काठमाडौ । बीमा समितिले कोरोना महामारीका कारण बन्द अवस्थामा रहेका उद्योग प्रतिष्ठानको जोखिम समूहको बीमा दरमा छुट दिन भदौ ८ गते निर्देशन जारी गर्यो ।
तर कुन मोडेलमा बन्द उद्योगहरुको छुट दिने भन्ने अन्योल सिर्जना भएको बीमा कम्पनीहरुले बताएका छन् ।
सो निर्देशिनलाई आधार मान्ने हो भने बीमा कम्पनीहरुले कोरोना महामारीका कारण बन्द रहेका उद्योगहरुलाई एक तिहाईका दरले बीमा शुल्क छुट दिनुपर्छ ।
समितिले यसअघि पनि लकडाउनको समयमा नचलेका मोटरहरुको बीमा शुल्कमा छुट दिन निर्देशन दिएको थियो । समितिले मोटर बीमामा २ तिहाइका दरले बीमा शुल्क छुट दिन दिएको निर्देशन कार्यान्वयन भइसकेको छ ।
मोटर बीमाको बीमा शुल्क छुट गर्दा आफूहरुको साढे २ अर्ब रुपैयाँ बीमा शुल्क कम भएको कम्पनीहरुले बताउँदै आएका छन् ।
लकडाउनको समयमा बन्द रहेका उद्योगको बीमा शुल्कमा छुट दिनु भन्न्रे बीमा समितिकाे उदेश्य राम्राे भएपनि कुन मोडलमा दिने भन्ने टुंगो नलाग्दा अन्योल भएको बीमकहरू बताउँछन् ।
‘अहिलेको परिवेशमा बन्द उद्योगलाई छुट दिनु राम्रो कुरा हो तर कसरी छुट दिने भन्ने विषयमा हाम्रो छलफल चलिरहेको, केही दिनमा बिमक संघ र बीमा समितिले यसबारेमा निष्कर्ष निकालेपछि कुन मोडलमा जाने भन्ने तय हुन्छ, समितिको निर्देशन कसरी कार्यान्वयन गर्ने भन्ने पक्षमा हामी स्पष्ट हुन बाँकी छ’, एक बीमा कम्पनीकाे प्रमुख कार्यकारी अधिकृतले भने ।
बीमा शुल्कमा छुट दिन कुन उद्योग चलेको र कुन उद्योग नचलेको पत्ता लगाउन केही कठिनाई हुने बीमकहरूकाे भनाइ छ । अहिलेको विषम परिस्थितिमा कुन उद्योग चल्यो तथा कुन चलेन भन्ने नै विश्वासिलाे जानकारी दिने निकायको अभाव रहेको बीमा कम्पनीहरुको गुनासो छ ।
तर अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले सबै उद्योग, कलकारखानलार्ई छुट दिन नभनिएको उल्लेख गर्दै बन्द उद्योगलाई मात्र छुट दिनु पर्ने निर्देशन आएकोले धेरै समस्या नहुनु बताएका छन् ।
‘बीमा समितिले कसलाई छुट दिने र किन छुट दिने कुरा स्पष्ट पारिसकेको छ, बाँकी रहेको कुरा भनेको कुन उद्योग चल्यो, चलेन भन्ने छ, अब त्यसका लागि पनि नेपाल सरकारले तोकेको अत्यावश्यक सेवा बाहेकका उद्योगहरुले मात्र छुट पाउँछन्, बाँकी रहेका समस्याका लागि हामीले बीमा समितिसँग छलफल गर्छौं’, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीले भने ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले अहिलेको कोरोना महामारीको अवस्थामा उद्योग तथा बिमितलाई राहात हुने हिसाबले छुट सम्बन्धि निर्देशिका जारी गरेको बताए । ‘केही समयअघि समितिले मोटर बीमा दरमा बीमा शुल्कको २ तिहाईले छुट दिएको थियो भने अहिले बन्द उद्योगमा एक तिहाईका दरले छुट दिन भनिएको छ, यसले महामारीमा सबैलाई राम्रो हुने हाम्रो अनुमान छ’, बीमा समितिका कार्यकारी निर्देशक पौडेलले भने ।
कसरी छुट दिने भन्ने सन्दर्भमा बीमा कम्पनीहरुसँग समितिले आवश्यक सहकार्य गर्ने कार्यकारी निर्देशक पौडेलले बताए । अहिले सरकारले बन्द हुन्छ भनेर तोकेका सबै उद्योगको छुट दिनका लागि निर्देशन दिइएको समितिको भनाइ छ । समितिको निर्देशन अनुसार यस्तो छुट पहिलो पटक लकडाउन सुरु भएदेखि ८३ दिनसम्मलाई लागू हुनेछ । ‘तत्काल चले नचलेको पत्ता लगाउन गाह्रो हुने भएका कारण सबैमा छुट दिन हामीले निर्देशित गरेका हाैं, सो छुट अर्को वर्ष नविकरण गर्दा पाइने हो’, कार्यकारी निर्देशक पौडेलले थप जानकारी दिदै भने ।