर क्षेत्रीले बताए ।

यस्तो साधारणसभाको बैधानिकताबारे प्रश्न उठ्छ कि ? विकासन्युजको प्रश्नमा प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले भने ‘भर्च्युअल साधारणमा कम्पनी ऐनले परिकल्पना गरेको छैन । कानुन बनाउने बेलामा अहिलेको अवस्था कसैले परिकल्पना गरेको थिएन । त्यसैले हामीले कम्पनी रजिष्ट्रर कार्यालयसँग समन्वय गरेका छौं । ‘कोरम पुग्नुपर्छ । भर्च्युअल मिटिङको भिडियो रेकर्ड राखेर माइन्यूट बनाउनु’ भन्ने कम्पनी रजिष्ट्रार कार्यालयकाे सुझाव छ । हामी त्यसै गरेका छाैं’ क्षेत्रीले भने ।

जुम बैठकमा सहभागी हुने मध्ये केहीले म्यूट, अनम्यूट गर्न पनि छोरा बुहारी वा नातिनातिनाको सहयोग लिइरहेको प्रष्ट देखिन्थ्यो ।

विश्व प्रशिद्ध वैज्ञानिक डार्विनले भनेका छन्–’परिवेश अनुसार परिवर्तन नहुनेहरु लोप भएर जानेछन् ।’ डार्विनले भनेझै हजुरबुवा पुस्ता पनि परिवेश अनुसार परिवर्तन हुँदै जुमबाटै साधारणसभामा भाग लिएको देखियो ।

केही सेयरधनीले जुममा भाग लिँदा आफ्नो नाम राख्न समेत नजानेको र उनीहरुको डिभाइसको नाम रहेको देखियो । डिभासको नाम र लगानीकर्ताकाे खास नाम नहुँदा साधारणसभाको रेकर्ड र कम्पनी रजिष्ट्रारमा बुझाउने रिर्पोट अस्पष्ट हुने कम्पनी सचिव विश्वनाथ अधिकारीले बताए ।

चैतको लकडाउनपछि प्रयाः सबै नेपाली कम्पनीको सञ्चालक समितिको बैठक जुममा हुने गरेको छ । अब साधारणसभा पनि भर्च्युअल बन्दै जाने निश्चित छ । तसर्थ  परिवेश अनुसार कम्पनी ऐन र कम्पनीहरुको प्रबन्धपत्र र नियामावलीहरुमा पनि परिवर्तन जरुरी छ ।

Share News